धरान । बाल्यकालमा यो पनि गर्न मन लाग्छ, त्यो पनि । के गर्ने भन्ने निश्चितता हुँदैन । तर, केही यस्ता बालकहरू पनि हुन्छन्, जसकाे दिलदिमागमा एउटै कुराले घर गरिरहन्छ । उनीहरू त्यसैमा तल्लिन हुन्छन् । अन्ततः जीवनको ‘पैया’ पनि त्यसैबाट चल्छ । सायद, यस्ता बालकहरूमध्ये कै थिए, चित्रकार महेन्द्र राई ।

mahendra_rai_water_color_art (2)

मोरङको साविक डाँगीहाट–१ (हाल बेलबारी–१०) का उनी आम बालकमध्ये मै पर्थे । आम बालकले बाल्यकालमा के गर्छन् त्यो तपाईं पनि जानिफकार नै हुनुहुन्छ । मन स्थिर हुँदैन । यो देख्दा पनि त्यो देख्दा पनि मन भुलिन्छ । हरदम खेल्ने वस्तुसँग झुण्डिन मन लाग्छ । तर, महेन्द्र राई उनीहरूभन्दा अलग थिए । उनको बाल मस्तिष्कमा हरेक क्षण चित्र बनाउने भूत सवार हुन्थ्यो । नयाँ कुरा देख्यो कि त्यसैको दुरुस्त चित्र बनाउनै पथ्र्यो । बनाउँथे पनि । उनलाई राम्रोसँग याद छैन चित्रकारिता सुरु गरेको वर्ष । तर, यति याद छ, ३ कक्षामा हुँदादेखि नै चित्रप्रति लगाव बस्यो ।

र, सुरु भयो बेगवान यात्रा, जीवनको अन्त कालसम्म । जीवनका चार दशक कुची र क्यानभासमै आफ्ना हातहरू दौडाइरहेका छन् । परिवार यसैबाट चलेको छ । जीवन चलेको छ । डाँगीहाटको त्यो सामुदायिक स्कुल, श्री धीरनाथ समफूल विश्वास मावि । कक्षा–१ देखि एसएलसीसम्म त्यही स्कुलमा शिक्षा आर्जन गरे । त्यही स्कुलबाटै चित्रकारितामा लगाव बस्यो । शिक्षक, गुरुवर्गले पनि उनको कलाकारिताको सम्मान गरिरहे । जसका कारण आज उनी यो स्थामा छन् । स्कुलमा हुने हरेकजसो ‘कम्पिटिसन’ मा कुनै न कुनै पुरस्कारको भागीदार बनिरहे । ‘कुनै दिन खालि हात फर्किनु परेन, फस्ट वा दोस्रो त भएकै हुन्थे’–उनले भने ।

mahendra_rai_artist_dharan_2

जस्तोसुकै फोटोलाई पनि दुरुस्तै बनाउन सक्ने खुबी उनमा थियो । त्यो बेला शिक्षकहरूले गरेको मायाको उपज ठान्छन्, हालको स्थितिलाई । २०५४ सालमा एसएलसी दिएपछि उनी आर्ट कलेजमा भर्ना हुने रहरले धरान आए । काकाको घर थियो । यहाँ आएपछि शुरेस लिम्बूले खोजेको नुक्सा ग्यालेरीमा केही समय क्लास लिए । जसले गर्दा उनलाई काठमाडौंमा ‘इन्ट्रान्स’ दिन सहज बन्यो । झण्डै ३ सय हाराहारीमा भिडन्त गरेकोमध्ये ४५ भित्र पर्न सफल भए । ‘कलेजले ४५ जनासम्मलाई मात्रै लिन्थ्यो, धरानमा नुक्सामा सिकेकोले इन्ट्रान्समा काम ग¥यो’–उनी भन्छन् ।

