उठानीः
गत भदौ १७ गते नडाहाका शान्तिराम खरेलले घाँटीभरि माला र खदा, हातमा सम्मान–पत्र र मायाको चिनो लिए । त्यो बेला खरेल निक्कै भावुक बने र भने, ‘मलाई लिम्बू संस्कृतिप्रति ठूलो श्रद्धा छ । अहिले मलाई यस्तो लाग्छ, मैले फेर्ने सासमा लिम्बुवान धड्केको महसुस हुन्छ । मैले जित्नलाई भन्दा पनि म जन्मेको भूगोल, लिम्बुवानी माटो र संस्कृतिप्रतिको माया हो ।’

गत जेठ ११ देखि साउन २ गतेसम्म उनी सेलिब्रेटीभन्दा कम चर्चामा रहेनन् । सेलिब्रेटी बन्ने अवसर जुराइदिएको थियो याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको ‘प्रथम विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिता’ ले । प्रतियोगिताको थालनीदेखि अन्तिमसम्मै चासो र आकर्षणको केन्द्रविन्दु बनिरहे उनी । प्रतियोगितामा उनी उत्कृष्ट दशमा परेपछि अबर्को रौनक थपियो । अन्ततः उनी सान्त्वना बने । चर्चा चाहिँ विजेताको भन्दा उनकै रह्यो । उनलाई देश तथा विदेशबाट सम्मान स्वरुप नगदहरु पठाउने काम भयो । किरात याक्थुङ चुम्लुङ वराहक्षेत्र–३ वडा समितिले लिम्बू जातिको संस्कृति जगेर्ना गर्न उल्लेख्य भूमिका खेलेको भन्दै किरात याक्थुङ चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा नगदसहित सम्मान ग¥यो । सोही सम्मान कार्यक्रममा शान्तिराम खरेल भावुक बनेका थिए ।

नेपालमा पछिल्लो पुस्ता र सांस्कृतिक अवस्थाः
नेपालमा पछिल्लो पुस्तालाई नियाल्ने हो भने अलमल्ल झैं छ । न त राज्य सत्ताले नै त्यसप्रतिको मोह जगाउने त्यस्ता कुनै योजना नै बनायो । र विडम्बनाको कुरा सम्बन्धित समुदायले आफ्नो संस्कृतिप्रति कहिले चासो नै राख्यो । यहाँनिर बडो खुल्दुली र गम्भीर अनि टड्कारो प्रश्न खडा हुन्छ, यो पाराले हाम्रो संस्कृति र मातृभाषा कसरी स्थापित हुन सक्छ ? राज्यसत्ता त ‘सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली’ गाउने र गाउन लाउने मात्र हो । व्यवहार त परदेशको नामको डरले ल्होसारको कार्यक्रम रद्ध गर्ने हाम्रै देशका गणतान्त्रिक राष्ट्रपति हुन् । उनीबाट हामीले के नै पो आशा गर्न सक्छौं र ? कहाँ छ समानता ? कहाँ छौं एउटै मालामा सबै नेपाली ? त्यसकै विकल्पमा उदाएको हो प्रथम विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिता । एउटा राम्रै उत्तर हो यो प्रतियोगिता । एउटा सांस्कृतिक आन्दोलनको सङ्केत पनि हो भन्ने लाग्छ यो अभियान ।

यो प्रतियोगिताको महत्व ः
आदिवासी तथा जनजातिजन्य सांस्कृतिक हस्तक्षेपकारी क्रान्ति तथा आन्दोलनहरु खासै भएको पाइँदैन । भएको भए पनि आम सर्वसाधारणसम्म जानकार छैनन् । केही सांस्कृतिक क्रान्तिहरु सत्ता आसपासमै बिलाएका उदाहरण छन् । बरु वैरागी काइला, भूपाल राई, श्रवण मुकारूङ, राजन मुकारूङ, हाङ्युग अज्ञात, उपेन्द्र सुब्बा, काङ्माङ नरेश राईहरुलगायतले लेखनमा उठान गरेको संस्कृति नजिकका केही विषयवस्तु वा मुद्दाहरु नै आज हामी आत्मसात गर्दैछौं । त्यसका बावजुद चिण्डो चिन्तन, कविता तङ्सिङले सांस्कृतिक क्रान्तिमा थोरै भए पनि टेवा पु¥याएको पाइन्छ ।

