धरान/ धरानलाई सङ्गीतको उर्वर भूमिका रूपमा चिनिन्छ । धरानबाट सङ्गीत कर्म सुरु गरेका धेरै जनाले नेपाली सङ्गीत क्षेत्रमा उच्चस्थान बनाएका छन् । 

पछिल्लो समय धरानकी दीपिका बस्नेत साङ्गीतिक क्षेत्रमा सम्भावना खोज्दैछिन् । हालै दीपिकाको स्वरमा ‘जुनीभरिलाई’ बोलको गीत सार्वजनिक भएपछि ‘गायनमा राम्रो सम्भावना बोकेकी गायिका’ भनेर उनको प्रशंसा गर्नेहरू बढिरहेका छन् ।

दीपिका भन्छिन्, ‘नयाँ गीत सुनेपछि भोकल राम्रो छ, फरक छ भनेर धेरैले भन्नुभयो । यसले अझै मिहिनेत गर्न हौसला मिलेको छ ।’ दीपिकाका फुपू र मामा गाउने भएकोले त्यसैको प्रभावबाट दीपिकाले पनि सानैदेखि गाउन थालेको उनले बताइन् । ५ कक्षा पढ्दादेखि नै उनी स्कुलका कार्यक्रममा गाउँथिन् । केही वर्षयता भने धरानका विभिन्न कन्सर्टहरूमा गाउँदै आएकी उनले ‘वुमन इन कन्सर्ट’ मा पनि सहभागिता जनाइन् ।

त्यसपछि ब्याण्डहरूसँग होलीको बेला आयोजित कन्सर्टमा गाएकी दीपिकाले देउसी गीत पनि समूहमा गाएकी छन् । उनको एकल गीत भने, ‘जुनीभरिलाई’ नै पहिलो हो । रोशन प्रधानको शब्द र निकेन राईको सङ्गीतमा उनले गाएको यो गीतको भिडियो विमोचन कार्यक्रममा अग्रज गायक गायिकाले पनि उनको स्वरको प्रशंसा गरेका थिए ।

हाल बीबीए पढ्दै गरेकी दीपिका फुर्सदको समयमा घरमै सङ्गीतको अभ्यास गर्छिन् । पप, रकजस्ता वेस्टर्न गीतहरू गाउन र सुन्न मन पराउने उनी सङ्गीतलाई निरन्तरता दिने बताउँछिन् । अब अन्य गीतहरू पनि रेकर्ड गर्ने योजनामा रहेकी उनी भन्छिन्, ‘सङ्गीत मेरो रुचिको विषय पनि हो, श्रोताहरू र अग्रजको हौसलाले यसलाई नै करियर बनाउने सोच पलाएको छ ।’