कालाबञ्जार । सुनसरीको रामधुनी–२ को शिवनगरमा थारू जातिको उत्पत्तिदेखि हालसम्मको अवस्थालाई प्रतिबिम्बन गर्ने गरी संग्रहालय निर्माण भइरहेको छ ।

अहिले काम अन्तिम चरणमा पुगेको छ । मानव सभ्यतासँगै कुनै न कुनै रूपमा बसोबास गर्दै आइरहेका थारू समुदायमा पाइने परम्पारगत सीप, सामग्री, उत्पत्तिको अवस्थालगायत संग्रहालय राखिने छ । थारू जाति नेपालको कुल जनसंख्याको ६.५७ प्रतिशत अर्थात १७ लाख ३७ हजार ४७० रहेको राष्ट्रिय जनगणना २०६८ मा उल्लेख छ । प्रमुख दश जातिमध्ये जनसंख्याका हिसाबले चौथो स्थानमा थारू समुदाय रहेको आदिवासी जनजाति संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष फागुलाल चौधरी बताउँछन् ।

नेपालमा तराईका सबै जिल्ला र पहाडी सहरहरूमा पनि छरिएर रहेका छन् । विशेष गरी सुनसरी, मोरङ, चितवन, कपिलवस्तु, नवलपरासी र दाङ थारूको उत्पत्ति र सभ्यताको स्थान मानिने उनले बताए । प्रदेश नम्बर १ मा जनजातिहरूको सग्रहालय नभएको होइन तर थारू जातिको पहिचान झल्कने संग्रहालयको अभाव रहेकाले निर्माण थालिएको उनको भनाइ छ ।

यसका लागि रामधुनी नगरपालिले ३ लाख ५० हजार, जनसहभागिताबाट सात लाख ७० हजार र आयोजनामा लगानी गर्ने अन्य निकायबाट ३ लाख ५० हजार गरी कुल ४६ लाख २० हजारमा निर्माण गरिरहेको अध्यक्ष चौधरी बताउँछन् । २०७६ पुष २४ गतेबाट प्रारम्भ भएको काम गएको चैत मसान्तसम्म पूरा गर्ने योजना बनाए पनि कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले गर्दा पूरा हुन नसकेको उनी बताउँछन् ।

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले शिलान्यास गरी सुरुवात गरिएको थियो । ‘हाम्रो काम ८० प्रतिशत सकिसकेको छ’–उनले भने । ३ कठ्ठा क्षेत्रफलमा फैलिएको संग्रहालय महेन्द्र राजमार्गमा पर्ने झुम्का बजारदेखि २ किलोमिटर भित्र रहेको छ । संगहालयमा हातले कला भर्ने काम स्थानीय हरिशंकर चौधरीको संयोजनमा भइरहेको छ । उनले आटे प्यागोडाशैलीमा झण्डै दुई दशक काम गरेका थिए । त्यहीँ अनुभवलाई यहाँ प्रयोग गरिरहेका छन् ।

थारू जातिको पहिचानसँग जोडिएको ग्रामथानहरू नेपाल राष्ट्रियको सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको मेयर जयप्रकाश चौधरीले बताए । उनले शिवनगर क्षेत्रमै करिब ७ कठ्ठा क्षेत्रफलमा थारू होमस्टे बनाउने तयारी गरिरहेको समेत बताए । यसले गर्दा थारू संग्रहालयको गरिमा थप बढ्ने बताए । प्रदेश र नगरपालिका साथै वडाको पहलमा आउँदो आर्थिक वर्षका थारू होमस्टेको काम गरिने बताए ।

