धरान/ एक समय रेडियो नेपालमा ‘रामविलास र धनियाँ’ कार्यक्रम चर्चित थियो । श्रोताहरू रेडियोमा रामविलास र धनियाँको स्वर सुन्न कार्यक्रम आउने समय पर्खिबस्थे । शनिबार इटहरीको तालतलैया क्षेत्रमा उनै धनियाँको स्वर उही लय, उही शैलीमा गुञ्जियो । 

धनियाँको स्वर सुनेपछि पिकनिक र घुमघामका लागि आएकाहरू आकर्षित भइहाले । एकैछिनमा उनीसँग सेल्फी खिच्नेहरूको भीड लाग्यो । रेडियो कार्यक्रमकी धनियाँ अर्थात् कलाकार÷निर्देशक दीपाश्री निरौला नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को पिकनिक तथा भेटघाट कार्यक्रममा तालतलैया आइपुगेकी थिइन् ।

कार्यक्रममा अतिथिको आसनमा बसिरहेकी दीपाश्रीलाई सुरुमा त अरूले झट्ट चिनेनन् । तर, जब दीपाले ‘धनियाँ’ को स्वरमा मनोरञ्जन पस्किइन्, त्यसपछि वरपरका पिकनिक टोलीमा सहभागीहरू पनि ओइरिन थाले । दीपाले पनि उनीहरूसँग खुसी साटिन्, फोटो खिचिन् । 

विराटनगरकी दीपा पछिल्लो समय काठमाडौंमा फिल्म निर्माण, निर्देशन र अभिनयमै व्यस्त छिन् । नयाँ फिल्मको तयारीमा रहेकी उनी विराटनगर हुँदै सिक्किमसम्मको यात्रामा आएकी हुन् । उनले ब्लाष्टसँग भनिन्, ‘नयाँ फिल्मको स्क्रिप्टको काम हुँदैछ । त्यसैको तयारी स्वरूप यता आएको मौकामा यो प्रदेशका कलाकर्मीसँग भेटघाट गर्ने अवसर मिल्यो । निक्कै खुसी लागेको छ ।’

कार्यक्रममा रेडियो नेपालका पुराना गायक रामा मण्डलले आफ्ना चर्चित गीतहरू ‘कहाँ छौ कहाँ..’, ‘यो केटीको ठीक छैन चाला’ लगायतका गीत सुनाएका थिए । कार्यक्रममा कलाकारहरू हेमन्त बुढाथोकी, अर्जुन कार्की, रेखा लिम्बू, प्रभु श्रेष्ठ, गीतकार मीना सिङ्गक, गायक सुमित खड्का, गायिका हर्षु राईलगायत प्रदेशका कलाकर्मीहरू सहभागी थिए । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले कोरोनाका कारण सुस्ताएको चलचित्र क्षेत्रलाई पुनःजागृत गर्न र कलाकारहरूबीच आपसी सम्बन्ध विस्तार गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

सुनसरीमा मेन्याङ्बो

नेपाल चलचित्रकर्मी महासङ्घको सुनसरी जिल्ला समिति संयोजकमा धरानका रङ्गकर्मी तथा कलाकार नवीन मेन्याङ्वो चयन भएका छन् । 

शनिबार इटहरीको ताल तलैयामा आयोजित कार्यक्रममा जिल्ला समिति घोषणा गरिएको हो । समितिको सदस्यहरूमा हस्त लिवाङ, दिलु सुब्बा, समिर बराइली, मदन गुप्ता, मेनुका प्रधान, प्रकाश अनुराग, नरेन्द्र राई, रितेशजङ् खत्री र एकराज सुब्बा रहेका छन् ।