लक्ष्मीमार्ग/ मोरङ बेलबारीका शेरबहादुर विश्वकर्माले ३० दिन लगाएर बनाएको नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार तोकेका छन् ।

विश्वकर्मा कृषि औजार उद्योगका सञ्चालक शेरबहादुरले नेपालको नक्सा समेटिएकोे खुकुरीको मूल्य ६० हजार राखेका हुन् । नेपालको नयाँ नक्सासहितको खुकुरी बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि माग ह्वात्तै बढेको सञ्चालक विश्वकर्मा बताउँछन् ।

दश वर्षदेखि खुकुरी बनाउन थालेका विश्वकर्माले पहिलो पटक खुकुरीको माग यति धेरै भएको बताए । लकडाउनभन्दा अगाडिसम्म पुरानै तरिकाले खुकुरी तथा चुलेसी, हँसिया, हथौडा, खुर्पालगायतका सामग्री बनाउँदै आएका उनले लकडाउनको समयमा बजारमा व्यवस्थापन नभएपछि पुरानै पेशालाई नयाँ मोड दिए । उनले बनाएका खुकुरीको बिँडमा नेपालको नक्साको ३० प्रतिशत भू–भाग अङ्कित छ भने ७० प्रतिशत भू–भाग दापमा अङ्कित गरिएको छ ।

पुख्र्यौली पेशाको रूपमा अँगाल्दै आएका उनले पहिला पनि औजारहरू बनाउने गर्थे । आफ्नो पेशाबाट राम्रो कमाइ गर्न नसकेपछि पैसा कमाउने सपना बुनेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक पनि केही समय गएका विश्वकर्माले पुनः आएर त्यही पेशालाई सम्हाल्दै नयाँपन दिएपछि अहिले कमाइ बढ्न थालेको छ ।

‘विदेशबाट फर्केपछि नगरपालिकामा केही आधुनिक खालका उपकरणहरूको व्यवस्थापन गरिदिन भनेर निवेदन दिएको थिएँ’ उनले भने, ‘विद्युतीय पङ्खा, ग्राइण्डर, ड्रिल मेसिनलगायतका सामग्री पाएपछि अहिले मेरो व्यवसायलाई सहयोग पुगेको छ ।’

उनले थपे, ‘बजारको व्यवस्थापनसमेत बेलबारी नगरपालिकाले गरिदिने भएको छ, यसबाट मलाई थप हौसला मिलेको छ ।’ दुई जनालाई रोजगारीसमेत दिएका उनले बनाएका खुकुरीको मूल्य २५ सयदेखि ६० हजारसम्म रहेको छ । २५ सयदेखि ७ हजारसम्मका खुकुरीहरू धेरै बिक्री हुने गरेको विश्वकर्मा बताउँछन् ।

khukuri