बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेटअगाडि ल्यावमा जाँच गर्दा ठगी हुने गरेको व्यापक गुनासो आउने गरे पनि पुष्टि हुने आधारहरू फेला परेका थिएनन् । बीपी प्रतिष्ठानभित्रका ल्याव हाल बिग्रिएका कारण क्षयरोग भए–नभएको पत्ता लगाउने ‘एडिए’ को जाँच बाहिरका ल्यावमा गराउँदा एकबाट अर्कोमा जाँदा करिब डेढसय प्रतिशतसम्म महँगो शुल्क लिने गरेको भेटिएको छ । एउटै जाँचको शुल्क ल्यावपिच्छे नै फरक–फरक लिने गरेका छन् । प्रतिष्ठान अगाडिका झण्डै एक दर्जन ल्याव सेण्टरमा एडिए मात्रै होइन, अन्य परीक्षणको पनि शुल्क फरक–फरक हुने गरेको छ । त्यसमा पनि कुन ल्याव सेण्टरले गरेको परीक्षण चाहिँ भरपर्दो हो भन्नेमा सेवाग्राही अन्यौलमा पर्ने गरेका छन् । ब्लाष्टलाई प्राप्त दुईवटा ल्याव सेण्टरको बिलमा एडिए जाँचको सप्तकोशीमा १ हजार ५० रुपैयाँ र बिर्तामोड डाइग्नोष्टिक सेण्टरमा २ हजार ५ सय रुपैयाँ लिइएको छ । एउटै परीक्षणको कसरी फरक–फरक शुल्क पर्न गयो भन्ने अन्यौलता त छँदैछ, अर्कोतिर गरिएका परीक्षण कतिको भरपर्दो हो भन्ने अन्यौलता पनि उत्तिकै छ ।
प्रतिष्ठान गेटअगाडिका ल्याव सेण्टरको ठगी धन्दा अहिलेदेखिको होइन । यो स्थापनाकालदेखि नै जारी छ । त्यसमा नियामक निकायहरूले पनि ध्यान दिएको पाइँदैन । नियामक निकायको झारो टार्ने किसिमको अनुगमन र निरीक्षण हुने गरेको छ, जसले गर्दा सेवाग्राही तथा बिरामीहरू जहिल्यै ठगिने गरेका छन् । नियामक निकायहरूले पनि कुनै पनि परीक्षण गर्दा यति शुल्क लाग्छ भन्ने किसिमको सचेतना तथा सूची राख्नका लागि दबाव दिने गरेको पाइँदैन । जनताको आँखामा छारो हाल्ने किसिमले मात्रै अनुगमन गरेर उल्टै ल्याव सेण्टरहरूको मनोबल बढाइरहेको पाइन्छ । औषधि पसल तथा ल्याव सेण्टरहरूले दैनिकजसो जनतालाई ठगी गरिरहेका छन् यो धन्दा नौलो होइन । यसतर्फ सम्बन्धित निकायको चासो नजानुचाहिँ आश्चर्यजनक मात्रै छैन, खेदजनक छ । एउटै जाँचमा १५ सय रुपैयाँ फरक पर्नुले ठगीको प्रवृत्ति पुष्टि हुन्छ । आजसम्म अनुगमनकर्ताले ल्याव सेण्टरहरूलाई कारबाही गरेको रेकर्ड छैन । यसले के बुझाउँछ भने कतै नियामक निकाय नै यसमा कुनै न कुनै रूपमा संलग्न त छैनन् ।
सप्तकोशीले एक हजार ५० रुपैयाँ शुल्क लिएको जुन अवस्था छ, त्यो पनि वास्तविक शुल्क हो कि होइन, अन्यौलता उस्तै छ । खास शुल्क कति हो भन्ने आम जनता अन्यौल छन् र परीक्षण भरपर्दो हो होइन, अर्को अन्यौलता कायमै छ । ठगी एउटा पाटो हो भने भरपर्दो र गुणस्तरीयताको प्रश्न पनि उस्तै गरी उभिएको छ । यो समाधान गर्न बीपी प्रतिष्ठानले नै भूमिका खेल्नुपर्ने हुन्छ । प्रतिष्ठानमा बिग्रिएको भनिएको ल्यावलाई चुस्तदुरुस्त राखेमा मात्रै समस्याको समाधान हुन्छ र गोरख धन्दा चलाउने गेटअगाडिका ल्यावहरूलाई कारबाही गरिनुपर्छ । बिरामी र बिरामीका आफन्त कुन अवस्थामा उपचारका लागि आएका हुन्छन् भन्ने ख्याल नगरी कसरी बढीभन्दा बढी पैसा लिने भन्ने ध्याउन्नमा हुने यस्ता ल्याव सेण्टरहरूलाई कारबाहीको भागीदार बनाउनुपर्छ । शुल्क लिने कुरा मात्रै प्रमुख होइन, गुणस्तरीयताको प्रश्न पनि उत्तिकै महŒवपूर्ण होला । त्यसतर्फ पनि नियामक निकायको ध्यान जान जरुरी छ । अर्कोतर्फ हरेक ल्याव परीक्षणको शुल्क सूची कायम गरेर राखेमा जनता झुक्किने थिएनन् र एकरूपता पनि हुने थियो कि ?