–गोपाल दाहाल
सम्पत्ती दिए सकिई है जाला
तस्वीरै पनि च्यातिई है जाला
पवित्र माया दिएँ तिमीलाई
त्यहि मायालाई सम्झिदिनु है
अर्को चोला होला नहोला ।
....................................
राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीतमा बरिष्ठ गायक दीप श्रेष्ठले गाएको यो गीत उनका अन्य कालजयी गीत जतिको आम स्रोतामाझ परिचित गीत त होईन । तर उनले गाएका अन्य दुःख पीडाका गीत भन्दा फरक यो गीतले भने झैं सम्पत्ती भन्दा माया नै दिगो हुन्छ ।
त्यसैले त गायक दीपलाई पनि पाँच दशक भन्दा बढी समयसम्म स्रोताहरुको मायाले गाउन प्रोत्साहन गरिरहेको छ ।
म त दुरदेखि आएँ..., म पत्थरको देउता होईन...’ लगायत स्रोताका मन मस्तिष्कमा बस्न सफल गीतका गायक दीपको आज पुस १ गते जन्मदिन । उनले यसपटक गृहनगर धरानमै जन्मदिन मनाए । माथि उल्लेखित उनको गीत झैं एकाविहानै मनभरी मायाका गुच्चा दीपको घरमा शुभेच्छुकहरु पुगे । उनको सम्मानमा विभिन्न कार्यक्रम नै आयोजना गरिए । उनलाई मायाले शुभेच्छुकले भने ‘ह्यापी बर्ड डे दीप दाई’
सबैले मायाले सम्बोधन गर्ने ‘दीप दाई’ले गाउन थालेको ५० वर्षभन्दा धेरै भईसक्यो । उनको गायन यात्रा निक्कै संघर्षपूर्ण थियो ।
राजाका अगाडि गाउँदा
राजा महेन्द्र कला–साहित्यका पारखी थिए, गीत लेख्थे, साहित्य रच्थे । त्यहिबेला धरान पनि कला साहित्यमा सक्रिय थियो । धरान सांस्कृतिक संस्थान र लोकनृत्य संघले गीत संगीत, नाटक र साहित्यका कार्यक्रम आयोजना गर्थे । कला साहित्यकै सम्बन्धले पनि हुन सक्छ महेन्द्रले धरानलाई माया गर्थे, धरानलाई कोसी अञ्चलको सदरमुकाम बनाउन चाहेका थिए ।
२०२५ सालको पुस १ गते उनै राजा महेन्द्रको निमन्त्रणामा धरान सांस्कृतिक संस्थानबाट चन्द्रशेखर श्रेष्ठ नेतृत्वको टोलि भीमनीधि तिवारीको नाटक ‘शिलान्यास’ लिएर काठमाडौं पुगेको थियो । नाटकको बीचमा सिन चेञ्ज गर्ने बेलामा खाली समय भर्न मञ्चमा बोलाइयो दीपनारायण श्रेष्ठलाई । उनले राजाका अगाडि विजय श्रेष्ठको रचनामा आफैंले तयार पारेको गीत पहिलो पटक सुनाए ‘म पत्थरको देउता होइन...’
नाटक हेरिरहेका महेन्द्रलाई दीपका गीतले छोएछन् । तुरुन्तै रेडियो नेपालका निर्देशकलाई हुकुम दिए ‘जति छन् सबै गीत भोलि नै रेकर्ड गरिदिनु ।’ दीपसँग आफ्ना भन्ने दुई गीत मात्र थिए । पुस २ गते ‘म पत्थरको देउता होईन..’ र र दीपकै रचना रहेको ‘मायालु रुप छ तिम्रो...’ गीत रेकर्ड भए । त्यतिबेलाको देशव्यापी पहुँच भएको एकमात्र सञ्चार माध्यम रेडियो नेपालमा दिनदिनै बज्न थाले दीपका गीत । त्यसपछि दीप नेपाली संगीतक्षेत्रमा चम्किला तारा बनेर उदाए । आजसम्म उनी संगीतमा बेग्लै पहिचान बोकेर उभिएका छन् । दीपले पहिलोपटक औपचारिक रुपमा गीत गाएको पुस १मा । जन्म दिन पनि पुस १ गते नै ।
.........
