‘मलाई हिजोसम्म क्या क्या छकाए ।
यहाँ आज ती कुन्नि के गर्न आए ।।
मलाई नसोधेर भागेर जाने ।
अनि फेरि कुन नाक लाएर आए ।।
नसोधेर खोसेर लिन्थे मकहाँ ।
कता जाने त्यो मन लुकाएर आए ।।
यसै चुक्चुकाएर निच् मारिहाले ।
जसै जुल्फी तिनले फिँजाएर आए ।।
म भन्दै थिएँ हे हरि होश राखे ।
हरे हेर मोती हराएर आए ।।’

उपर्युक्त प्रसिद्ध गजल युवा कवि मोतीराम भट्टका हुन् । उनलाई गजलका पिता पनि भनिन्छ । मोतीराम भट्टको जन्म वि.सं.१९२३ (सन् १८६६) मा काठमाडौंको भोसिको टोलमा आजैका दिन अर्थात् कुशे औंसीका दिन भएको थियो । उनी पण्डित दयाराम भट्ट तथा रिपुमर्दिनीदेवी भट्टका माइला छोरा थिए । उनी परिवारसहित ६ वर्षको उमेरमा पढ्नका लागि वाराणसी पुगे । त्यहाँ उनले संस्कृतमा शिक्षादीक्षा लिए । उनी प्रतिभाका धनी थिए । उनलाई विशेषतः नेपाली भाषा मन पथ्र्यो र यही भाषामा नेपाली साहित्यको सेवा गर्न चाहन्थे । उनी अन्य भाषा तथा साहित्यको पनि निकै शौखिन राख्दथे । उनले उर्दू भाषा पनि सिके ।

नेपाल फर्केपछि उनी दरबार हाईस्कुलमा भर्ना भए । दरबार हाईस्कुलमा उनका मिल्ने सहपाठी चन्द्र शम्शेर थिए । वि.सं.१९४८ मा बेलायतबाट लर्ड रोवोर्ट दरबार हाईस्कुलको निरीक्षण गर्न आएका थिए । देशको अवस्थाप्रति चिन्तित पढाइमा तेजिलो मोतीरामको प्रतिभालाई देखेर उनले पन्ध्रवटा ग्रन्थ दिए । दरबारहाईस्कुलको शिक्षादीक्षा पूरा गरिसकेपछि उनी पढ्न कलकत्ता गए । उनी विद्वान थिए । उनी संस्कृत भाषाका अलावा नेपाली, हिन्दी, उर्दू भाषामा पनि पोख्त थिए । उनले नेपालमा पहिलो पटक गजल साहित्यको शुरुवात गरे । नेपाली साहित्य आकाशमा गजल लेख्ने, गजललाई प्रख्यात बनाउने उनी नै थिए । उनका गजलहरू प्रायः शृङ्गार रसले परिपूर्ण हुन्थे । उनले सङ्गीतको पनि शिक्षा लिएका थिए । वाराणासीमा रहँदा उनले गजल गाउने पनि गरेका थिए । नेपाली लोकगीत तथा श्लोकहरू उनलाई औधी मन पथ्र्यो ।

एकदिन उनले विवाहको एउटा कार्यक्रममा भाग लिने मौका पाए । त्यहाँका युवायुवतीहरू रामायणका श्लोकहरू निकै मीठो भाकामा लयबद्ध गरी गाइरहेका थिए । यसबाट उनी साह्रै प्रभावित बने । उनले यी श्लोकहरू कसले रचेको भनी सोधखोज गर्दा भानुभक्त आचार्यले रचेको थाहा पाए । त्यसपछि उनले भानुभक्त आचार्यको विषयमा अनुसन्धान गर्न थाले । भानुभक्तका कृतिहरूबाट उनी निकै प्रभावित बने । वि.सं.१९३८ मा उनी काशी गए ।

त्यहाँबाट प्रकाशित हुने हिन्दी पत्रिका ‘भारत जीवन’ लाई नेपाली संस्करणमा निकाल्न लगाए । त्यसमा उनले प्रकाशकीय र सम्पादकीयको भूमिका निर्वाह गरेर नेपाली भाषालाई अघि बढ्नमा टेवा पु¥याए । उनले वाराणासीमा आफ्ना मिल्ने साथीहरू पद्मबिलास पन्त, काशीनाथ र तेजबहादुर राणाको साथमा मित्र मण्डली गठन गरे जसले उनलाई कृतिहरू प्रकाशन गर्नमा सहयोग गर्दथे । उनले नै भानुभक्तको रामायण प्रकाशन गरे । उनले भानुभक्त आचार्यको जीवनी लेखे । उनले भानुभक्तलाई चिनाउने काम गरे ।

भानुभक्त र मोतीराम भट्टकोजीवनकाल फरक थियो । भानुभक्तको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहँुको चुँदी रम्घामा भएको थियो । उनको मृत्यु वि.सं. १९२५मा तनहँुको सेतीघाटमा भएको थियो । समय र ठाउँ विशेषको अन्तराल भए तापनि भानुभक्त आचार्य र मोतीराम भट्ट एक आपसका परिपूरक थिए भन्दा अतिशयोक्ति नहोला । किनकि भानुभक्त आचार्यलाई मोतीरामले चिनाएर प्रख्यात बनाए भने भानुभक्तका कृतिबाट प्रभावित भएर मोतीराम भट्टले अझ धेरै गजल लेखे र विभिन्न कृतिहरूको रचना गरे । मोतीरामले १५ वर्षसम्म नेपाली साहित्यको सक्रिय सेवा अनवरत रूपले गरे । यस समयमा उनले झण्डै २५ वटा नेपाली साहित्यिक कृतिहरू लेखे र सम्पादन गरे ।

उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरिसकेपछि वि.सं.१९४४ फागुनमा नेपाल फर्के । आफ्ना मामाहरू नरदेव पाण्डे र कृष्णदेव पाण्डेहरूको सहयोगमा वि.सं.१९४५ मा काठमाडौंको थःहिटीमा ‘मोतीकृष्णकम्पनी’ को स्थापना गरे । त्यसै समयमा उनले पुस्तकालयको पनि स्थापना गरे । उनले साथीहरूसँग मिलेर छापाखाना खोले जसको प्रबन्धक उनैलाई बनाइए । त्यहाँबाट उनका कृतिका अलावा अन्य कवि, लेखकका कृतिहरू पनि प्रकाशन गर्ने अवसर बन्यो । उनले लेखेका ग्रन्थ ‘प्रल्हाद भक्ति’ त्यतिखेर घर–घरमा बिहान बेलुकी वाचन गरिने गरिन्थ्यो । यसबाट उनी तत्कालीन समयमा कति प्रसिद्ध थिए भन्ने बुझिन्छ । उनले लेखेका ‘गफास्टक’ र ‘पञ्चक प्रपञ्च’ बाट तत्कालीन समयमा चलेका सामाजिक विसङ्गति तथा अन्धविश्वास हटाउन उनले निकै व्यङ्ग्य गरेको बुझिन्छ । उनका कृतिहरू ‘प्रियदर्शिका, गजेन्द्रमोक्ष, सङ्गीत चन्द्रोदय, पिकदुत, भानुभक्तको जीवनी, भानुभक्तीय रामायण’ इत्यादि हुन् ।

मोतीराम भट्ट बहुमुखी प्रतिभाका धनी थिए । उनी नेपाली साहित्यका माध्यमिक कालखण्डका प्रवद्र्धक थिए ।उनी प्रख्यात कविका अलावा जीवनीकार, अन्वेषक, गजलकार, प्रकाशक, समालोचक, नाटक निर्देशक, नाटककार, गायक, सङ्गीतकार, सङ्गठनकर्ता, पुस्तकालय संस्थापक, प्रबन्धक थिए । अत्यन्त मिजासिला स्वभावका उनका धेरै साथीहरू थिए । उनको मित्रता विपरीतलिङ्गीहरूसँग अझ धेरै हुने गर्दथ्यो । ती विपरीतलिङ्गीहरूसँग गफिन पाउँदा उनले धेरैभन्दा धेरै शृङ्गारिक धारका कविताहरू लेखे ।नेपाली भाषामा यसरी थुप्रै कृतिहरु लेखी नेपाली साहित्यमा आमूल परिवर्तन ल्याए । मोतीराम भट्टको मृत्यु तीस वर्षको कलिलो उमेरमा वि.सं.१९५३ (ईस्वी सन् १८९६) मा कुशे औंसीकै दिन भयो ।

उनी अझै बाँचेका भए अझ उनले नेपाली भाषा र साहित्यलाई धेरै माथि उठाउने प्रयत्न गर्थे र नेपाली साहित्यको अझ विकास गर्थे । युवाकवि मोतीरामलाई उनको योगदानको कदर गर्दै उनलाई नेपालको विभूतिको रूपमा विभूषित गरिएको छ । उनको नामबाट हुलाक टिकट पनि प्रकाशित भएका छन् । उनको नामबाट विभिन्न सङ्घ–संस्थाहरू खोलिएका छन्, बाटाघाटाहरू बनेका छन् । उनकै नामबाट हरेक वर्ष प्रदान गरिने युवा वर्ष मोतीपुरस्कार स्थापना गरिएको छ, जुन युवाहरूको लागि सर्वाधिक प्रिय र चासोको पुरस्कार हो । उनको जन्म जयन्ती नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा छरिएर रहेका साहित्यप्रेमी नेपालीहरूले पनि विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।

नेपाली साहित्यमा अविस्मरणीय, अतुलनीय योगदान गरेका मोतीरामकै कारणले क्रमिक रूपमा नेपाली साहित्यको विकास भएको तथ्यमा कसैको पनि दुईमत रहन्न । अझ स्वदेशमै बसौं, स्वदेशी लुगा लगाऔं, स्वदेशी वस्तु खाऔं र स्वदेशी व्यवहार गरौं भन्ने त्यतिबेलाको उनको राष्ट्रप्रेम आजको युग र जटिल अवस्थामा समेत अत्यन्त महत्वपूर्ण र सान्दर्भिक देखिन्छ । छोटो समय बाँचेर पनि नेपाली साहित्यको अनवरतरूपमा विकास गर्ने राष्ट्रप्रेमी नेपालका यस्ता अमूल्य निधिलाई यो पंक्तिकारको हार्दिक नमन !

