बढीभन्दा बढी रासायनिक मल र विषादीको प्रयोग गरेर प्राकृतिक रूपमा माटोमा भएको उर्वरा शक्तिलाई घटाउनु भनेको निकट भविष्यमा अनिकाल र भोकमरी निम्त्याउनु हो । आधुनिक कृषि प्रणालीसँंगै रासायनिक मलले प्रवेश पाएको हो । रासायनिक मलको अत्यधिक प्रयोगले विगत केही दशकयता माटोमा हुने प्राकृतिक उर्वरा शक्तिलाई तीव्ररूपमा घटाइरहेको छ । उर्वरा शक्ति घट्नु भनेको माटोमा अम्लीयपन बढ्नु हो । अम्लीयपन बढेपछि त्यो माटोमा धान, मकै, कोदो, जौ–गहुँ, दाललगायत अन्नबाली उत्पादन हुँदैन । अन्नबाली नै उत्पादन हुन नसकेपछि अनिकाल त हुने नै भयो ।
रासायनिक मल र विषादीको प्रयोग गर्न चाहनु भनेको अधिक उत्पादन बढाउने लालसा किसानहरूमा बढ्नु हो । यो लालसाले निकट भविष्यमा अनिकाललाई निमन्त्रणा दिएको बुझ्न कठिन छैन । माटो, मल र विषादीसम्बन्धी जानकार विज्ञहरूले अन्नबाली उत्पादन गर्ने खेतबारीमा रासायनिक मल प्रयोग नगरेर कम्पोष्ट अर्थात् प्राङ्गारिक मल प्रयोग गर्न जोड दिँदै आए पनि व्यावसायिकरूपमा खेती किसानी गर्नेहरूले नसुने झैं गर्दा त्यसको मूल्य कुनै दिन महँगो सावित हुने नै छ । त्यो दिन टाढा छैन । सङ्केत अहिले नै देखिँदैछ, पूर्वका सुनसरी, मोरङ र झापाका खेतीयोग्य जग्गाका ६५ देखि ७० प्रतिशत माटोमा अम्लीयपन अत्यधिक बढेर गएको छ । रासायनिक मलले निश्चित अवधिसम्म उत्पादन बढाउन मद्दत गर्छ तर, त्यसपछि माटोमा बढ्दो अम्लीयपनले उत्पादन घट्दै जान्छ । जब कि गड्यौले मल, पातपतिङ्गरबाट बनेको कम्पोष्ट मल, भान्छामा खेर गएका अन्नहरूबाट अन्य मल र गाई, भैैंसीको गोबरबाट बनेको मलको प्रयोगले माटोको उर्वरा शक्ति बढाउने मात्र नभएर अन्नबाली उत्पादनको मात्रालाई विस्तारै बढाउँछ ।
आधुनिक किसानहरू चोकमा बसेर चियाको चुस्की लिँदै गफ हाँक्न रुचि राख्छन् तर, आफ्नै घरमा जम्मा भएको फोहोर सङ्कलन गरेर कम्पोष्ट मल बनाउन जाँगर नचलाउँदा माटोको उर्वरा शक्तिमा ह्रास आएको पक्कै हो । घरको फोहोर टिप्न सरसफाइकर्मी र नगरपालिकाको गाडी कहिले आउँछ भनेर पर्खिने बानी, अनि आफ्नो खेतबारीमा लगाएको सागसब्जी अन्नबाली बढीभन्दा बढी फलाउन एक बोरा रासायनिक मल लिनको लागि घण्टौं लाइनमा बस्ने बानी, त्यो पनि नपाए तस्करी गरेको मल महँगो मूल्यमा किनेर प्रयोग गर्ने आम प्रवृत्तिमा सुधार नआएसम्म माटो बिग्रने क्रम जारी रहनेछ । रासायनिक मल र विषादी प्रयोग गरेर अन्नबाली, फलफूल, तरकारी, सागसब्जीको अधिक उत्पादन त बढाउन सकिएला तर, ती खाद्यान्न कहिल्यै पनि शतप्रतिशत स्वस्थ हुँदैनन् । ती सबै मानव शरीरलाई हानि पु¥याउने खाद्यान्न बन्न पुगेका छन् । विषादी प्रयोग नगरेको र प्राङ्गारिक मल मात्र प्रयोग गरेर उत्पादन गरेको खाद्यान्नलाई अग्र्यानिक भनिन्छ । खेतबारीमा अचेल अग्र्यानिक खाद्यान्न उत्पादन हुन छाडेको छ । यसर्थ माटोको उर्वरा शक्ति बढाउन, अम्लीयपन घटाउन र स्वस्थ अग्र्यानिक खाद्यान्न उत्पादन गर्न राज्यले कडा नीति अख्तियार गर्नु ढिला भइसकेको छ । राज्यले कृषि मन्त्रालयमार्फत् रासायनिक मल र विषादी प्रयोग गर्ने ठूला र व्यावसायिक किसानलाई कुनै राहत वा अनुदान नदिने नीति मात्र बनायो भने पनि प्राङ्गारिक मल बनाउन र प्रयोग गर्न प्रेरित हुन सक्छन् । स्वदेशमै भएको वनजङ्गलका पातपतिङ्गर, खेर गएका फोहोर सङ्कलन गरेर पनि ठूलो मात्रामा व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गरी किसानहरूलाई सुपथ मूल्यमा बिक्रीवितरण गर्ने नीति बनाउनसके माटोको उर्वरा शक्ति कायम राख्न सकिन्छ ।