भारतीय नाका जोडिएका प्रदेश नं. १ का विभिन्न जिल्लामा लागूऔषधको कारोबार ठूलो समस्याका रूपमा रहँदै आएको छ । विशेषगरी झापा, मोरङ र सुनसरीका दक्षिणी भेगबाट भित्रिने लागूऔषध प्रदेश १ का ठूला समस्यामध्ये एक हो । भारतीय बजारमा सहज रूपमा उपलब्ध त्यस्ता लागूऔषध दैनिक भित्रिने गरेको प्रहरीले कारोबारी पक्राउ गरेका तथ्याङ्कबाट पनि प्रष्ट हुन्छ । लागूऔषधको कारोबार बढिरहनु चिन्ताको विषय हुँदै हो, अझ पछिल्लो समय विश्वमै महँगो लागूऔषधका रूपमा चिनिने ब्राउनसुगरको कारोबार बढिरहेको प्रहरी तथ्याङ्कबाट बुझिन्छ । यो झनै ठूलो चिन्ताको विषय हो ।
लागूऔषधको बढ्दो प्रयोगले प्रदेश १ का मुख्य सहर र गाउँहरू आक्रान्त छन् । लागूऔषधको कुलतले ऊर्जाशील उमेरका किशोरकिशोरीको जीवन बर्बाद पारिरहेको छ । धेरै युवाहरू लागूऔषधकै कारण जेलजीवन बिताइरहेका छन्, यही कारणले कयौंको स्वास्थ्य अवस्था बिग्रिएको छ भने कतिको घरपरिवारमा विचलन आएको छ । एक हिसाबले लागूऔषधले सामाजिक विचलन निम्त्याएको छ । लागूऔषधको समस्या सहरबाट गाउँतिर फैलिइरहेको छ । यसलाई बेलैमा नियन्त्रण गर्न नसके भोलिका दिनमा अझै ठूलो समस्याका रूपमा देखापर्ने निश्चित छ । प्रहरीको तथ्याङ्कअनुसार दुई वर्षमा प्रदेश १ बाट १ हजार ६ सय ४४ जना पक्राउ परेका छन् । यही तथ्याङ्कलाई आधार मान्दा पनि प्रदेशमा दैनिक २ जनाभन्दा बढी लागूऔषध कारोबारी पक्राउ परिरहेका छन् । पक्राउ नपर्नेको सङ्ख्या झनै ठूलो हुन्छ । नयाँ पुस्ताका युवायुवती दैनिक लागूऔषधमा फस्दै जानु यहाँको समाज विकासमा पनि असर पर्नु हो । दुई वर्षयता प्रदेश १ बाट प्रहरीले ५ केजी ६ सय ग्राम ब्राउनसुगर बरामद गरेबाट यो प्रदेशमा महँगो लागूऔषधको लत पनि बढ्दै गएको बुझ्न सकिन्छ । यसले मध्यम् र उच्च मध्यम् वर्गीय समाजमा पनि अझै समस्या थपिने आँकलन गर्न सकिन्छ । लागूऔषधको कारोबारमा गिरोह नै लागेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । यस्ता गिरोहको सञ्जाल तोड्नु प्रहरीका लागि पनि चुनौतीको विषय बनेको छ ।
लागूऔषधको कारोबारले एकातिर देशका ऊर्जाशील युवापुस्ताको भविष्य बिग्रिरहेको छ भने अर्कातिर सामाजिक विचलन बढाएको छ । त्यतिमात्र होइन, देशको अर्थ पनि बाहिरिइरहेको छ । सीमाक्षेत्रका ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखिएको छ । त्यति गर्दा पनि नियन्त्रण हुनुको साटो दैनिक बढिरहनु प्रदेशकै लागि चुनौती हो । लागूऔषधको बढ्दो कारोबार र यसले समाजमा पु¥याइरहेको क्षतिको विश्लेषण गरेर प्रदेश सरकार र प्रहरी प्रसासनले उचित नीति निर्माण गर्नु आवश्यक छ । भारतसँगको खुला सीमाका कारण प्रहरीले मात्र लागूऔषध कारोबारलाई नियन्त्रणमा लिन नसकेको देखिन्छ । समाजका विकृति हटाउन कानून भएर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा पनि उतार्नु आवश्यक हुन्छ । प्रहरीले लागूऔषधविरुद्ध सचेतना अभियान चलाउने र कारोबार गर्नेलाई कानूनी कारबाही गर्ने काम त गरिरहेको छ । तर, अब त्यतिले मात्र पुगेन । त्यसैले प्रहरीसँग समाजले पनि हातेमालो गरेर सचेतना जगाउने र लागूऔषधको कारोबारलाई गम्भीररूपमा लिएर काम गर्नसके मात्र नियन्त्रणमा लिन सकिन्छ । अब यसलाई प्रहरी प्रशासनको मात्र होइन, समाजको मुद्दा बनाएर अघि बढ्नुको विकल्प छैन ।