प्रथमतः यो समयले भोगेको सबैभन्दा डरलाग्दो महामारी कोभिड–१९ कोरोनाले सारा दुनियाँलाई अस्त–व्यस्त बनायो । यो बेला प्रायः विश्वभरि नै लकडाउन जारी भयो । यसको सदुपयोग के कसरी गर्ने भन्ने बारेमा सिर्जनशीलहरुको बहस र छलफलहरु भए । सायद यसैको उपज हुनुपर्छ, याक्थुङ कल्चर ग्रुपको यो पाःलाम प्रतियोगिता र सही समयको रचनात्मक कार्य सावित भयो । जनजाति समुदायका युवाहरु पनि समयानुकूल घुलमिल हुन सक्छन् भन्ने उद्घोष पनि हो पाःलाम प्रतियोगिता । यो खाली पट्यार लाग्दो समयमा यो खाले कार्यले विभिन्न किसिमको मनोदशाहरुको समेत निराकरणसँगै युवा जमातमा पर्ने नकारात्मक असरलाई समेत प्रतियोगिताले सिर्जनशीलतातर्फ धकेल्यो । नकारात्मक विचारले प्रश्रय पाएन यो पनि कार्यक्रमले पाउने जसको पाटो हो ।

यो प्रतियोगिता आफ्नो संस्कार र संस्कृति भुल्दै गएका युवा पिँढीलाई झक्झकाउने अस्त्र बनेको छ । यसैको जगमा टेकेर भोलिको सांस्कृतिक अभियन्ताहरुले खोज र अनुसन्धानको थालनी गर्नेछन्, यसमा कुनै शङ्कै छैन । आफ्नो संस्कृतिप्रति चासो राख्नेहरुका लागि कार्यशाला जस्तै बन्नेछ यो प्रतियोगिता । यो त देखावटी महŒवका कुरा यसका नेपथ्यगत महŒवहरु त पदार्पण हुन बाँकी नै छ । जसलाई कथाले विस्तारै माग्दै जानेछ ।

सांस्कृतिक जागरणको एउटा खाँबोः
भनेको सुनेको राणा शासन, पञ्चायती व्यवस्थामा यस्ता कुराहरुलाई अघोषित रुपमा प्रतिबन्ध गरिएको थियो । पछि मैले थाहा पाउँदा ०५६/५७ अघि यस्ता सभ्यता र संस्कृतिहरु सम्बन्धित समुदाय र गाउँमा मात्र अनुभव गर्न सकिन्थ्यो । तर १० वर्षे माओवादी जनयुद्ध र ०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् यी संस्कृति र सभ्यताहरु सञ्चार माध्यमहरुमार्फत् पूर्व मेचीदेखि कालीसम्म गुञ्जिन थाले । मैले भोगेको एउटा सांस्कृतिक क्रान्ति यो पनि हो । यसमा कसैको मत फरक हुनसक्छ ।

पट्यारलाग्दो समयको उचित सदुपयोग भन्दै गर्दा यो प्रतियोगिता जसरी चर्चाको मनोरञ्जन, समय कटाउनी र चर्चाको दृष्टिकोणले मात्र हेर्नुहुन्न । यो प्रतियोगिता अहिले चर्चाको चरमचुलीमा छ । यो चर्चाको विरासत थामिरहन सक्नु याक्थुङ कल्चर ग्रुपलाई अर्को चुनौती छँदैछ । यो ग्रुपले त्यस्तो कठिन अवस्थामा संसारभरि छरिएर रहेका लिम्बू समुदायलाई समन्वय गर्दै यो स्तरको कार्यक्रम आयोजना गर्नु आफैमा ऐतिहासिक कदम हो । हामी विश्वव्यापीकरण हुने बहानामा हाम्रो रीति–रिवाज, संस्कार, संस्कृति भुल्दैछौं । पश्चिमा संस्कृतिको चङ्गुलमा छौं । छिमेकी मुलुक भारतको सांस्कृतिक अतिक्रमणमा छौं । यस्तो बेला यो खाले मौलिक संस्कृतिलाई जीवन्त राख्ने अभियानको थालनी गर्नु चानचुने काम होइन । लाग्छ, आयोजकले पनि यो प्रतियोगिता यो स्तर र तामझामका साथ सम्पन्न हुन्छ भन्ने नसोचेको हुनुपर्छ ।

