धरानमै जन्मि, हुर्की सङ्गीतको कर्मक्षेत्र बनाएका सन्देश बम्जन लामा अहिले नेपाल टेलिभिजनमा प्रशारण भईरहेको ‘वाईवाई नेपाल स्टार’को फाइनलमा पुगेका छन् ।  आज माघ १७ गते हुने फाईनल प्रतिष्पर्धाको तयारीमा रहेका सन्देशसँगको कुराकानी :

साङ्गीतिक क्षेत्रमा कसरी आउनु भयो ?

कक्षा ५/६मा पढ्दा होस्टल बस्थें । म पढेको युरेका स्कुलमा सर, म्यामले पनि गुन्गुनाउनुहुन्थ्यो । एकपटक कक्षा ६ को हाम्रो सेक्सनमा गायन प्रतिष्पर्धा भयो । सेक्सनको विजेता बनेपछि मैले पाइलट पेन उपहार पाएको थिएँ । त्यसबेला देखि मलाई गाउन सक्ने रहेछु भन्ने आँट पलायो । 

यसरी स्कुलका कार्यक्रमहरुमा गाउन सुरु गरें । हरेक शुक्रबार स्कुलमा एक्स्ट्रा कार्यक्रम हुन्थ्यो । त्यहाँ गाएको अनुभवले म धरान महोत्सव, विभिन्न साँझहरु अनि यहाँका रेष्टुरेन्ट बारहरुसम्म गाउन सक्ने भएँ ।

यसअघि पनि राष्ट्रियस्तरका गायन प्रतियोगीतामा सहभागी हुनुभयो होईन ?

यसअघि नेपाल आइडलको सिजन २मा सहभागी भएको थिएँ । थिएटर राउन्डसम्म पुगेर बाहिरिएँ । कक्षा ६ मा पढ्दा नै नेपाली ताराको अडिसनमा गएको थिएँ । तर त्यसबेला अनुभव थिएन । एउटा गीत गाउछु भनेर सोधेर गएको थिएँ, त्यहाँ पुगेपछि मुखबाट अर्कै गीत आयो । नर्भस भएछु । 

अहिले नेपाल स्टारको फाइनलमा पुग्दा मनमा कस्तो लागिरहेको छ ?

धेरै वर्षदेखि दुख गर्दापनि सोचे जस्तो नहुँदा पहिला त सङ्गीत क्षेत्र नै छाड्न मन पनि लागेको थियो । तर आमा, बाबाले सहयोग र आशिर्वादले कोसिस गरें र यहाँसम्म पुग्न सफल भएँ । तर अबको बाटो अझै चूनौतिपूर्ण पनि छ । पहिला आमा, बाबाको लागि मन जीत्न सफल भएको थिएँ, अब देश विदेशका सारा नेपाली मनहरु प्रति जिम्मेवारी बढे जस्तो लागेको छ । प्रतिष्पर्धाको यो अन्तिम समयमा आर्थिक अवस्था कमजोरहुँदा पनि मलाई गिटार किनिदिने आमा,बाबा अनि अहिले मलाई विजेता बनाउन देश विदेशबाट सहयोग गर्ने सबैलाई सम्झिरहेको छु ।

नेपाल स्टारको क्लोज क्याम्पको अनुभव कस्तो रह्यो ?

त्यहाँ गएर साना साना तर महत्वपूर्ण कुराहरु सिक्ने मौका पाएँ । पहिला पारिवारिक अवस्थाले गर्दा सङ्गीत सिक्न पाईन तर त्यहाँ पुग्दा सिक्नु पर्ने रहेछ भन्ने महशुस भएको छ । क्लोज क्याम्पमा बस्दा धेरै साथीहरुसँग आत्मिय सम्बन्ध भयो । साथीहरु सबैले एक अर्कालाई सहयोग गर्छन् । साथीहरु बाहिरिंदा पनि नराम्रो लाग्दो रहेछ । 

हरेक विहान गुरुहरु कुन्दन पाठक र जोनिसा पौडेलले सिकाउनु हुन्छ । त्यसपछि दिनभर प्राक्टिस गर्छौं । गुरुहरुले पनि मेरो मिहिनेत र भोकल क्वालिटी हेरेर पछि पनि ट्रेनिङ गराउँछौं भन्नु भएको छ ।

sandesh 4

आफैंले आफ्नो मूल्याङ्कन गर्दा जीत कत्तिको सम्भव लाग्छ ?

दर्शक÷स्रोत, निर्णायक र गुरुहरुले गाउँदा आफ्नोपन छ भन्नुहुन्छ । त्यसैले मेरो प्रस्तुती फरक छ भन्ने लाग्छ । देशविदेशबाट पनि पोजिटिभ सपोर्ट पाएको छु । सुरुमा त नर्भस/फस्ट्रेड भएको थिएँ । तर सबैको सहयोग पाउँदा मोटिभेट हुँदोरहेछ । धरानमै जन्मि हुर्की, धरानलाई नै कर्मथलो बनाएर काम गरिरहेको छु, त्यसैले धरानवासीको पनि महत्पूर्ण सहयोग छ । त्यसैले पोजिटिभ रिजल्टको आशामा छु ।

यो कार्यक्रमपछिको योजना के छ ?

जीत, हार जे भएपनि म खुसी नै हुन्छु । किनकी स्रोता/दर्शकले नै मलाई फाइनलसम्म पु¥याउनु भयो । यो पनि जीत नै हो । त्यसैले जे भएपनि उहाँहरुले लगाउनु भएको ऋण सङ्गीत मार्फत चुक्ता गर्ने सोंच छ । उहाँहरुको माया र साथको दक्षिणास्वरुप चाँडै नयाँ गीत ल्याउने योजना छ । त्यसपछि जे भएपनि धरान आएर धरानवासी र देशविदेशबाट सहयोग गर्नुहुनेहरुलाई समर्पण गर्दै, धन्यवाद दिंदै कार्यक्रम गरेर गाउँछु । फागुन २ मा भिडियो रिलिज गर्छु । 

वाईवाई नेपाल स्टारले राम्रो प्लेटफर्म दियो । दर्शक/स्रोताको मायाले यहाँसम्म पुगें । अबका दिनमा सङ्गीतलाई नै आफ्नो कर्तव्य र जिम्मेवारी सम्झिएर अघि बढ्छु । 

ss