थारु संस्कृति, भेषभुसा र धर्म

नेपालमा वसोवास गर्ने थारु समुदायहरु संस्कृति र परम्पराका धनी मानिन्छन् । थारु समुदायमा धेरै प्रकारका नाच गानहरु हुने गर्छन् । थारु पूर्वजहरुले विभिन्न परिस्थितिमा नाचगानको शुरुवात गरेको पाइन्छ । गाई भैसी चराउन जंगलमा गएका वेला हातमा लाठी लिएका गोठालाहरु समय व्यतीत गर्न गरेको कृयाकलाप आजको थारु समुदायमा लाठी नाचको नामले स्थापित हुन पुगेको छ । त्यस्तै महँगा खाले वरका नाच, कठघोरी नाच, झर्रा र मुङ्गरौवा नाचहरु थारु समुदायमा आजकाल लोप हुन थालेको रामधुनि नगरपालिकाको मेयर जय प्रकाश चौधरी वताउँछन् । हिजो आज समय र पर्व अनुसार नाचिने सखीया, झुम्रा, लाठी, मयूर र र्हुदंगवा नाच देशौरे, दंगाहा र राना थारुहरुमा साझा नृत्य वनेको उनले वताए । थारु समुदायहरुमा नाच्ने वखतमा हातमा जुन कुरा लिएर नाच्ने गरिन्छ त्यस नाचलाई त्यही नाम दिने प्रचलन रहेको पाईन्छ ।

थारु समुदायमा आफ्नै भेषभुषा रहेको पाईन्छ । पुरुषहरु भेगुवा, डगली, आस्कोट लगाउछन् भने महिलाहरु लेहँगा, चोली आदि लगाउने गरेका छन् । हिजोआज पुरुषहरु सर्ट, पाइन्ट र महिलाहरु साडी, कुर्ता सुरुवाल समेत लगाउने मेयर बताउँछन् ।

थारु परम्परा र परिकार

थारु समुदायमा कुनै पनि धर्मको प्रमाणित तथ्य नभएतापनि उनीहरु आफूलाई प्रकृतिका पुजारी मान्ने गर्दछन् । परिवर्तनशिल समाज सँगै हिन्दु, वौद्धिष्ठ लगायतका निकटतम धर्मावलम्वी हरुको वसोवास का कारण पनि विभिन्न धर्म मान्न थालेको पाइन्छ । थारु समुदायमा विषेश गरी माघे संक्रान्ति, कृष्ण जन्माष्टमी, होली, गुडीया (नाचपञ्चमी) ईतवारी लगायतका पर्वहरु विषेश महत्वका साथ मनाउने गरिन्छ । थारु परम्परामा माघी, फागु पूर्णिमा, नागपञ्चमी, कृष्ण जन्माष्टमी र ईतवारी पर्व महत्वपूर्ण मानिन्छन । यसका साथै दशै, तिहार पनि मनाउने गरिन्छ ।

फागुन शुक्ल पूर्णिमाको पूर्व सन्ध्यामा चिर दहन गरी प्रत्येकको घरघरमा नयाँ आगो लैजाने परम्परा रहेको स्थानिय वुद्धिजीवी र्पुव भासि गा वि स अध्यक्ष शकरलाल चौधरी थारुले वताए । सो आगो लाई वर्ष दिन सम्म घरमा जलाएरै राख्ने प्रचलन छ । यसका साथै जिता (सुँगुर) मार्ने, अविर खेल्ने ठूला वडाको आर्शिवाद लिने गरिन्छ । थारु परम्पराको महत्वपूर्ण पर्वका रुपमा रहेको गुडीया श्रावण शुक्ल नागपञ्चमीका दिनमा मनाईने गरिन्छ । यसैगरी कृष्ण जन्माष्टमी र कृष्ण जन्माष्टमी पछिको दोश्रो आईतवार ईटवारी पर्व थारु समुदायका लागि विषेश रुपमा मनाउने गरेको उनले वताए । यसका अवशरमा व्रत वस्ने र शाकाहारी परिकार खाने गरिन्छ । ईटवारीको अर्को दिन दिदि वहिनीलाई भात र रोटी अग्रासनका रुपमा दिने प्रचलन थारु समुदायमा पाईन्छ । आजकाल दशै, तिहार पनि थारु समुदायमा मनाउने गरेको पाईन्छ ।

थारु समुदायमा माघी पर्वलाई विषेश पर्वको रुपमा लिईन्छ । यस पर्वलाई थारु समुदायमा नयाँ वर्षको रुपमा लिने गरिन्छ । माघे संक्रान्तीको पूर्व सन्ध्यामा गाउँमा जिता (सँगुर मार्ने) प्रचलन छ । सोही दिन रमाईले गर्ने र रातीमा ढुङरु गीत गाउने गरिन्छ । गीत गाई सकेपछि विहान पख खोला, नदी वा तलाउमा नुहाउने र मान्यजनलाई ढोकभेट गर्नु थारु समुदायको महत्वपूर्ण परम्परा हो । संक्रातिको भोलिपल्ट दिदी वहिनीलाई फेरी चामल दिने प्रचलन रहेको पाईन्छ ।