यो प्रतियोगिता पुरस्कार र जितको लागि मात्र थिएन । यो त एउटा औपचारिक लामो यात्राको निम्ति राखिएको नडग्मगाउने कलात्मक कदम हो र कालान्तरसम्म गुञ्जने मौलिक आदिवासी अन्तरा हो । यो अभियानले त युवापुस्ताबाट ओझेलिनै लागेको हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्ने क्रमको थालनी भएको छ । अहिले त हाक्पारे प्रतियोगिता, ख्याली प्रतियोगिता, याक्थुङ गजल प्रतियोगिता समेत हुन लागेको छ । जसको जग प्रथम विश्वव्यापी अनलाइन प्रतियोगिता नै हो । यसमा दुईमत छैन । अर्को पाटो भनेको यो प्रतियोगितामा खाट्टी याक्थुङ भाषामा गाइनुले भाषिक आन्दोलनमा समेत ठूलो टेवा पु¥याएको छ । गैरलिम्बूहरुले पनि खाट्टी स्पष्ट याक्थुङ भाषामा पाःलाम गाउनुले हाम्रो भाषा भाषिकाहरु सबैको जनजिब्रोमा झुण्डिएको रहेछ त अहिले किन हाम्रो जिब्रो लट्पटिँदैछ, आफ्नै भाषा बोल्न ? मातृभाषा प्रिय बनाउन सरकारको भूमिका के रह्यो र सम्बन्धित समुदायको कस्तो पहल भयो लगायतका कयौं प्रश्नहरु हामी सामु तेर्सिन्छ र हामीले पनि आफ्नो भाषा र संस्कृतिको निम्ति कम्मर कस्नै पर्छ ।

नेपालमा पछिल्लो समयमा सर्वाधिक बहसको विषय बनेको पहिचानको आन्दोलनमा त कोसेढुङ्गा नै सावित भएको छ यो पाःलाम प्रतियोगिता । पहिचानलाई जाति र समुदायसँग दाँज्नेहरुलाई यो प्रतियोगिताले पेचिलो उत्तर दिएको छ । किनकी यो हामीले नेपाली सङ्गीत भन्छौं तर सङ्कीर्ण सोचकाले त पाःलामलाई लिम्बूको संस्कार हो भन्छन् । यदि आदिम लय खोज्ने हो भने त हाक्पारे, पाःलाम, साकेलामा गुञ्जने सोइ सोइला...का लयहरु र रिसियाहरु मानव सभ्यतासँग जोडिने आदिम सङ्गीत हुन् । यो पल्टको प्रतियोगितामा गैरलिम्बूहरुले देखाएको सहभागिता अनि शान्तिराम खरेल सान्त्वनासमेत हुनुले के भन्छ ? अझै पनि नेपालभित्र गुञ्जिने पाःलाम लिम्बूहरुकै मात्रै हो त ? यस्ता सङ्कीर्ण सोचहरुलाई हामीले कहिलेसम्म प्रश्रय दिने ? यो अर्थमा पनि यो प्रतियोगिता सांस्कृतिक जागरणको खाँबो हो । एवम् रुपले अरु खाँबो उठ्न जरुरी छ र एउटा सभ्यता सम्पन्न घर निर्माण हुन सक्छ ।

