धरान । चालिसको दशकदेखि साठ्ठीको दशकसम्म नेपाली नाट्य इतिहासमा धरानको नाम छुट्ने कुरै भएन । त्यो कालखण्डमा नेपाली नाटकमा धरानको नाम कुनै न कुनै रूपमा जोडिँदै आएको छ । सडक नाटक, डबली नाटकदेखि थुप्रै एकाङ्की नाटकहरू प्रदर्शित भए ।

अझ धरानको नाटकको इतिहास पल्टाउने हो भने वि.सं. १९९७ तिर पुग्नुपर्ने हुन्छ । जुन माध्यामिक कालको अन्त्यतिर र आधुनिक नेपाली नाटकको बीजारोपण काल हो । शताब्दी छेउ पुगेको धरानको नाटकमा भने रङ्गमञ्चको अभाव जहिल्यै खट्किँदै आयो । अहिलेसम्म पनि यो निरन्तर छ । तर, अब भने धरानको नाटक नयाँ मोडमा आइपुग्ने सम्भावना बढेको छ ।

धरानको २ कठ्ठा जग्गामा रङ्गमञ्च तयार हुँदै छ, त्यो पनि आधुनिक । त्यसको डिजाइनिङचाहिँ पराम्परागत हुनेछ । परम्परागत आर्किटेक्ट प्रयोग गरेर कलात्मक नाटक घर बन्न लागेको छ । जसको काम तीव्र रूपमा अगाडि बढेको छ । ‘डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) को काम गर्दैछौं’ कलाकार एवम् डीपीआरका परिकल्पनाकार विक्रमश्रि भन्छन्, ‘नेपाली परम्परागत आर्किटेक्ट प्रयोग गरेर थिएटर हल बनाउँदै छौं ।’

अबचाहिँ साच्चै नाटक हेर्न चाहने धरानेहरूको धैर्यताको बाँध फुटेको छ । यसमा धरान उपमहानगरको कार्यपालिका बैठकबाट निर्णयसमेत भइसकेको छ । धरान–८ सभागृहमा रहेको २ कठ्ठा जग्गा दिने निर्णयसमेत भइसकेको कलाकार एवम् नाटक घर निर्माण उपभोक्ता समितिका सदस्य हिमाल दाहाल बताउँछन् । ‘चैतको तेस्रो साताअघि बसेको कार्यपालिकाको बैठकले निर्णय गरिसकेको छ, अबचाहिँ हामीले परिकल्पना गरेको नाटक घर बन्छ’–उनले ब्लाष्टकर्मीलाई भने ।

नेपालमा नाटकको सुरुवात कहिले भयो भन्ने यकिनन् समय किटान गरिएको छैन । तर, पनि लिच्छवी कालबाट नेपालमा नाटकको सुरुवात भएको प्रमाणिक आधारहरू भेट्न सकिन्छ । नेपाली नाटक परम्पराको स्रोत भने लोकनाटकलाई मानिने समालोचक सुभाषचन्द्र न्यौपानेले ‘नेपाली नाटक र चलचित्र सिद्धान्त’ नामक पुस्तकमा उल्लेख गरेका छन् (पृष्ठ २९) । उक्त पुस्तकमा नाटकको स्वर्णकाल भने मल्ल काललाई मानेका छन् । सर्वप्रथम भक्तपुर राज्यका धर्म मल्लले ‘बुद्धचरितम्’ नाटक लेखेर नाट्यायात्राको प्रारम्भ गरेका थिए भनेर उल्लेख छ ।

यो कालखण्डदेखि नेपालमा आधुनिक नेपाली नाटकको बीजारोपण बालकृष्ण समको ‘मुटुको ब्यथा (१९८६)’ लाई लिइन्छ (न्याैपाने, २०७०ः पृष्ठ ३३) । आधुनिक नेपाली नाट्यपरम्पराको सुरुवातसँगै धरानमा पनि नाटकले नयाँ पाइला हालेको अग्रज कलाकार प्रेम सुब्बा बताउँछन् । धरानमा सकुन्तला नाटक पहिलो पटक प्रदर्शन गरिएको अनुमान उनले गरेका छन् । वि.सं. १९९७ सालमा चन्द्रशेखर श्रेष्ठ, राधा उदासहरूले नाटक प्रदर्शन सुरु गरेको उनी बताउँछन् । त्यसपछि नाटकले उत्कर्ष हुँदै अपकर्षतर्फ झर्ने–चढ्ने क्रम चलिरह्यो । २०१९ सालसम्म ती पुस्ताले धाने । तर, २०३९ पछि नै धरानमा नाटक ह्वात्तै अगाडि आयो ।

जसमध्येका कलाकार प्रेम सुब्बा पनि एक हुन् । जो अहिलेसम्म निरन्तर नाटक तथा कला क्षेत्रका क्रियाशील छन् । त्यसमध्येमै पर्ने नवीन सुब्बा पनि हुन् ।