देउसी भैलोमा गाउँदा गाउँदै गायक
दीप रेडियो नेपालमा गीत रेकर्ड गरेर धरान फर्किए तर त्यसबेला रेडियो कि लाहुरेका घरमा हुन्थ्यो कि धनीमानीकामा । उनका साथी रामानन्द अग्रवालले एकदिन रेडियोमा दीपको गीत बजेको सुनेछन् । उनले ‘तेरो गीत रेडियोमा तीन चार पल्ट बज्यो’ भनेर सुनाए । ‘म त आफ्नो स्वर रेडियोमा कस्तो सुनिन्छ होला भनेर एक्साईटेड भएँ ’ दीपले पहिलोपटक आफ्नै गीत सुन्दाको क्षण सम्झे ‘अर्को उहि साथीले गीत बज्दा बज्दै मलाई सुनाउन ट्रान्जिटर बोकेर आयो । गीत सकिन लागेको रहेछ, पुच्छर भाग मात्र सुन्न पाएँ । आफ्नै स्वर रेडियोमा सुन्दा दंग थिएँ ।’
हुन त दीप सात आठ कक्षामा पढ्दा नै गीत गाउँथे । सानोमा उनको स्वर केटीको जस्तो थियो, त्यसैले पर्दा पछाडि बसेर केटीकै गीत गाउँथे । अलिपछि तिहार बेला धरानमा घरघर पुग्दै देउसी भैलामा गाउँथे । ‘धरानको पुतलीलाईनमा शिव जोशी, सावित्री जोशीको घरमा हरेक साल देउसी खेल्न पुग्थौं । विष्णु जोशी, कैलाश जोशीहरु थिए । त्यस घरकी आमा दीपनारायणको गीत सुन्ने भनेर पर्खि बस्नु हुन्थ्यो ।’ उनले सम्झिए ‘देउसी भैलोपछि उहाँहरुलाई नारायणगोपाल, प्रेमध्वज दाईका गीत सुनाउँथें । चार पाँच घरका मान्छे जम्मा भएर गीत सुन्थे । मिठो मिठो खानेकुरा दिन्थे ।त्यहि घरमा ३÷४ घन्टा बित्थ्यो । नारायणगोपालको गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ गाउँदा मेरै गीत ठान्नुहुन्थ्यो ।’ यसरी देउसी भैलोमा गाउँदा गाउँदै उनी राम्रो गाउने केटोका रुपमा चिनिए । त्यहि परिचयले उनलाई नाटकको बिचमा महेन्द्रका अगाडि गाउने बाटो खोलिदियो ।
पुरस्कारमा कसी लगाउँदा
धरानकै पब्लिक बहुउद्देश्यीय हाईस्कुलबाट २०२३ सालमा एसएलसी दिएका दीप संगीतसँगै खेलकुदमा रुचि राख्थे । धरानको टिमबाट फुटबल खेल्थे । उनले तत्कालिन ब्रिटिस क्याम्प घोपामा भजन पनि गाए । डिपोट स्कुलमा पनि गाउँथे । गीत रेकर्ड गराएपछि रेडियो नेपालमा आउजाउ गरिरहन्थे ।
त्यसबेला रेडियो नेपालले हरेक चैत २० गते बार्षिक कार्यक्रमको अवसरमा प्रतियोगीता ग¥थ्यो । दीप धरानबाट काठमाडौं पुग्थे भिड्न तर लगातार दुई वर्ष तेस्रो भए । २०३० सालमा शिवशंकर थापाको रचना ‘विधवाले सिन्दुरको रहर..’ गाए । त्यहि गीतले उनलाई प्रथम पुरस्कार दिलायो । ‘पुरस्कार स्वरुप एक तोलाको सुनको तक्मा पाएँ’ दीपले पुरस्कार पाउँदाको क्षण सम्झे ‘तर त्यो सुनको हो कि होईन भन्नेमा शंका लाग्यो । अनि कसी लगाउँन गएँ । ओरिजिनल नै रहेछ । त्यसको दाम त्यसबेला ९ सय ९० पर्दोरहेछ ।’
