धरान । धरानका एक पुराना गायक रोहित मास्केले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ‘प्रिय तिमीलाई’ म्युजिक भिडियो सहित रिलिज गरेका छन् ।
२०४९ सालताका ‘निश्चल’ नामक सांगीतिक अल्बम बजारमा ल्याएका गायक मास्केको ‘टेक्सी टेक्सी’ , ‘मेरी मायालु’ बोलका गीतहरु लगायत केही गीतहरु त्यसबेला रुचाइएका थिए । उक्त अल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री परियार र भगवती तुम्बाहाम्फेसंगै युगल गीतहरु समेत गाएका थिए ।
धरानको देउसी भैलो देखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि अल्बम निकालेको केही समयपछि नै उनले हङकङलाई आफ्नो कर्मथलो बनाएका थिए , जसले गर्दा त्यसपछि भने उनि उतै भुलिए । उता हुँदापनि यदाकदा फुर्सदको केही समय संगीतमा रमाउने मौका पाएका रोहितले केही गीतहरु रेकर्ड गराए भने उतै निर्मित ‘चुकेको चुरा’ नामक चलचित्रमा संगीत तथा स्वर समेत दिए ।
हङकङमा हुने सांगीतिक कार्यक्रममा पनि उनि छुट्दैन थिए । केहि बर्ष अघि मात्र उनि आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका हुन् । धरान आएपछि भने उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन् । धरानमा हुने यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक मास्केले कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्र्मीहरु संजिव लामा, हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ’ बोलको सन्देश मुलक गीत निकाले । उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस, मलाई धेरै धेरै माया लगायतका गीतहरु पनि निकाले । अहिले भने उनले सन्जिब लामाको शब्द , संगीत र निर्देशनमा ‘प्रिय तिमीलाई’ बोलको गीत भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । प्रशान्त तामाङले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।
धरानको धरान संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा आबद्ध रहेका गायक अब भने पहिले देखि साँचेका र केहि नयाँ गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् । आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको ।