कोशीटप्पु वन्यजन्तु आरक्षको रैथाने हात्ती मकुनाको आक्रमणबाट फेरि एकजनाको ज्यान गएको छ । एक महिनाको हाराहारीमै मकुनाले दुईजनाको ज्यान लगेको छ । यसले जनावर र मानवबीचको द्वन्द्व उत्कर्षमा पुगेको देखाउँछ । जङ्गली जनावरको आफ्नै स्वभाव हुन्छ । उनीहरू शान्त वातावरणमा रमाउन चाहन्छन् । त्यसैले पनि आरक्षहरू मानव बस्तीभन्दा कोसौं टाढा हुने गरेका छन् । विदेशतिर यो अभ्यास छ । नेपालमा यो अभ्यास निकै कम छ किनकि हामीकहाँ दीर्घकालीन सोच र योजनाको कमी प्रशस्तै छ ।

मानव र जनावरबीचको द्वन्द्व पनि यसैको परिणाम हो । वन्यजन्तुहरूको जैविक मार्ग र उनीहरूका लागि छुट्टै चरनक्षेत्र आवश्यक पर्छ तर, हरेक वर्ष वन्यजन्तु क्षेत्र मासिँदै गएको छ । मानवको अतिक्रमण पनि तीव्र रूपमा बढेको छ । जसले गर्दा पनि जनावर र मानवबीचको द्वन्द्व हरेक वर्ष बढ्दो छ । कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीलगायतको आक्रमणबाट पछिल्लो चार वर्षमा २४ जनाको मृत्यु नै द्वन्द्वलाई पुष्टि गर्ने आधार हो । जसमध्ये मकुनाबाट मात्रै १९ जनाको मृत्यु भएको छ । यसले पनि द्वन्द्वको स्थितिलाई उजागर गर्दछ । डाइनोसर आज किन लोप भए होलान् ? यस्ता ठूला–ठूला जीवहरू संसारबाट लोप हुनुको कारण खोज्दै जाने हो भने पक्कै पनि मानवसँग जोडिन्छ । 

मानवमात्रै यस्तो प्राणी हो, जसले विकासको नाममा विनाश गरिरहेको छ । हरेक वर्ष विकासे नाममा जङ्गली जनावरको जैविक मार्गलाई क्षति पु¥याइरहेका छौं । हिजो झापाको बाहुनडाँगीमा हरेक वर्ष हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुँदै आएको सुनेदेखेकै हौं । आखिर किन यस्तो भइरहेको थियो ? यस विषयमा गम्भीर चिन्तन मनन् नगर्दाको परिणाम हामीले भोग्दै आइरहेका थियौं र छौं । जनावर आफैमा हिंस्रक हुँदैन । जब प्रतिरक्षामा उत्रिन्छ, तबमात्रै हिंस्रक हुन्छ भनेर भनिन्छ । अहिले मकुनाले जे गरिरहेको छ, त्यो ठीक हो भन्ने होइन तर, हामीले चालिरहेको कदम सही छ त ? यो प्रश्न पनि गम्भीर हो । हरेक वर्ष आरक्षले आक्रमणमा मरेकाहरूलाई लाखौं रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । अर्कोतिर आरक्षले लाखौं रुपैयाँ खर्चेर सोलारबाट विद्युत् प्रवाह गर्ने फेन्सिङ लगाएको थियो । हाल त्यो फेन्सिङले पनि काम गरिरहेको छैन । फेरि पनि त्यहाँका नागरिकले फेन्सिङको माग गरेका छन् । यो समस्याको समाधान हो कि होइन ? यसतर्फ पनि चिन्तित हुन आवश्यक छ । सबैभन्दा मुख्य समस्या नै मानव अतिक्रमण हो । यसतर्फ राज्यले नै सोच्नुपर्ने बेला आएको छ । आरक्ष मानव बस्तीको नजिक बनाउनु श्रेयष्कर हुँदैन भन्ने प्रमाण यसैबाट पनि पुष्टि हुँदै आएको छ । 

राज्यले जबसम्म आरक्ष र मानव बस्तीलाई केही कोस टाढा राख्ने प्रयत्न गर्दैन, तबसम्म हाम्रा समस्या समूल नष्ट भएर जाँदैनन् । पहिलो कुरा त आरक्षले नागरिकहरूलाई जथाभावी प्रवेशमा रोक लगाउनुपर्छ र नागरिकले पनि जथाभावी रूपमा हिँड्ने बानीलाई नियन्त्रण गर्नुपर्छ । त्यसका अलावा पनि दुर्घटनाहरू निम्तिने खतरा भए त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा आजैबाट आरक्ष प्रशासन, नागरिक र राज्यले गम्भीर भएर सोच्नुपर्छ ।