ती दिन खुसीमा सीमाहरू थिएनन् । आर्ट कलेज पढ्ने रहर बोकेर धरान छिरेको केटो धरानबाट काठमाडौंसम्म पुगे । दुई वर्ष लगावका साथ पढे । तर, युवा उमेर कहाँ मान्थ्यो र । कहिलेकाहीँ बरालिइहाल्थे । रोक्ने, छेक्ने कोही थिएन । सानो शहरबाट ठूलो शहरमा प्रवेश गर्दा हराएझैं उनी पनि काठमाडौंमा हराए । काठमाडौंको भीडभाडले युवा उमेरलाई तानिहाल्यो । प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरे । तर, स्नातकबाट अगाडि बढ्न सकेन । आम युवाहरूझैं उनको पढाइमा पनि ब्रेक लाग्यो । ब्रेक लाग्ने एउटै कारण बन्यो, त्यो हो अङ्ग्रेजी विषय । सामुदायिक पढेका विद्यार्थीका लागि अङ्ग्रेजी फलामको च्युरा सरह नै थियो । उनलाई पनि त्यही भइदियो ।

पढाइ अगाडि नबढेपछि अन्ततः काठमाडौंको भीडलाई छाड्न बाध्य बने । धरान आएपुगे, उही काकाको घरमा । धरान आएपछि उनको चिनजान कर्ण मास्के, प्रनोद दत्त, स्वयमप्रकाश श्रेष्ठजस्ता कलाकारसँग भयो । जसले उनको कलाकारिता थप तिखारियो । धरानको एउटा फोटो प्रदर्शनी । त्यही प्रदर्शनी नै कर्ण मास्के, स्वयमप्रकाश र प्रनोदजस्ता हस्तीसँग मिलनको सुअवसर । त्यही अवसरले नै धरानमा कलाकारितालाई थप माझ्ने मौका पाए । र, २०६० सालबाट नुक्सा ग्यालेरीका गुरु सुरेश लिम्बू र उनले मिलेर फाइन आर्ट ग्यालेरी खोले । जुन अहिले पनि चलिरहेको छ । यो ग्यालेरीले धरानमा नयाँ पुस्ता जन्मायो । जो अहिले राष्ट्रियस्तरमा पहिचान बनाएका छन् ।

mahendra_rai_water_color_art (1)

करिब २५ जति । जो युमाका नयाँ प्रोडक्ट हुन् । ‘सिकेका कुरा कसैलाई सिकाउनुपर्छ भन्ने लाग्यो, त्यसपछि नै युमा फाइन आर्ट एकेडेमी सुरु गरेको हुँ’–उनी भन्छन् । केही समय गुरु सुरेश लिम्बूले साथ दिए । तर, अन्ततः १८ महिनापछि उनले नै धान्न थाले । जो अहिलेसम्म चलिरहेको छ । यो एकेडेमीमार्फत अहिले ९ महिने आधारभूत तालिम र १ वर्षे एडभान्स तालिम चल्छ । बेसिकमा पेन्सिल स्केचदेखि वाटर कलर, पोस्टर कलरसम्म सिक्न पाइन्छ । एडभान्समा अमूर्त कला र कलरको ‘फिलिङ’ का बारेमा सिकाइन्छ । ‘आधुनिक कलाको बारेमा एडभान्समा सिकाइन्छ’–उनले भने ।

एकेडेमीका अलवा उनी धरानको युरेक आवासीय मावि र इटहरीको विश्वआदर्श कलेजमा चित्रकारिता पढाउँछन् । जसले दैनिक जीवन धान्न सहज बनाइरहेको छ । यही पेशाले उनलाई केही राष्ट्रिय स्तरका पुरस्कार पनि प्राप्त गरेका छन् । २०७० सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट पूर्वाञ्चलमा योगदान पु¥याएको भन्दै कदर पत्रले सम्मानित गरेको थियो । त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको ‘राष्ट्रिय कला प्रदर्शनी–२०७२’ मा पूर्वाञ्चल विशेष पुरस्कार प्राप्त गरेका थिए । त्यसो त, स–सना थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।

mahendra_rai_artist_dharan_1

अहिले लकडाउनको बेला पनि उनी हरेक दिनजसो ‘वाटर कलर’ का थुप्रै चित्रहरू बनाएर फेसबुकमा हालिरहेका छन् । लकडाउनमा पनि चित्रकारिता गरेरै दिनचर्या बिताइरहेका छन् । कुनै समय र अहिले चित्रकारिता गरेरै पनि खानलाउन पुग्ने अवस्था सिर्जना भएको मान्छन् उनी । भविष्यमा थप प्रगति हुनेमा उनी आशावादी छन् ।