‘बलियो बाङ्गो बाघलाई, दुब्लोदाब्लो माघलाई’ यो उखान नेपाल जनजिब्रोमा प्रचलित छ । यो उखान प्रारम्भ हुनुको पछाडि केही मिथक वा किंवन्दती होला, त्यसबारे छुट्टै बहस होला । तर, हाललाई यो उखान चरितार्थ हुने स्थिति सिर्जना भएको छ । दैनिकजसो बाक्लो हुस्सु र शीतलहरले वातावरणलाई ढाकेको छ । चिसोले गर्दा तराईमा गरिब तथा विपन्न नागरिकहरूले निकै कष्टकर जीवन व्यतित गरिरहेका छन् । उनीहरूका लागि जाडो काल बनेर आउने गरेको छ । यहीबेला विभिन्न सङ्क्रामक रोगहरू पनि फैलिने भन्दै चिकित्सकहरूले सजग गराइरहेका छन् । चिसोका बेला बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा समस्यामा पर्ने गरेका छन् । दैनिक हातमुख जोर्नका लागि काम गर्ने गरिब तथा विपन्नलाई शीतलहर प्रकोप बनिरहेको छ । यहीबेला विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो संस्करण सुरु भएको भनी समाचारहरू आइरहेका छन् । जाडोमा काम्दै बस्ने पीडा एकातिर छ भने अर्कोतिर महामारीबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी छँदैछ ।
यस्ता सङ्कटका बेलामा सरकारको ध्यान अन्यत्र मोडिएको छ । सरकारको ध्यान निर्वाचन गराउनेतिर छ । जनताको न्यूनतम् आधारभूत आवश्यकतातर्फ सरकारको ध्यानाकर्षण भएको पाइँदैन । तीनै तहका सरकार अहिले आधारभूत तहमा भन्दा चुनावमा केन्द्रित छन् । सरकारको सत्तोसरापमा केन्द्रित छन् । गरिब तथा विपन्न नागरिकहरू शीतलहरले मरिरहेका छन्, उनीहरूलाई दैनिक गाँस, बास र कपासको आवश्यकता छ । त्यो पनि पूर्ति भएको स्थिति छैन । शीतलहरले हरेक वर्ष जनधनको क्षति गरिरहेको छ । सरकारले न्यूनतम् आधारभूत आवश्यकता पूरा गर्नेतर्फ अहिलेसम्म बहस तथा छलफल गरेको पाइँदैन । चुनावताका घोषणा–पत्रमा ठूला–ठूला घोषणाका पुलिन्दाहरू हुन्छन् । तर, चुनावबाट जितिसकेपछि ती पुलिन्दाहरू कहाँ पुग्छन्, त्यसको कुनै लेखाजोखा हुँदैन । चुनावमा गरिएका एउटा मात्रै घोषणा तथा बुँदा कार्यान्वयन गर्ने हो भने यतिबेला देश सिङ्गापुर भइसक्नेथियो । तर, सरकारमा बसेकाहरूले त्यो पूरा गर्ने स्थितिमा कहिल्यै देखिँदैनन् । जनतालाई छल्न, र ढाँट्नमै मस्तराम भएको पाइन्छ । राज्यले आफ्नो दायित्व पूरा गर्ने हो भने गरिब तथा विपन्न नागरिकहरूले राज्य भएको महसुस गर्ने थिए । त्यसतर्फ राज्य सञ्चालकको ध्यान जानुपर्ने देखिन्छ ।
यसबेला नागरिकहरू सचेत बन्ने बेला हो । आफूसँग जेजस्तो व्यवस्था छ, त्यसैलाई पूर्ण मानेर जतिसक्दो चिसोबाट बच्नका लागि उपायहरू अपनाउनेतिर ध्यान दिनुपर्छ । बालबालिका र वृद्धवृद्धालाई बचाउनका लागि चिकित्सकीय परामर्श लिने गर्नुपर्छ । शीतलहरबाट बच्न के के गर्नुपर्छ, आफूसँग भएका सामग्रीहरूबाटै कसरी सुरक्षित हुन सकिन्छ भन्ने चेतना दिनु आवश्यक छ । माघ लागेयता दैनिक जाडो बढिरहेको छ । बाक्लो हुस्सु र शीतलहरको प्रभाव थप हुनसक्ने अवस्था छ । यस्तो बेलामा सुरक्षित हुने उपायहरूबारे जनचेतना जगाउन आवश्यक छ । विशेषगरी स्थानीय सरकारमातहतका जनप्रतिनिधि तथा वडा कार्यालयहरूका कर्मचारीले पनि सचेतना फैलाउने कार्य गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिएमा चिसोबाट हुनसक्ने सङ्क्रमणबाट बच्न सकिन्छ ।