धरान । हिन्दू धर्मावलम्बीको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि बडादशैं सुरु हुने गरेको छ ।

पूर्णिमासम्म धुमधामका साथ बडादशैं मनाउने गरिएको छ । आज घरघरमा विधिपूवर्क दियो, कलश र गणेश स्थापना गर्दै घटस्थापना गरिन्छ । शक्तिकी अधिष्ठात्री दुर्गाको पूजा गरी दशैंको आरम्भ गरिन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा माटो ल्याएर गोबरले लिपपोत गरी दशैंको विधिपूर्वक जौ, मकैं वा अन्य फल रोपिन्छ ।

सोही रोपण गरिएको जमरालाई विजयादशमीको दिन टीकाप्रसादको रूपमा ग्रहण गरिन्छ । शास्त्रीय विधिअनुसार जौबाहेक अन्य अन्न रोप्ने चलन नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घटनास्थपनाको साइत आज बिहान ११ः४६ मिनेटमा रहेको समितिले जनाएको छ ।

बडादशैंमा दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिका प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको नौ दिनसम्म विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

यो वर्ष टीकाको साइत १०ः१९ मिनेटमा रहेको छ । आफूभन्दा ठूला मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । यस्तो चलन नेपालीहरूमा मात्रै रहेको छ ।