धरान/मङ्सिर १५ बाट छायाङ्कनमा जान लागेको नेपाली फिल्म ‘कृष्णलीला’ मा दीपिका प्रसाईंको स्थानमा श्रद्धा क्षेत्रीलाई अनुबन्ध गरिएको छ ।
स्वास्थ्यको कारण देखाउँदै अभिनेत्री प्रसाईंको सट्टामा क्षेत्रीलाई अनुबन्ध गरिएको निर्माण युनिटले जनाएको छ । निर्माता रत्न श्रेष्ठका अनुसार प्रसाईं थाइराइड र माइग्रेसनले ग्रसित रहेका कारण फिल्ममा क्षेत्रीलाई अनुबन्ध गरिएको हो । क्षेत्री हाल मुम्बईमा मोडलिङ गर्दै आइरहेकी छन् ।
फिल्ममा अभिनेता पुष्प खड्कासँग उनी देखिनेछिन् । फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायत देखिनेछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवादमा फिल्म निर्माण भइरहेको छ । फिल्म दीपक ओलीले निर्देशन गर्न लागेका हुन् ।