धरान/ आगामी राष्ट्रिय जनगणनामा युमा धर्मलाई संस्थागत गराउन युमा साम्यो महासभाले आफ्नो गतिविधि तीव्र बनाएको छ । याक्थुङ(लिम्बु) समुदायको मौलिक एवम् पुरानो धर्म युमा साम्यो भएको दाबी गर्दै महासभाले जागरण अभियानहरू तीव्र बनाएको हो ।

२०४८ को जनगणनादेखि लिम्बु, राई, याक्खा र सुनुवार गरी चार जातीय संस्थाहरूले धर्मको महलमा किरात लेख्दै आएका छन् । खासगरी, उनीहरूको जातीय संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजले संस्थागत निर्णय गरेर किरात धर्म लेख्दै आएका छन् । तर, पछिल्लो समययता लिम्बु समुदायमा धर्मको महलमा किरात कि युमा लेख्ने भन्ने विषयमा चर्को विवाद रहँदै आएको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा जनगणना गर्दै आएको छ । बाह्राैं राष्ट्रिय जनगणना आगामी २०७८ को जेठ २५ गतेदेखि असार ८ गतेसम्म सम्पन्न हुँदै छ ।

०४६ मा स्थापना भएको चुम्लुङले ०४८ देखि धर्मको महलमा किरात लेख्दै आएको र आगामी ०७८ को जनगणनामा लिम्बुसहित अन्य दश जातीय संस्थाहरूले किरात धर्म उल्लेख गर्ने उपाध्यक्ष गोविन्द आङबुङले बताए । ‘किरात धर्म ०४८ देखिको संस्थागत निर्णय हो,’ उनले भने, ‘यसकारण आगामी जनगणनामा हामी सोही कुराको निरन्तरता दिने छौँ ।’ तथापि उनले किरात धर्मभित्र धेरै धार या सम्प्रदाय रहन सक्ने भन्दै चुम्लुङले वकालत गरेको किरात धर्म मौलिक सनातनी परम्परामा आधारित रहेको प्रष्ट्याए ।

उता, युमा साम्यो महासभाले भने आदिवासी लिम्बु समुदायहरू आफूलाई साँस्कृतिक रूपमा याक्थुङ भन्ने गरेको र मौलिक धर्म युमा धर्म रहेको भन्दै प्रचारप्रसारमा तीव्रता दिँदै आइरहेको छ । महासभाले धर्मको महलमा लिम्बुहरूले युमा लेख्ने केन्द्रीय अध्यक्ष देवेन्द्र वनेमले बताए । ‘हामीले जातिको महलमा याक्थुङ लिम्बु, मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेखाउने सर्वसम्मत निर्णय गरेका छौँ,’ उनले भने ।

यसैबीच महासभाले जागरण अभियानहरू तीव्र बनाउँदै सङ्गठन निर्माण कार्यलाई अगाडि बढाइरहेको केन्द्रीय सचिव भीमसेन लिङ्दमले जनाए । उनले बिहीबार मात्रै ताप्लेजुङको याङ्वरक थुम, सिरिजङ्गा गाउँपालिका वडा नं ४(साविक तेल्लक गाविस) मा ५५ सदस्यीय गाउँ कार्य समिति गठन भएको बताए । समितिका अध्यक्षमा रञ्जना ताम्लिङ, उपाध्यक्षहरूमा रामकुमार इवारम, निर्मल सिङथेबे, पूर्णप्रसाद परा, सचिवमा हर्क चेञ्जी माबो, सहसचिवमा जरिता काङ्भा, कोषाध्यक्षमा श्रीकुमार माबो र सहकोषाध्यक्षमा पवन माबो रहेका छन् । यस्तै, सदस्यहरूमा अम्मर बहादुर लिम्बु, माया थङ्गम्बा, इन्द्र माबो, कमला लिम्बु, साम्बा पूर्णबहादुर माबो, युमासाम मनकुमार कान्छा, येबा हर्क थङ्गम्बा लगायत छन् ।

यसैगरी, असोज २३ गते पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३(साविक तिरिङ्गे गाविस)मा पनि बुद्धवीर इजमको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा वीरबहादुर इजम, सचिवमा तेजकुमार इजम, सहसचिवमा अमृत कङलिबा र कोषाध्यक्षमा बुद्धिमान इजम छन् । सदस्यहरूमा ज्ञानबहादुर इजम, विक्रम इजम, रत्न इजम, सुरेश इजम, टेकराज इजम र सुरेन्द्र इजम रहेका छन् । त्यस्तै, फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बु माङयुङ गाउँमा पनि रुपा फुरुम्बोको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण भएको सचिव लिङदमले बताए । महासभाको हालमसम्म दुई दर्जन बढी शाखा समितिहरू गठन भइसकेका छन् । त्यस्तै, १४ मुलुकहरूमा प्रवास समितिहरू सक्रिय छन् ।

yuma1 yuma yuma2