रेडियो नेपालमा प्रथम भएपछि शिवशंकर, बसन्त थापा लगायतका रचनामा गीतहरु रेकर्ड गराए । ‘नातीकाजी दाईले म काठमाडौं जाँदै पिच्छे ल गीत छ भने गाउ भनेर रेकर्डको अवसर दिनुहुन्थ्यो । म हरेकपटक रेकर्ड गराएर फर्किन्थें ।’ उनी सम्झिन्छन् ।
गीतले यात्रा गरायो
रेडियो नेपालमा गीत बज्न थालेपछि दीपको काठमाडौं आउजाउ बढ्यो । त्यसबेला धरानबाट काठमाडौं जान भारतको बाटो भएर जानु प¥थ्यो । विराटनगर, जोगवनी, फारविसगञ्ज, कटिहार, समस्तपुरबाट रक्सौल हुँदै विरगञ्ज निस्किनु प¥थ्यो । त्यहाँबाट काठमाडौंको बस पाउन पनि मुस्किल थियो । दीप प्राय ट्रकमा यात्रा गर्थे । करिब तीन दिनमा काठमाडौं पुगिन्थ्यो । एकदिन एकजना ट्रक चलाउने सरदार जीले ‘बेटा तुम कहाँ जहा रहे हो’ भनेर सोधे । दीपले गाना गाउन काठमाडौं जान लागेको बताए । ‘सरदारजीले मेरो गीत भन्थिन मेरी उनी सुनेका रहेछन् तर गायक थाहा रहेनछ । मलाई त्यो गीत आउँछ भनेर सोधे ।’ उनी सम्झिन्छन्,‘त्यो गीत त मैले नै गाएको हुँ भन्दा पत्याएनन् । गाएरै सुनाएपछि उनी दंग परे । त्यसपछि उनको ट्रकमा निशुल्क यात्रा गराए । पछि आउँदा पनि मेरै गाडी जानु भने । म उनको माल गाडीको नम्बर टिपेर उसैको गाडीमा जान्थें ।’
२०३१÷०३२ साल पछि उनी काठमाडौंमै बस्न थाले । तर बस्ने ठाउँ थिएन । दाई पर्ने रामनारायण श्रेष्ठले सहयोग गरे । एकदिन केशरबहादुर विष्ट एउटा गीत लिएर आए । उनले त्यो गीत गाए, ‘मैले हार्न खोजेर हार्न सकिंन..’ त्यसैगरी चिनजान बढ्न थाल्यो ।
तर पनि उनको डेरा थिएन । साथी भाईकै तिर बसेर काम चलाउँथे । खान, सुत्नै गाह्रो अवस्था थियो । त्यस्तो बेलामा काठमाडौकै रैथानेहरु थिए, युवान तुलाधर, कमलमानसिंह प्रधान । उनीहरुले घरमा लगेर खान, बस्न दिन्थे । एकदिन युवानलाई प्रेयसीको कुराले मनमा नयाँ फिल आएको रहेछ । ‘मलाई एउटा गीत लेखिदेऊ न’ भने । ‘मैले कथा भन न त भनें ।उनले आफुले मन पराएको केटी अर्कैले लगेको कथा सुनाए । गीत सुन्ने वित्तिकै मलाई खरर गीत आयो । किनकी मेरोपनि त्यस्तै वानसाईडेड कथा थियो । कसैलाई भन्न सकेको थिई)न ।’ दीपले सुनाए ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन, गीत खरर लेखें । त्यसपछि युवानलाई यो तिम्रो नाममा भनेर उसैको नाममा राखिदिएँ । अहिलेपनि त्यो गीत युवानकै नाममा छ । मलाई गाँस, बास दिएका थिए मैले त्यतिबेला दिन सक्ने त्यहि मात्र थियो ।, अरु के गर्न सक्थें र ।’
