धरान । लोक–पप तथा सुगम संगीतको लागि ९० को दशक देखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ –नयाँ गीत–संगीत पस्कनमा उत्तिक्कै सक्रिय छ ।
यहि क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई नयाँ भर्सनमा प्रस्तुत गरेको छ ।
कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहेपनि उनि आफ्ना नेपालमा रहेका सहकर्मीहरुसंग उत्तिकै नजिक छन् र यहि नजिकपनलाई आफ्ना श्रोता–दर्शकहरुमाझ आत्मियता बनाउन उनि आफ्नो ब्याण्ड संग कुनै पनि स्टेज शो या गीत रेकर्ड कै बेला उनि नेपाल आइहाल्छन् । गत केहि बर्ष अघि मात्र उनले आफ्नो ब्याण्डसंग धरान , दमक , बुटवल , बिर्तामोड , पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदैथिए तर सोही समयको कोरोना महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन । अब भने पुन कन्दरा ब्याण्डलाई सक्रिय बनाउन आफ्ना ब्याण्ड सदस्यहरुसँग लागिपरेका छन् ब्यान्डका गायक बिबेक ।
स्वरसम्राट नारायण गोपालको ३० औं स्मृतिको अवसरमा नारायण गोपालको स्वर, संगीत र हरिभक्त कटवालको रचना रहेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा , अमित गुरुङ ,अनिल गुरुङ , अशिम शेरचन , बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन् । स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरु झैँ श्रोताहरुले मनपराईदिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन् ।
विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली गीत–संगीतको लागि आफ्नो ब्याण्ड कन्दरामार्फत निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक बिबेक श्रेष्ठ कोरोना महामारीको अन्त्य संगै फेरि पनि नेपालका कुना कन्दरामा आफ्ना गीत संगीत पस्किन आउने बताउंछन् ।