भारतका विभिन्न राज्यमा बर्डफ्लु फैलिएपछि नेपालमा पनि भित्रिने जोखिम बढेको छ । किनकि भारतमा बर्डफ्लुका कारण कुखुरा र चराहरू मर्न थालेको खबर प्रसार भइरहँदा भारतीय सीमा नजिकका नेपाली बजारमा अवैधरूपमा कुखुरा भित्रिइरहेका छन् । नेपालमा यदि बर्डफ्लु भित्रियो भने कुखुरालगायत पंक्षीजन्य व्यापार–व्यवसाय गर्नेहरूले करोडौंको नोक्सानी त व्यहोर्नु पर्छ नै, मानव स्वास्थ्यमै पनि जोखिम उत्पन्न हुनसक्छ । त्यस्तो अवस्था हामीले कल्पना गरेभन्दा खतरनाक पनि हुनसक्छ ।

भारतमा बर्डफ्लु देखिएपछि नेपालले १४ वर्षअघि अर्थात् २०६३ सालबाटै भारतबाट पंक्षीजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, सीमाक्षेत्रमा प्रहरीले भारतबाट ल्याइएका कुखुराहरू दैनिकजसो बरामद गर्ने गरेको छ । भारतमा बर्डफ्लु फैलिइरहेकै बेला सोमबार मात्रै सुनसरीमा प्रहरीले करिब २ सय ३० केजी बोइलर कुखुरा बरामद गरेको छ । प्रदेश १ का सुनसरी, मोरङ र झापाका सीमाक्षेत्रबाट अवैधरूपमा भित्रिने गरेका कुखुरा पूर्वका मुख्य बजारदेखि गाउँसम्म पुग्ने गरेका छन् । पूर्वका बजारहरूमा भारतबाट कुखुरा भित्रिइरहँदा आयातमा लगाइएको प्रतिबन्ध प्रभावकारी बन्न सकेको देखिँंदैन । सरकारले लगाएको प्रतिबन्धको नियम कसका कारण पालना हुन सकेको छैन ? किन सीमाक्षेत्रबाट प्रतिबन्धित वस्तु भित्रिइरहेका छन् ? समीक्षा गर्नु आवश्यक छ । 

सीमाक्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने दायित्व त्यहाँ खटिएका सशस्त्र प्रहरी, भन्सारलगायतका सरोकारवाला निकायको हो तर, उनीहरूले मात्र त्यसलाई प्रभावकारी रूपमा रोक्न सकेको देखिँंदैन । बर्डफ्लुजस्तो खतरनाक रोग नेपालमा भित्रिन नदिनका लागि समुदायस्तरबाट पनि सतर्कता अपनाउनु आवश्यक देखिएको छ । बर्डफ्लु भित्रिनका लागि चरा र अन्य माध्यम् पनि हुन सक्छन् तर, भारतबाट भित्रिने कुखुराबाट सबैभन्दा छिटो फैलिन सक्ने सम्भावना देखिएको छ । त्यसकारण पनि भारतबाट तस्करी गरेर कुखुरा ल्याउने कार्यलाई निरुत्साहित गर्न जरुरी छ । नेपालमा भन्दा भारतबाट कुखुरा ल्याउँदा सस्तो पर्ने भएकाले तस्करीलाई कतिपयले पेशा जत्तिकै बनाएका छन् । नेपालले प्रतिबन्ध लगाएको यस्तो कार्य गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिनुपर्छ । अझ स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरबाही गर्नेहरू सजायको भागीदार हुनैपर्छ । त्यसतर्फ सरोकारवाला निकायले बेलैमा सोच विचार गर्नु आवश्यक छ ।

खुला सीमाका कारण नेपाल–भारत सीमाक्षेत्रमा यस्ता अनेकौं समस्याहरू छन् । कोरोना महामारीकै उदाहरण लिन सकिन्छ, सरकारले बेलैमा सतर्कता अपनाउन नसक्दा, सीमाक्षेत्रमा क्वारेण्टाइनको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा भारतबाट आफूखुसी मान्छे भित्रिएपछि कोरोना महामारी नेपालमा फैलिएको थियो । सरकारले बेलैमा सीमाक्षेत्र बन्द गर्ने र अति आवश्यकलाई क्वारेण्टाइनको व्यवस्था गर्ने गरेको भए यो स्तरमा कोरोना नफैलिन सक्थ्यो । बर्डफ्लुमा पनि बेलैमा सचेत हुन नसके समस्या निम्तिन सक्छ । त्यसबाट पाठ सिकेर पनि बर्डफ्लुलाई नेपालमा फैलिन नदिन अहिले नै सतर्कता अपनाउनुको विकल्प छैन । वर्षैपिच्छे जस्तो भारतमा देखिने बर्डफ्लुलाई सामान्य आँकेर बेवास्ता गर्नु मूर्खता हुनसक्छ । त्यसैले बर्डफ्लुलाई सामान्य नठानी समयमै सतर्कता अपनाउनु पर्छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । यही भनाइलाई मनन् गर्दै बर्डफ्लु फैलिएपछि उपचार गरौंला भनेर पर्खिनुभन्दा भित्रिनै नदिन हरसम्भव प्रयास गर्नु सरकारी निकायको कर्तव्य हो । त्यसैले सरकारले सीमाक्षेत्रमा आफ्ना निकायहरूमार्फत् सतर्कता अपनाउने त छँदै छ, त्यसबाहेक नागरिकस्तरमा पनि सचेतना फैलाउनु आवश्यक छ ।