त्यसबेला एउटा गीतको रेडियो नेपालबाट दश÷पन्ध्र रुपैयाँ आउँथ्यो । गायिका शान्ति ठटालका भाइ दिलिप ठटाल दीपका साथी थिए । रेष्टुरेन्ट म्यानेजमेन्टमा काम गर्ने दिलिपले दीपको अवस्था देखेर एक ठाउँमा काम गर्न आग्रह गरे । न्युरोड पिपलबोटमा सानु रेष्टुरेन्ट थियो । इन्डियाका पटेलहरुले खोलेको त्यो रेष्टुरेन्टमा बेलुका बेलुका गाउन थाले दीप त्यहिं काम सिक्दै उनी बार टेन्डर पनि भए । रेष्टुरेन्टमा खाने व्यवस्था भयो, दिलिपको कोठामा सुत्ने व्यवस्था । रेष्टुरेन्टबाट मासिक आठ÷नौ सय कमाउँथे । त्यो जम्मा गर्न थाले । दीपको संगीतप्रतिको लगाव देखेर साथीहरुले एउटा ग्रुप बनाएर बाहिरपनि गाउन आग्रह गरे । त्यसपछि दीपले अम्बर गुरुङका छोरा किशोर गुरुङ, अहिलेका संगीत निर्देशक प्रकाश गुरुङलाई समेत लिएर एउटा ग्रुप बनाए । ग्रुपले दिउँसो लञ्च टाइममा इन्स्ट्रुमेन्टल बजाउन थाल्यो । दीपले साँझमा रेष्टुरेन्टमा गाउन मिरा राणा, तीर्थकुमारी थापालाई पनि बोलाउँथे । उनीहरुले गाउँदा दीप चाहिं रेष्टुरेन्टका मालिक मिस्टर एसजे पटेलका लागि कक्टेल बनाउन थाल्थे । पटेल निक्कै सौखिन थिए, मिस्टर पटेल आफैंले रेष्टुरेन्टका महँगा रक्सि पिउँथे । एक वर्ष नपुग्दै रेष्टुरेन्ट बन्द भयो ।
त्यसपछि फेरि समस्या भयो । काठमाडौंमा टिक्नै गाह्रो भयो । दीप पुन धरान फर्किए । ‘सरकारी जागिर पटक्कै मन नपर्ने । टिक्न गाह्रो भएकै हो ।’ भन्छन्,‘आँखै अगाडि सर्वस्व गएको थियो त्यसैले पनि होला सरकारी मान्छे मनै पर्दैनथ्यो ।’
सम्पती हडप्नेकै छोरासँग दोस्ती
दीप १२ वर्षको हुँदा उनका बुवा बिते । बुवाको १३ दिनको काम सकिने वित्तिकै साहु बनेर पूर्वमन्त्री दिलबहादुर श्रेष्ठ ऋण उठाउन भन्दै घरमा आए । घर, १२ कट्ठा जग्गा, तीन वटा गाडीसहित भए भरको सबै हडपे र उनीहरुलाई घरबाट निकालिदिए । त्यसबेला धरानबाट डाक सेवा चलाउने गाडी उनीहरुकै थियो । त्यो पनि दिलबहादुरले लगे । त्यसबेला दिलबहादुरका दाजु होमबहादुर गृहमन्त्री थिए । ‘बुवाले एक कट्ठा १२ धुर जति जग्गा भने अलग्गै राख्नु भएको रहेछ । हामी त्यहिं स¥यौं । तर पछि त्यहाँबाट पनि हामीलाई दिलबहादुरले निकाल्नु भयो । थोरै लेनदेन त थियो होला तर सबै घर जग्गा जाने अवस्था थिएन, हामीमाथि ठूलो अन्याय भयो ।’ त्यो घटना सम्झिंदै उनी भावुक हुन्छन् । पछिल्लोपटक उठिबास गराईएको आफ्नै घर भने पछि पैसा जम्मा गरेर दीपले करिब २०४३÷०४४ सालतिर ऋण खोजेर एक लाखमा किने । संगीतबाट कमाएको पैसाले त्यो ऋण तिरे ।