गैरलिम्बूहरूको सहभागिता र तामझामः
प्रतियोगिताको सुन्दर पक्ष भन्नु नै पाः लाम प्रतियोगितामा गैरलिम्बूहरुको उल्लेख्य सहभागिता हो । झण्डै एक दर्जन सहभागीहरु त गैरलिम्बू नै थिए । यो सर्वेक्षणले के देखाउँछ भने यो देशभरि गुञ्जने लोकलय हामी सबैको सम्पत्ति हो, रोगी सोचहरुले गर्दा एक–अर्का समुदायबीच खाडल पारेको छ । कुमार विक (सोल्मा तेह्रथुम), जानुका श्रेष्ठ (म्याङ्लुङ,तेह्रथुम), कुमार प्रधान कल्पित (भोजपुर–४), शान्तिराम खरेल (वराहक्षेत्र–३, नडाहा सुनसरी), निलिमा साम्पाङ राई, निमश्वरी आठपहरिया (धनकुटा), धनु याक्खा (युके), गोपाल दाहाल (विराटचौक ९), बम विरही कुलुङ(पान्थर)को सहभागिता भनेको फरक समुदाय र संस्कृतिप्रतिको चासो र प्रेम नै हो । र ती गैरलिम्बू प्रतियोगीहरुलाई लिम्बू समुदायले आफ्नो सम्पत्ति ठानेका छन् ।

ती गैरलिम्बूहरुलाई विभिन्न लिम्बू सङ्घ–सङ्गठनले सम्मान गर्नुपर्छ र गर्ने क्रम जारी नि त्यतिकै छ । हामी पहिचानवादीहरुले त झन् यी व्यक्तिहरुलाई दुर्लभ र अमूल्य निधिको रुपमा संरक्षण गर्नु पर्दछ । ता कि हामीले हाम्रो संस्कृतिलाई माया र विश्वास गर्ने इतर समुदाय पनि छन् भनेर गर्व गर्न पाइरहुँ । कार्यक्रमको अर्को पाटो भनेको प्रातियोगिताको रौनक तथा तामझाम पनि रह्यो । यो प्रतियोगिताले नेपाली भाषा मात्र होइन, यहाँभित्र रहेका अन्य भाषाभाषी र संस्कृतिको पनि लोकप्रियता पनि कम रहेनछ भन्ने पनि सावित गरिदियो । जस्तै कि प्रचार–प्रसारको अभियान, प्रतियोगीहरुले भोट माग्दाको सामाजिक सञ्जालभरिको हो–हल्ला, आयोजकहरुको बेलाबखत कार्यक्रमसम्बन्धी ब्रिफिङले कार्यक्रमको थप गरिमा बढायो । सामाजिक सञ्जालभरि पाःलाम प्रतियोगिताकै प्रसङ्गले भरिनु पनि त यो राज्य सत्ताले थाहा पाउनु प¥यो कि यहाँका राजधानीभन्दा सुदूरतिरका संस्कार र संस्कृतिहरुको पनि त चाम राम्रै रहेछ ।

अन्त्यमाः
याक्थुङ कल्चरल ग्रुपले पाःलाम प्रतियोगिताको आयोजना गरेर आफ्नो समुदायलाई जुरुक्कै ब्युँझाएको छ । यो पुस्ताका तन्नेरीहरुले उचित समयमा यो कार्यक्रमको आयोजना गरेको छ । गैरलिम्बूहरुलाई उत्कृष्ट तीनभित्र पार्नुपर्छ भन्ने चौतर्फी दबाव थियो । त्यसलाई थोरै सम्बोधन गरेको भए प्रतियोगितामा अर्को सौन्दर्यबोधको महसुस चाहिँ हुन्थ्यो । आयोजक पहिले नै नियममा बाँधिइसकेको हुनुपर्छ । र नै पनि दबावका बावजुद निर्णय सार्वजनिक भयो । यो प्रतियोगिता सांस्कृतिक जागरणको आशैसरीको पूर्वेली क्षितिज हो । यो प्रतियोगिताले अन्य समुदायको युवापुस्तालाई घच्घच्याएको छ । हामी कानमा तेल हालेरै बस्ने कि रसिलो पाःलामको लय सुनेरै भए पनि आफ्नो संस्कृतिको संरक्षणको निम्ति ब्युँझने ? यी र यस्ता कैयन् सवालहरु छाडेर पाःलाम प्रतियोगिता सम्पन्न भएको छ । अब निन्द्रै नलागी सुतेजस्तो गर्ने कि मस्त निन्द्रामा नि पाःलाम प्रतियोगितालाई छम्केको पानी सम्झेर हस्याङ–फस्याङ गर्दै ब्युँझने त्यो सम्बन्धित समुदायका युवापुस्ताको जिम्मा ।
आलाङ्ने/नोगेन ।