आज कुशे औंसी पनि हो । घर–घरमा कुश भित्र्याउने दिन । पण्डित, पुरोहितहरूले आजको दिन घर–घरमा कुश ल्याइदिने गर्दछन् र यजमानहरूले गच्छेअनुसारको दान दक्षिणा दिने गर्दछन् तर कोभिड–१९ का कारण आज कुश घर–घरमा वितरण हुन नसक्ने स्थिति आदरणीय पाठकवृन्दलाई थाहा नै छ । आजको दिनलाई गोकर्ण औंसी पनि भनिन्छ । काठमाडौंस्थित गोकर्णमा भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ । गोकर्णेश्वर महादेवको दर्शन गरी आफ्ना बुबा बितेकाहरूले श्राद्ध गर्ने गर्दछन् । यस पटक भने गोकर्णमा मेला नलाग्ने र मन्दिर बन्द हुने गोकर्णेश्वर महादेव मन्दिर प्रबन्ध समितिले जानकारी गराइसकेको छ ।

आजै बाबुको मुख हेर्ने दिन पनि हो । विवाहित छोराहरूले पनि आज आफ्नो बुबाको मुख हेर्ने गर्दछन् । यस दिन उनीहरूले आफ्नो बुबालाई विविध परिकार खुवाउनुका साथै उपहार पनि दिने गर्दछन् । विशेषतः विवाह भइसकेकका छोरीचेलीहरू माइत जाने र आफूलाई जन्म दिने आफ्नो बुबाको मुख हेर्ने गर्दछन् । बुबाको मुख हेर्दा छोरीचेलीहरूले विभिन्न उपहारहरूसहित मिठाईका परिकारहरू, स्वादिष्ट खानेकुराहरू खुवाउने गर्दछन् । विवाह नभएका छोराछोरीहरूले पनि आजको दिन आफूलाई जन्म दिने बुबाको मुख हेर्ने गर्दछन् ।

आफूलाई जन्माई हुर्काई आजको दिनसम्म डो¥याएको खुसीयालीमा आफ्नो बुबाप्रति कृतज्ञता जनाउने गरिन्छ । कतिपय परिवारमा भने बुबाको मुख हेर्ने दिन आमा हुनेले आमालाई पनि साथै राखी बुबाआमा दुवैको मुख हेर्ने गर्दछन् भने कतिपयले आजको दिन बुबाको मात्र मुख हेर्ने गर्दछन् । त्यस्तै आमाको मुख हेर्ने दिनमा कतिपयले आमाको मात्र र कतिले आमाबुबा दुवैको मुख हेर्ने प्रचलन रहेको पाइन्छ । वर्षदिनमा एक पटक मात्र आउने यस्ता चाडहरू अति महत्वपूर्ण मानिन्छन् । आ–आफ्नो चलन र परम्पराअनुसार आफ्नै मूल्य मान्यतामा मनाइने कुशे आंैसीको आफ्नो छुट्टै महत्व छ ।

वर्षदिनमा एकदिन मात्र बुबाआमाको मान राख्ने तर अन्य बेलामा सोधखोज नगर्ने, नहेर्ने कतिपय छोराछोरीहरू पनि होलान् । त्यस्तैगरी कतिपय छोराछोरीहरूले वृद्ध भएका आफ्ना आमाबुबाहरूलाई आफूले नपाली, नहेरी वृद्धाश्रममा लगेर राखेका पनि होलान् । यस्तो कार्य गर्नु कदापि राम्रो होइन । आफूलाई जन्म दिने जन्मदातालाई हेप्ने, नोकरचाकरको जस्तो व्यवहार गर्ने र वृद्धाश्रममा राख्नाले ती वृद्ध आमाबुबाको मन कति विचलित हुन्छ, तिनीहरूलाई कति पीडा हुन्छ भन्ने कुरा पछि आफैले पनि त्यस्तैगरी भविष्यमा भोग्नु पर्दा थाहा हुन्छ ।

त्यतिखेर आफू पछुताउनु बाहेक अरू केही उपाय रहन्न । किनकि आज जस्तो व्यवहार छोराछोरीहरूले आफ्नो बुबाआमालाई गर्दछन्, त्यस्तैगरी उनीहरूका छोराछोरीहरूले पनि भविष्यमा तिनीहरूलाई त्यस्तै नगर्लान् भन्न सकिन्न । आफूले ठूलाहरूप्रति गर्ने गरेको व्यवहार नै आफ्ना छोराछोरीहरूले सिक्ने हुन् । त्यसैले जिउँदो देवी देवतारूपी आफ्नो आमाबाबाको सधैँ सेवा गर्नु, उनीहरूको आवश्यकतालाई पूरा गर्नु, उनीहरूलाई साथ दिनु नै असल छोराछोरीहरूको परम् कर्तव्य हो ।