धरान । ब्राह्मण समुदायले घेरिएको धरान–१४ को विजयपुरमा अवस्थित छ–दन्तकाली शक्तिपीठ । यो पीठ प्राग वैदिक कालतिरै स्थापित भएको भनाइ छ ।
यो पीठ उत्पत्तिकाे आफ्नै मिथक छ । सतीदेवीको प्रेममा डुबेका भगवान् शिवले उनको मृत शरीर बोकेर हिँड्ने क्रममा सतीदेवीको दन्त पतन भएको किंवदन्ती छ । जसलाई सतीदेवीको दाँतको प्रतीक मानिन्छ । यहाँ तान्त्रिक विधिद्वारा पूजा गरिन्छ । जहाँ कालो प्रस्तर राखी पूजाआजा गरिँदै आएको छ ।
नवरात्र अर्थात् विजयादशमीको अघिल्लो ९ दिनसम्म यहाँ विभिन्न पशुपंक्षीको बलि दिइन्छ । विशेष गरी बोका, राँगा, हाँस र परेवाको बलि दिइन्छ । नवौं दिनका दिन राँगोको बलि दिने चलन छ । राँगोलाई महिषासुरको प्रतीकका रूपमा बलि दिइने चलन छ । जहाँ ब्राह्मण पुजारी छन् । नवरात्रमा नौं देवीको पूजा गरिन्छ । हरेक दिन दुर्गासप्तसतिको पूजा आरधना गरिँदै बलि दिने प्रचलन छ ।
घटनास्थपनादेखि बोकाको बलिबाट पूजा सुरु हुन्छ । पञ्चमीसम्म दैनिक एक–एक वटा बलि दिइन्छ । षष्टीमा २ वटा, सप्तमीमा ३, अष्टमीमा ७ वटा बोकाको बलि दिइन्छ । तर, नवौं दिन अर्थात् नवमीमा ३ वटा बलि दिइन्छ । जसमध्ये एउटा राँगा र दुई वटा हाँसको बलि दिएर पूजा गरिन्छ ।
‘यो परम्परादेखि नै चल्दै आएको छ, बलि यहाँको परम्परा हो । राँगा चाहिँ नवौं दिनमा काटिन्छ,’ पुजारीसमेत रहेका दन्तकाली शक्तिपीठ व्यवस्थापन समितिका सचिव विश्वराज खनाल भन्छन्, ‘किंवदन्तीअनुसार मैहिषासुरको वध गरेको दिन भएर राँगोलाई प्रतीकका रूपमा बलि दिइन्छ ।’ महिषको अर्थ पनि राँगो भन्ने हुन्छ । महिषा स्त्रीलिङ्गी नाम हो अर्थात् भैँसी ।
उनका अनुसार दशमीको दिन एउटा बोकाको बलि दिइन्छ भने पूर्णिमाको दिन एउटा बलि दिएर नवरात्रको अन्त्य गरिन्छ । यो नैनित्य पूजा अन्तर्गत पर्दछ भने नित्य पूजा दैनिक चलिरहन्छ । हरेक महिनाको अष्टमीका दिन बलि दिने चलन छ ।
‘अष्टमीमा बलि दिने प्रथा पहिलेदेखि नै हो, यसमा सोह्र श्राद्ध परोस् या अन्य कुनै पनि दिन वा तिथि,’ पुजारी खनालले भने, ‘अष्टमीमा बलि दिनैपर्छ । यो यहाँको परम्परा नै हो ।’ नवरात्रको नौ दिन भने मुख्य मन्दिर परिसरमा कपडाको पर्दा लगाएर पूजा गरिन्छ । जहाँ सर्वसाधारणले पूजा गर्न र हेर्नसमेत पाउँदैनन् ।
सर्वसाधारणले मन्दिर परिसरमा पूजा गरे पनि मन्दिरको मुख्य भागमा पूजा गर्न पाउँदैनन् । यहाँ पुजारीभन्दा अर्को व्यक्तिहरू हुँदैनन् । तान्त्रिक विधिद्वारा पूजा गरिने भएकाले पनि यो पीठको अन्य शक्तिपीठभन्दा फरक महत्त्व रहेको पूजारीहरू बताउँछन् । यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिर परिसरमा पनि प्रवेश निषेध गरिएको छ ।