२०६० साल अगाडिसम्म उत्कर्षमा रहेको धरानको नाटक त्यसपछि एकाएक अपकर्षतर्फ बढ्यो । त्यसले झण्डै ७० को दशकसम्म निरन्तरता पाइरह्यो । अहिले फेरि धरानको नाटकले नयाँ रूप प्राप्त गरेको छ । तर, धरानको नाटकले उत्तरआधुनिकतावादलाई पछ्याउन सकेको छैन । बहुलतालाई स्वीकार गर्न सकेको छैन । विनिर्माण हुन सकेको छैन । विधा मिश्रण भएको पाइँदैन । ‘धरानमा पछिल्लो समय एक दुई वटा नाटक हेरेको छु, उत्तरधानुनिक प्रवृत्तिचाहिँ आउन सकेको छैन, अरू विधाजस्तै कवितामा आयो, त्यसले बहुलतालाई स्वीकार ग¥यो’ समालोचक न्यौपाने भन्छन्, ‘नाटकमा अरू विधा समिश्रण गरेर, विनिर्माण गरेको पाइँदैन ।’

लेखन र प्रकाशनका दृष्टिमा चाहिँ उनी धरान लगभग शून्यप्रायः नै ठान्छन् । रङ्गमञ्चमा केही अगाडि बढेको पक्कै छ । खासगरी पुरानो अनाम, आरम्भ जो शून्यप्रायः भइसकेको थियो, उनीहरू फेरि अगाडि बढेको छ । रङ्गभूमि एकेडेमी जस्ता संस्थाहरू अगाडि आएका छन् । जसले पुरानै नाटक र आंशिक मौलिक नाटकलाई प्रस्तुत गर्दै अभिनयको क्षेत्रमा पुनर्जागरण आएको समालोचक न्यौपाने स्वीकार गर्छन् ।

पुरानै ढर्रामा धरानको नाटकले निरन्तरता पाइरहेको छ । तर, अब नाटक घर बनेसँगै धरानको नाटकले नयाँ फड्को मार्नेमा धरानेहरू विस्वस्त हुने वातावरण बनेको छ । करिब ६ करोडको लगानीमा बन्न लागेको नाटक घरमा युरोपको प्रविधि प्रयोग हुनेछ । ‘‘बाहिर हेर्दा परम्परागत देखिए पनि भित्रचाहिँ आधुनिक हुन्छ, हावा, ध्वनि, प्रकाशको व्यवस्थापन युरोपतिरको प्रयोग गरेको टेक्नोलोजी प्रयोग गर्छौं’–कलाकार विक्रमश्रि भन्छन् ।

उनले यो थिएटर हललाई प्रदेश १ को अन्तिम उत्कृष्ट गन्तब्य बनाउने दाबी गर्छन् । नाटकका लागि मात्रै नभएर चित्रकला र मूर्तिकलाको प्रदर्शनी हेर्नसमेत पाइने भएको छ । सामान्य खाजा खान मिल्ने खाजा घर, २५ जनासम्म कलाकारहरूलाई राखेर कार्यशाला घर पनि निर्माण हुनेछ भने २ सय दर्शक क्षमताको नाटक घर बन्ने छ । जुन दुई तलाको हुनेछ । टिकट काउन्टरमा प्रेक्षालयसमेत बन्ने छ । यसका लागि सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद् जयकुमार राईले ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेका छन् । जुन बजेट फ्रिज उन्मुख रहेको छ । त्यसैमा डीपीआरको काम हुने अपेक्षा गरिएको छ ।

त्यसका लागि कलाकार विक्रमश्रिसँग आइतबार सम्झौता पनि भइसकेको नाटक घर निर्माण उपभोक्ता समितिका अध्यक्ष एमव् कलाकार प्रेम सुब्बा बताउँछन् । ‘डीपीआरको कामहरू अगाडि बढाउनका लागि सम्झौता भएको छ, डीपीआर बनाएपछि मात्रै प्रोसेस अगाडि बढ्छ’–उनले भने ।

dharan_savhagriha_natak_ghar (1)

नाटक घर बन्न लागेकाे भूमि । तस्बिरः भाेजराज

धरान उपमहानगरपालिको चैत २० गते बसेको कार्यपालिकाको ‘कोरोना भाइरस सम्बन्धी बैठक’ मा नाटक घरको विषयमा वडाध्यक्षहरूले प्रस्ताव गरेका थिए । प्रस्तावलाई कार्यपालिकाको बैठकले पारित गर्दै निर्णयसमेत गरेको थियो । मेयर तिलक राई पनि यस विषयमा गम्भीर बन्दै कलाकारहरूको लागि नाटक घर बन्नुपर्छ भन्नेमा आशावादी भएकै कारणले निर्णयमा पुगेको थियो । ‘कार्यपालिकाको बैठकमा निर्णय नै भएको छ’–एक वडाध्यक्षले फोन सम्पर्कमा भने, ‘यो विषयमा मेयर तिलक राई एकदमै आस्वास्त हुनुभयो ।’

त्यसो त दिवङ्गत नगर प्रमुख तारा सुब्बाले पनि सभागृहको आसपासमा २ कठ्ठा जमिन दिने भनेर कलाकारहरूलाई आश्वासन दिएका थिए भने पार्टीको बैठकमा पनि प्रस्ताव लिएर गएका थिए । तर, अचानक उनी दिवङ्गत बनेपछि नाटक घरको सपना सपनामै सीमित बनेको थियो । सभागृहमा बनाउनु हुँदैन भन्ने पक्षमा नेकपाका नेता तथा कार्यकर्ताहरू नै उभिएका थिए । कतिपय नेता तथा कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा नै लेखेर विरोध गरेका थिए । अहिले पनि नेकपाको पार्टी तहमा यस विषयमा खासै चर्चा भएको छैन ।