दिलबहादुर त्यसबेलाका सामन्त थिए । उनका नेपाली र बंगाली श्रीमति थिए । उनै दिलबहादुरका बंगाली श्रीमतीतिरका छोराहरु सिनेट र क्याबिनेट थिए, सिनेट राजाको कालमा मन्त्री समेत बने । अनि नेपाली श्रीमतीतिरका छोरा विजय श्रेष्ठ चाहिं दीपका मिल्ने साथी थिए । बावुबाट हेला भएमा उनै विजयको रचनामा दीपको पहिलो गीत ‘म पत्थरको देउता होईन’ रेकर्ड भयो । भन्छन्,‘विजय फर्पिङमा पढ्थ्यो, गीत लेख्ने, भावुक मान्छे थियो । उसँग मेरो दोस्ती भयो ।’
....
प्रेक्षालाई गीत सुनाएर श्रीमतीलाई जागिर
दीप धरान फर्किएपनि काठमाडौ आउआज चलिरहन्थ्यो । उनी गाउनका लागि भारतका विभिन्न सहरमा पनि पुग्ने । एकपटक अरुणा लामाहरुको टोलिमा सांगीतिक कार्यक्रमका लागि मेघालय, सिलोङ, नगरकट्टा लगायतका ठाउँमा दीपपनि पुगे । त्यो टोलिमा गायिकाहरु सोफिया गुरुङ पनि थिइन् । लामो सांगीतिक यात्रामा सँगै हिड्दा हिड्दै दीप र सोफियाको माया बस्यो । उनी ग्राजुएट सकेर मात्र विवाह गर्न चाहान्थिन् । दीपले पर्खिए । उनी पढेर एयरहोस्टेज हुन चाहान्थिन् । त्यतिबेला नेपालमा बाबुआमाहरु छोरीहरुलाई एयरहोस्टेज बनाउन चाहँदैनथे । दीपले उनलाई ‘कोसिस गर्ने’ आश्वासन दिए ।
महेन्द्रले मन पराएका गायक दीपका गीतहरु त्यसबेलाकी ‘प्रेक्षा सरकार’ले पनि खुब मन पराउँथिन् । प्रेक्षा दरबार बाहिर सवारी हुँदा दीपलाई लिन गाडी पठाउँथिन् । दीप पनि गिटार बजाउँदै उनीहरुलाई गीत सुनाउँथे । एकपटक एभरेष्ट होटलको डान्स क्बलमा प्रेक्षा नाचिरहेकी थिईन्, उनले दीपलाइ पनि नाच्न आग्रह गरिन् । त्यहि मौकामा दीपले आफ्नी गर्लफ्रेन्डका लागि एयरहोस्टेजको जागिरको कुरा गरे । सोफिया आरएनएसीकी एयरहोस्टेज बनिन् । उनीहरुबीच २०४५÷०४६ तिर विवाह भयो ।
सोफियाले जागिर खाएपनि उनीहरुलाई पाँच÷छ महिना निक्कै कष्ट भयो । एक वर्षपछि विदेश उडान हुन थालेपछि आर्थिक रुपमा पनि अलि सहज भयो । रेखी गुरुङ नामका व्यक्ति पटक पटक जेल पर्दारहेछन् । चारखाल जेलमा रहेका रेखी दीपका गीतका फ्यान थिए । उनैले दीपलाई जग्गा किन्न आग्रह गरे । अलिअलि जम्मा भएको पैसा, सुन जम्मा गरेर धोबी खोला डिलमा ४ आना जग्गा किने र घर बनाए ।
......
