कोरोना महामारीका कारण लामो समय रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच प्रदेश १ ट्राफिक प्रहरीले पुनः सुरु गरेको छ । तर, मापसे गरेको पत्ता लगाउने यन्त्र ‘ब्रेथलाइजर’ को अभावमा मापसे जाँच प्रभावकारी बन्न सकेको छैन । प्रदेशभरि जम्मा ४० वटा ‘ब्रेथलाइजर’ रहे पनि तीमध्ये अधिकांश काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । पहिले चालकको मुख सुँघेर मापसे जाँच गर्ने गरे पनि कोरोना महामारी कायमै रहेकाले अहिले त्यस्तो विकल्प पनि अपनाइएको छैन । यस्तो अवस्थामा अनुमानकै भरमा मापसे जाँच गर्ने गरिएको छ । यो अव्यवस्थित जाँच कसैका लागि पनि फाइदाजनक छैन । अहिले मापसे जाँचको अवस्था कस्तो छ भने चालकको नजिक गएर, मुख सुँघेर जाँच गर्दा उसमा कोरोनाजस्ता रोगको सङ्क्रमण भए ट्राफिक प्रहरीलाई नै स्वास्थ्यमा जोखिम हुने, अनुमानका भरमा कारबाही गर्दा निर्दोष पनि कारबाहीको भागीदार बन्नुपर्ने ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लकडाउनपछि हालसम्म सडक नियम उल्लङ्घन गर्ने १ लाख ३२ हजार ३ सय ७१ यातायातका साधनलाई कारबाही गरिएको छ । वैज्ञानिक रूपमा तथ्यमा आधारित भएर कारबाही गर्दा चालकहरूलाई पनि अन्याय हुँदैन भने देशको राजस्व सङ्कलन पनि सही तरिकाले हुन्छ भन्ने कुरा सरोकारवालाहरूले अवश्य बुझेकै हुनुपर्छ । यद्यपि जाँच गर्ने यन्त्र प्रभावकारी बनाउन सम्बन्धित निकायले चासो नलिएको देखिन्छ । ट्राफिक प्रहरीको भनाइमा अहिलेको समयमा सडक नियम उल्लङ्घन गर्ने र मापसे गरेर यातायातका साधन चलाउनेको सङ्ख्या बढ्दो छ । यस्तो अवस्थामा दुर्घटना बढ्ने र मान्छेको ज्यान जाने सम्भावना पनि बढ्छ । त्यसलाई नियन्त्रणको उपाय वैज्ञानिक रूपमा गरिने जाँच र सचेतना नै हो । चालकहरू आफै सचेत भइदिए त मापसे जाँचको आवश्यकता नै पर्दैनथ्यो तर, सबैमा यस्तो सचेतना नहुने हुँदा उनीहरूकै ज्यानको सुरक्षाका लागि सडकमा प्रहरी राखेर जाँच गर्नु पर्ने अवस्था आएको हो । चालकहरूले सडक नियम पालना नगरेका कारण तिरेको जरिबाना रकम हिसाब गर्ने हो भने करोडौं हुन्छ । त्यसले आमनागरिकमा सचेतनाको स्तर कस्तो छ भन्ने प्रष्ट पार्छ । चालकहरूमा त्यस्तो किसिमको चेतनाको कमी हुँदा उनीहरूमात्र होइन, सडकमा यात्रा गर्ने लाखौं सर्वसाधारणको ज्यान पनि जोखिममा पर्छ । त्यसैले पनि मापसे जाँच आवश्यक परेको हो । तर, त्यसलाई व्यवस्थित गर्न सकिएन भने जाँचको अर्थ हुँदैन । हुन त प्रदेश १ मा मापसे जाँच गर्न ब्रेथलाइजर प्रयोग गरिएको धेरै लामो समय भएको छैन । छोटो समयमै तिनले काम नगर्दा गुणस्तरमाथि पनि प्रश्न उठेको छ । प्रयोगमा आएका ब्रेथलाइजरको गुणस्तर के हो ? लगानीअनुसार ती सही छन् कि छैनन् ? अध्ययन हुनु आवश्यक छ । साथै हाल भइरहेको समस्यालाई मध्यनजर गरी तत्काल ब्रेथलाइजरको व्यवस्था गर्न सम्बन्धित निकायले चासो दिनुपर्छ । अन्यथा प्रदेश १ को ट्राफिक व्यवस्थापनमा झनै समस्या निम्तिने निश्चित छ । 

सडकमा रात दिन खट्ने ट्राफिक प्रहरीलाई सुविधायुक्त बनाउन सकेमात्र उनीहरूका कार्य सम्पादन पनि राम्रो हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । ब्रेथलाइजर अभावको समस्यालाई ट्राफिक प्रहरीको समस्याका रूपमा मात्र बुझ्नु हुँदैन । यो प्रदेश १ का प्रत्येक नागरिकका लागि समस्या हो । प्रदेश सरकारको पनि समस्या हो भनेर बुझ्नसके समस्या समाधान हुन धेरै समय पनि लाग्दैन । अहिले प्रदेश सरकार र दलका नेता कार्यकर्ताहरूलाई समाजका यस्ता समस्यामा ध्यान दिने त्यति फुर्सद देखिँंदैन । उनीहरू राजनीतिक दाउपेचमै व्यस्त रहेका बेला सडकमा यात्रा गर्ने नागरिक र ड्युटीमा खट्ने प्रहरीहरू यो समस्याको प्रत्यक्ष मारमा परिरहेका छन् । यहाँका राजनीतिक दलहरूले त्यसतर्फ ध्यान दिएर काम गर्नु आवश्यक देखिन्छ ।