मन्दिरको प्रवेशद्वारबाटै यस वर्ष छिर्न मनाही गरिएको छ । कोरोना संक्रमण फैलिने आशङ्कामा शक्तिपीठहरूमा भिडभाड नर्गन सरकारले नै निर्देशन जारी गरेको थियो । उक्त निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले पनि फलो गरेको थियो । जसका कारण शक्तिपीठहरूमा यो वर्ष पूजाआजा हुँदैन ।
१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई भन्छन्, ‘कोभिडको संक्रमण हुने सम्भावना देखेर वडाले सूचना सम्प्रेषण गरेरै भक्तालुहरूलाई नआउन आग्रह गरेका छौं । जसलाई सूचना पुग्दैन अर्थात् बलिका लागि आउनुहुन्छ । उहाँहरूले मन्दिर परिसरभन्दा बाहिरैबाट पूजा गर्नुहुन्छ ।’ उनका अनुसार धार्मिक रूपमा भन्दा पनि परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष दन्तकाली पीठमा पूजाआजा रोकिएको हो ।
विगत वर्षहरूमा दन्तकालीमा भक्तालुहरूको भिडभाड हुने गरेको थियो । यहाँ पूर्वाञ्चलका सबै जिल्लाहरूबाट आउने गरेका थिए भने भारतको बिहार राज्यबाट पनि भक्तालुहरू आउने गरेका थिए । तर, भारतीय भक्तालुहरू बलिभन्दा पनि पूजा तथा दर्शनका लागि आउने गरेको पुजारी खनालको भनाइ छ ।
यो मन्दिरको बारेमा स्वस्थानी व्रत कथामा पनि उल्लेख छ । विजयपुरबासी भाषाविद् प्रा.डा. टङ्क न्यौपानेका अनुसार सतीदेवीको दाँत झरेको समय प्राग वैदिक काल हो । ‘दन्त पतन भएको प्राग वैदिक कालमा हो, कालीको पूजाचाहिँ मध्यकालतिरबाट सुरु भएको हुनुपर्छ’ उनले भने । मन्दिरको फरक रूप २०३५–३६ सालदेखि परिवर्तन भएको हो । यहाँ भव्यतले शैलीमा मन्दिर निर्मित छ । नवरात्रका बेला यहाँ मेला समेत लाग्ने गरेको थियो ।
यहाँ आएर दर्शन तथा पूजा गरे शक्ति प्राप्त हुने र मनोकापना पूरा हुने विश्वास छ । ‘कतिपयको पूरा पनि भएको छ,’ पुजारी खनालले भने, ‘मनैले चाह्यौ भने भाकल पूरा हुन्छ ।’
बलि दिने चलन पौराणिक कालदेखि नै सुरु भएको मानिन्छ । किनकि त्यो बेलमा अश्वमेध (घोडा) र गोमेध (गाई वा गोरु) यज्ञ गर्ने चलन थियो । भाषाविद् डा. न्यौपानेका अनुसार दशैंको प्रसङ्ग भने उत्तर भारत र दक्षिण भारतबीचको युद्धसँग जोडिएको छ । उत्तर भारत आर्यहरूको बाहुल्यता भएको क्षेत्र मानिन्छ भने दक्षिण भारत द्रविडहरूको बाहुल्यता रहेको थियो । दुई बीचको युद्धमा उत्तर भारतले दक्षिण भारतलाई पराजित गरेको थियो । जहाँ महिषसुर भन्ने ठाउँ छ । जुन महिषासुर नै हुन् ।
उत्तर भारतलाई देव लोक र दक्षिण भारतलाई असुर लोकका रूपमा पनि चित्रण गरेको पाइने डा. न्यौपानेको भनाइ छ । उनी यसलाई धर्मको रूपमा भन्दा पनि संस्कृतिको रूपमा अगाडि बढेको बताउँछन् । ‘दशैं धर्म होइन, संस्कृति चाहिँ हो,’ उनी भन्छन् ।