अम्बर र गोपालले सिकाउन चाहेनन्
प्रज्ञा प्रतिष्ठानले सहायक संगीत निर्देशकका लागि निवेदन मागेको थियो । उनलाई निवेदन दिएर जागिर खान मन थिएन । प्रकाश गुरुङले जबरजस्ती गरेर प्रज्ञा पु¥याए । त्यसपछि उनी सहायक संगीत निर्देशक बने । उनी भन्छन्, ‘म प्रज्ञामा पुगेपछि शम्भुजीत बास्कोटाले दरबारमा सोर्फफोर्स लगाए उनीपनि त्यहि पदमा प्रज्ञा छिरे।’
एकेडेमीमा उनले अम्बर गुरुङसँग संगीत सिक्न चाहेका थिए तर गुरुङले ‘तिमी पपुलर छौ’ भनेर सिकाउ ध्यानै दिएनन् । दीपलाई उनीसँग सिक्न नपाएको कुरा अहिलेपनि खड्किरहन्छ । उनी गोपाल योञ्जनसँग पनि सिक्नका लागि पटक पटक गए तर उनले पनि सिकाएनन् । त्यपछि आफैं घुँडा धसेर अभ्यासमा लागे । एकपटक दार्जिलिङ जाँदा साथी मणीकमल श्रेत्रीले उनलाई ‘संगीत विरासद’ नामको पुस्तक दिए । त्यहि पुस्तकलाई गुरु थापेर उनले अभ्यास गरिरहे । भन्छन्, ‘त्यो पुस्तक अहिलेपनि मसँगै छ ।’
उनले पछि गोपालनाथ, चेतनाथ गुरुहरुसँग राग सिके । त्यसैले अहिलेसम्म उनलाई चिनाएको छ । उनले केहीसमय घरमै संगीतपनि सिकाए तर चेलाहरु दुई चार दिन सिकेपछि बजारमा ‘दीप श्रेष्ठसँग सिकेको’ भन्दै बेसुरा गाउन थाले । त्यसपछि उनले सिकाउन पनि छाडे । अहिले भ्वाईस अफ नेपालका कोच बनेर नयाँपुस्ताको गायन क्षमता जाँचिरहेका दीप आशावादी छन् । ‘अहिलेको पुस्ताले मेहनत त गर्छन् तर आफ्नै टाइपको मात्र गर्छन् । मैले नेपाली शब्द गाउँदा नेपाली जसरी नै गाउ भनेर जोड गरेको त्यसैले पनि हो ।’ उनी भन्छन् ।
दीप अहिलेपनि ट्रयाकमा गाउँदैनन् । उनलाई ट्रयाकमा गाउनु कभरसङ गाए झै लाग्छ । त्यो मौलिक सृजना जस्तो लाग्दैन । त्यसैले त उनको बेग्लै पहिचान छ । आधा शताब्दिको संगीतयात्रा यसरी नै चलिरहेको छ ।
युवापुस्तासँग गुनासो
जीवनका धेरै उतार चढावप्रति कुनै गुनासो नरहेका दीपलाई संगीतकर्मको उत्तरार्थमा भने एउटा गुनासो रहेछ । अहिलेको पुस्ताले नेपाली गीत संगीतमा ध्यान कम दिएको अनुभव हुन्छ उनलाई ।‘अगाडि भेट्दा सबैले गीत मन पर्छ भन्छन् तर हाम्रो जस्तो गीत नचल्ने भएर हो कि किन हो कार्यक्रम गर्न रुचि देखाउँदैनन् ।’ दीपले गुनासो पोखे,‘पचास वर्षदेखि निरन्तर संगीतमै छु । अझै मज्जाले गाउन सक्छु तर जसकालागि भनेर गाउँछु उनैले सुन्दैनन् भने त अब गाउनै छाडौं कि जस्तो पनि लाग्छ । अहिलेको पुस्ताले पैसालाई प्राथमिकता दियो तर पैसामात्र सबै कुरा होईन ।’