कालाबञ्जार । नयाँ वर्षको आगमनसँगै तराईमा थारु जातिले मनाउने सिरुवा पर्व यस वर्ष कोरोना भाइरसको उच्च जोखिमका कारणले पूजाअर्चनामै सीमित हुने भएको छ ।

मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषालगायतका जिल्लाहरूमा लाग्दै आएको सिरुवा पर्व यसपटक कोरोना भाइरसको उच्च जोखिममा कारण नलाग्ने भएको हो । तर, सम्बन्धित ग्राम थानहरूमा पूजाअर्चना भने गरिने ग्रामथानका पिताहरूले जनाएका छन् । अघिल्लो वर्षको रातको खानालाई भोलिपल्ट नयाँ वर्षको पहिलो दिन खाने र पोखरी तलाउमा पूजाआजा गरी मीठो परिकार खाने, सफा लुगा लगाउने तथा आफन्त इष्टमित्रकहाँ गएर आर्शीवाद थाप्नु सिरुवाको विशेषता हो ।

सिरुवा पर्वको बेला थारू समुदायले आफ्नो घरको भित्ताहरू कोहबरले सिङ्गारिने गरिन्छ । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेका कारण पनि यस पटकको सिरुवा पर्व घरघरमै सीमित बन्न लागेको हो । विशेष गरी ग्रामथान (डिहबार) मा पूजाअर्चना गरी सिरुवा पर्व मनाउने परम्परा रहेको छ । ग्रामथानमा गएर पूजाअर्चना गर्दा मनले इच्छाएको पूर्ति हुने विश्वास रहीआएको छ । मनोकामना प्राप्तिका लागि भाकल चढाउने र ढोगमुर गर्ने संस्कारअनुसार सिरुवा पर्वको अवसरमा ग्रामथानमा मेला लाग्ने गर्दछ । यसपटक भने विधिवत पूजाआजा मात्रै गरिने ग्रामथानका पिताहरू बताउँछन् ।

झुम्का एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृति थारूका अनुसार प्रकृतिपूजक थारु जातिको हरेक गाउँमा सिराथान लगयात ग्रामथानमा पूजाआजा गर्दै आइरहेको चलन हालसम्म पनि रहेको नयाँ वर्षमा आफ्ना परिवारको सुख, शान्ति तथा समृद्धिको लागि परिवारको जेठो सदस्य तथा मान्यजनसँग आर्शीवाद लिने चलनलाई जुड शितल भनिन्छ ।

सिरुवा पर्व प्रत्येक साल वैशाख १ गते मनाउने गरिन्छ । जुन दिनलाई जुडसितल भनिन्छ । वैशाख संक्रान्ति पनि भनिने चलन छ । यस दिन सूर्य मेष राशिमा प्रवेश गर्दछ । चैत, वैशाख हावाहुण्डरीको महिना भएकारले आगलागीको सम्भावनालाई मध्यनजर गर्दै घरको छानोमा जल छर्किने गरिएको छ । जलसहित मान्यजनसँग आर्शीवाद लिनाले शरीरमा रोगव्याध नलाग्नुका साथै वर्षभरि उन्नति, प्रगति हुने जनविश्वास रही आएको वराहक्षेत्र–५ का पन्नालाल चौधरीले बताए ।

थारू, मैथली, मधेशी समुदायले आ–आफनै तरिकाले सिरुवा तथा जुड शितल पर्व मनाउने गर्दछन् । सिर् धातुमा उवा प्रत्यय जोडेर सिरुवा व्युत्पत्ति हुन्छ । सिरको अर्थ सुरु उवाको अर्थ साल भन्ने लाग्छ । यस दिन थारू राजा अशुंवर्माको समयमा विक्रम संवत सुरु गरिएको थारू विद्वान् छविलाल चौधरीले बताए ।