ब्लाष्टखबर । यमपञ्चक अर्थात् तिहारको  दाेस्राे दिन आज नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा रहेकाे छ । 

नरक चतुर्दशीका दिन बिहानै उठेर तीर्थमा स्नान गर्नाले यस लोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँन्छ । यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ ।

Dog-with-garland-and-tika

वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिने गरिन्छ । 

मध्यान्न १ बजेर ४९ मिनेट उपरान्त औँशी तिथि लागे भएकाले आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक आजै लक्ष्मीपूजा पर्व पनि मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

श्रद्धा एवं भक्तिले लक्ष्मीजीको पूजा जतिबेला पनि गर्न सकिन्छ । लक्ष्मीपूजा, दिपमालीका र सुखरात्रीका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली स्थिर लग्न (वृष) र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५:१२ बाट ०७:०८ सम्मको समय उत्तम रहेको छ भने सिंह लग्नको शुभ समय रात्री ११:४३ देखि १:५५ को समय उत्तम छ । यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक ३० गते आइतबार गाईपूजा, गोवर्धन पूजा र नेवार समुदायको म्ह(आत्म)पूजा गरिन्छ ।