माघीको तेस्रो दिन यो समुदायमा खुजनी वुझनी गरिन्छ । कुनै पनि कुराको छिनो फानो गर्नु यस दिनको विषेश महत्व रहेको पाईन्छ । घरमा दाजुभाईको नमिलेका कुरा पनि यस दिनमा छिनोफानो गरिन्छ । गाउँको वडघर ९अगुवा०, चौकीदार, गुरुवाहरु पनि यसै दिनबाट वर्ष भरीको लागि छान्ने प्रचलन छ । सरकारले कमलरी र कमैयामुक्तीको घोषणा गर्नु पूर्व यसै दिनमा मालिकको घर भित्रको काम गर्नको लागि छोरी कमलरीको रुपमा र घर वाहिरको कामका लागि पुरुषहरु कमैयाका रुपमा छिनो फानो गर्ने प्रचलन थियो । हाल सरकारले कमलरी र कमैया मुक्ती पछि सो परम्परा वन्द भएको उनले वताए ।

थारु समुदायमा विभिन्न परिकारहरु पकाउने गरिन्छ । प्रत्येक चाड पर्व र अवसरहरुमा अलग अलग परिकारहरु वनाउने प्रचलन पाईन्छ । थारु समुदायमा ढिक्री, अनदीको भात, चुनी वरिया शाकाहारी परिकारको रुपमा लिईने गरिन्छ । घोंघी, गेङ्टा, मुसा, सुँगुर लगायत माछामासुहरुको परिकार पनि थारु समुदायमा महत्वपूर्ण रहेको हुन्छ । अनदीको चामलबाट वनाईएको जाँड विषेश गरी माघीको दिन ‘सखिये हो माघीके पिवि गुरी जाँड’” भन्दै खाने परम्परा रहेको प्रेम बताउँछन् । थारु परिकारहरु स्वस्थकर र ताकतिलो हुने हुँदा घोंघीले पेट सफा गर्ने तथा गेङ्टामा वढी प्रोटीन पाईने भएकोले जण्डीस हुँदा गेंङ्टा खाएमा जण्डीस रोग निर्मूल पार्ने थारु समुदायको मान्यता रहेको उनले बताए ।

थारु समुदायमा आधुनिकता

संस्कृति र परम्पराको धनी हुँदा हुँदै पनि राज्यको मुलधारमा आउन थारु समुदायले आफ्नो परम्परालाई छोड्न वाध्य हुनु परेको हरिशंकर चौधरीको बताउँछन् । आजको थारु पुस्ताले परम्परागत संस्कारलाई छाड्दै गएको उनको भनाई छ । आजको सामाजिक वातावरण सँगको अस्तित्व कायम गर्न पनि थारु समुदायलाई अन्य भाषामा शिक्षा र उच्चतम प्रविधिको ज्ञान लिनु जरुरी भएको उनको तर्क छ । जसले गर्दा पनि थारु समुदायको नयाँ पुस्तालाई परम्परागत सँस्कृति र थारु समुदायको मुल्यमान्यता भन्दा वाहिरी शिक्षा हासील गर्नु पर्ने वाध्यता उनले प्रष्ट्याए । यसका कारण पनि थारु भाषा संस्कृति ओझेलमा पर्न थालेको उनी बताउँछन् ।

नेपालमा थारु समुदायहरु समयको परिवर्तन सँगै शिक्षित हुँदै गैरहेका छन् । देशका विभिन्न स्थानमा थारुहरुको सहभागीतात्मकता उल्लेख्य मात्रामा रहेको पाईन्छ र सरकारले राज्यको मुलधारमा समेत उनीहरुलाई ल्याउन थालेको छ । उनीहरुको आधुनिक शिक्षा हासीलका क्रममा परम्परागत सँस्कृतिहरु समेत लोप हुन थालेको पाईन्छ । यसका लागि राज्यले थारु समुदायको वाहुल्यता रहेका स्थानहरुमा थारु संग्रहालयहरुको स्थापना गर्नु जरुरी छ । अन्यथा केही दशक पछि एका देशमा नेपालमा थारु समुदाय थियो रे भन्ने कथा नहोस् भनेर हामीले यो सङ्रलय निर्माण गरेको शिवनगरबासीले बताए ।