धरानमा चालु अवस्थामा आधा दर्जन पुस्तकालय छन् । करिब एक दर्जन त बन्द नै भएका छन् । तीमध्ये बुद्धचोकको विमल स्मृति पुस्तकालय, छाताचोकको सार्वजनिक पुस्तकालय, लक्ष्मीचोकको लक्ष्मी वाचनालय, फुश्रेको जनता पुस्तकालय, रेल्वेको सुनौलो पुस्तकालयका आफ्नै भवन छन् । अरू धेरै पुस्तकालयहरूका भवन नभए पनि ‘पुस्तकालय’ धान्न सकिरहेका छैनन् । छाताचोकको सार्वजनिक पुस्तकालय भने धरान उपमहानगरपालिकाको स्वामित्वमा छ । विमल स्मृति पुस्तकालाय निजी स्वामित्वमा रहेको छ । अधिकांश पुस्तकालयहरू धरानका भीडभाड हुने र व्यापारिक चोकहरूमै निर्माण भएका छन्, दुईदेखि तीन तलेसम्म । स्थानीय दाता, समाजसेवीहरूले सहयोग गरेर निर्माण भएका र दिएका पुस्तकहरूको लेखाजोखा मात्र गर्ने हो भने पनि धरानमा मात्र कम्तिमा २५ करोड रुपैयाँ बराबरका भौतिक सम्पत्ति सार्वजनिक पुस्तकालयका नाममा देखिन्छन् । यो रकम सानो र चानुचुने होइन । तर, दुःखका साथ भन्नुपर्छ कि यी पुस्तकालयबाट स्थानीय पाठक, जनसमुदाय, राज्य, जनप्रतिनिधि, नयाँ पुस्ता र पुराना पुस्ताले लाभ लिन सकिरहेका देखिएको छैन । २५ करोड रुपैयाँ लगानी गर्दा आर्थिक रूपमा अर्बौं रुपैयाँको आर्थिक लाभ कुनै पनि व्यवसायीले लिनसक्छ । झन् ज्ञान प्राप्त गर्ने पुस्तकालयबाट त कति हो कति ।
समाजलाई सभ्य र शिक्षित बनाउनका लागि विद्यालयको विकल्प मानिन्छ पुस्तकालय । पुस्तकालय भनेका आम पाठकले चाहेका नयाँ र पुराना पुस्तकहरूका भण्डार वा सङ्ग्रह हुन् । पुस्तकालयमा पुस्तक, पुस्तिका, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामग्रीहरू व्यवस्थित गरिएका हुन्छन् र हुनुपर्छ । पुस्तकालय जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो । जुनसुकै खाले ज्ञान प्राप्त गरिने वैकल्पिक शैक्षिक केन्द्र मानिएका धरानका पुस्तकालयको अवस्था भने कन्तिबिजोक छ । ती पुस्तकालयमा न खोजेको पुस्तक नै भेटिन्छ, न त कुनै पुस्तक व्यवस्थित र चुस्त दुरुस्त नै राखिएको हुन्छ । अझ कुनै त तास खेल्ने अड्डा बनेका छन् अनि कुनै पुस्तक तथा पाठकविहीन बनेका छन् । यो सबै हुनुमा कसको दोष ? आधुनिक सूचना प्रविधिको प्रभावले हो ? वा पुस्तकालयप्रति पाठकको मोह भङ्ग भएर हो ? वा पाठक आकर्षित गर्न पुस्तकालयको व्यवस्थापन पक्षले समयको मागअनुसार व्यवस्थापन गर्न नसकेर हो ? राज्यले होस् वा व्यक्तिगतरूपमा लाखौं रुपैयाँ लगानी गरेर आम पाठकका लागि भनेर स्थापना गरेका पुस्तकालयलाई समयसापेक्ष बनाउन नसक्दाको परिणाम धरानका अधिकांश पुस्तकालय र भवनहरू उपयोगबिहीन भएका छन् ।
धरानमा भवन भएका पुस्तकालयहरूले सटर भाडामा दिएका पनि छन् तर, पुस्तकालयमा नयाँ पुस्तक थपेको भने देखिएन । निजी प्रयासमा स्थापित विमल स्मृति पुस्तकालयले भने पुस्तक थप्ने गरेको छ तर, पाठक अभाव झेलिरहेको छ । अरू सार्वजनिक पुस्तकालयको त बिजोक नै छ । धेरैको मान्यता छ, आधुनिक सूचना प्रविधि, गुगल सर्च इञ्जिन, सामाजिक सञ्जाल, इमेल, इन्टरनेटको बढ्दो पहुँचले आफूसँग भएको मोबाइल, ट्याव, ल्यापटप वा कम्प्युटरबाटै आफूले चाहेको सूचना, समाचार, पुस्तक अंश, कथा, कविता, गीत, फिल्म आदि पढ्ने, सुन्ने, हेर्ने र जानकारी लिन सक्ने भएकाले परम्परागत शैलीका पुस्तकालयको कन्तबिजोक भएको हो । त्यसो भए पुस्तकालयलाई समयसापेक्ष एवम् प्रविधिमैत्री बनाउन किन प्रयास नगर्ने ? कतिपय पुस्तकहरू पाठक एक्लैले किन्न सक्दैन । नेपाली भाषामा लेखिएका समसामयिक नयाँ–नयाँ पुस्तकहरू थप्न कुनै गाह्रो हुन्न तर, विपरीत भूगोल, समाजमा बसेका लेखक, कवि, साहित्यकार, वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्मीहरूले लेखेका समसामयिक आख्यान र गैरआख्यानका एउटै पुस्तकको मूल्य दशौं हजार रुपैयाँ पनि पर्छ । अहिलेको अवस्थामा त्यस्ता पुस्तक पत्रपत्रिका हाम्रो पुस्तकालयमा आइपुग्न वर्र्षौं लाग्न सक्छ । आइनपुग्न पनि सक्छ । समकालीन विश्वमा भएका पुस्तक अनलाइनमार्फत् किनेर त्यसलाई पुस्तकालयमा राखिदिए पाठक आकर्षित गर्न र पठन संस्कृति बढाउन थोरै भए पनि टेवा दिन सकिन्छ । त्यसका लागि पुस्तकालय सञ्चालक वा व्यवस्थापकसँग सामान्यरूपमा भए पनि विज्ञान, साहित्य, कला, इतिहास, भूगोल, धर्म, संस्कृति, वातावरण, पर्यावरण, कथा, उपन्यास, नाटक, गीत, फिल्म, पत्रपत्रिका, निबन्ध, दर्शनलगायतका पुस्तकबारे जानकारी हुन भने जरुरी छ । पुस्तकालयमा पाठक आकर्षित गर्नका लागि यति पनि सकिन्न भने धरानका नाम मात्रका यी पुस्तकालय भवनहरू कुनै अति विपन्न परिवार बस्ने घर बनाउँदा हुन्छ ।