याक्थुङहरू प्राचीन जातिहरू हुन् । उनीहरूको आफ्नै मौलिक धर्म संस्कार, परम्परा रीतिरिवाज रहेका छन् । उनीहरूले परम्परागत रूपमा मान्दै आएका यिनै मौलिक संस्कार संस्कृति र परम्पराहरूको समष्टी रूप नै “युमा धर्म” हो । उनीहरूको सभ्यताको उत्पत्तिको कथा धेरै पुरानो छ । समय गणना गर्न सकिँदैन । उनीहरूको सृष्टिकाल देखिको बसोवास क्षेत्र याक्थुङलाजे हो । याक्थुङ लाजे भन्नाले हाल दक्षिण एशियाली देश नेपाल र भारत भित्रको अरुण सप्तकोशी नदी पूर्व टिष्टा नदी पश्चिम, तिब्बत दक्षिण र पटना तथा बंगलादेश उत्तर पर्दछ । यो भूमिबाहेक नेपालको गण्डकी नदी पूर्व, टिष्टा नदीभन्दा पश्चिमको भूभागलाई पनि याक्थुङलाजे देश भनेको इतिहासमा पाइन्छ । अझ याक्थुङ साम्राज्यको कुरा गर्ने हो भने पूर्वमा वर्मा र पश्चिममा अफगानिस्तान अर्थात् मध्यपश्चिम एशिया तथा युरोपको सिमानासम्म पुग्नुपर्ने हुन्छ । उत्तरमा चीनको तिब्बत, सिचुवान र युनानसम्म पुग्नुपर्छ ।
दक्षिणमा भारत सहित श्रीलङ्कासम्म पुग्नुपर्दछ । तर, वर्तमान अवस्थामा आइपुग्दा याक्थुङहरू विभिन्न जाति उपजाति र संस्कृतिहरूमा विभक्त भइसकेका छन् । जो मुख्य रूपमा याक्थुङ लाजेमा बसोवास गरे उनीहरू मात्र याक्थुङ भएर बसिरहेका छन् । उनीहरूलाई पनि समय कालखण्डले विशेष गरेर आआफनो देशले जस्तै नेपालको याक्थुङलाजेमा बस्नेलाई “लिम्बू” र भारतको सिक्किममा बस्नेलाई “चोङ” भनिन्छ । ब्बितीहरूले पनि लिम्बूलाई “चोङ” भन्दछन् । तिब्बती इतिहासले पनि तिब्बतमा “चोङ” जातिको उल्लेख गर्दछ । भारतको आसाम लगायत अन्य भूभागमा “सुब्बा” जाति पनि भन्ने चलन रहेको छ । यसर्थ लिम्बू, चोङ र सुब्बा एउटै याक्थुङ जाति हुन् ।
याक्थुङलाजेमै याक्थुङ जातिको उत्पत्ति भएको मुन्धुमले बताउँछ । फक्ताङलुङ (कुम्भकर्ण) हिमाल आसपास उत्पत्ति भएको विश्वास गर्दछन् । उनीहरूको सभ्यता अर्थात् याक्थुङ भाषा, लिपि, संस्कार संस्कृति, धर्म, मुन्धुम आदिको विकास ताप्लेजुङको इम्वीरी याङथाङवा अर्थात् तमोर नदी आसपास भएको पाइन्छ । त्यसैले याक्थुङ सभ्यतालाई “ईम्वीरी याङथाङवा सभ्यता” पनि भनिन्छ । जुन तमोर नदीको उद्गमस्थल आसपासमा पर्दछ । मुन्धुम भनेको पूजा अनुष्ठान गर्ने परम्परागत विधि समेटिएको दस्तावेज हो । यसलाई धर्मशास्त्र भनिन्छ । यो मौखिक रूपमा तुतु तुम्याहाङ, माङदेम्वाहरू (फेदाङमा, साम्बा, येवा (येमा, साम्मुन्धुम, ओङसी आदि) हरूले बताउँछन् । पूजाआराधना गर्दा र अन्य धार्मिक कार्यगर्दा मुखाग्रै भन्ने चलन छ । अहिलेसम्म किताब पढेर पूजापाठ गर्ने चलन छैन । पछिल्लो समयमा नयाँपुस्ताको जानकारीका लागि मुन्धुम लिखित रूपमा प्रकाशित गर्न चाहेका र हुन पनि थालेका छन् ।
याक्थुङहरूको मुन्धुम अनुसार उनीहरूको उत्पती तागेरा निङवाफुमाङको आफनै दैवी सृष्टि पोरोक्मी यम्फामीमार्फत् उनै तागेरा निङवाफुमाङको सोच, आकार तथा निर्देशनमा गरिएको हो । उनै तागेरानिङवाफुमाङको छत्रछाँयामा पालन पोषण गर्दै स्थापित गरिएको हो । तागेरानिङवाफुमाङ अदृश्य तथा सर्वोच्च शक्तिको रूपमा मानिन्छन् । उनी सपनामा देखा पर्ने त कहिले मानवाकृतिको झलकमा देखा परेर ज्ञानगुनको कुरा सिकाउने गरेकाले उनलाई पोरोक्मी यम्फामीले “युमाए” भनेर सम्बोधन गर्दथे । उनै युमाको रूपमा आफ्ना मानव सन्तानहरूलाई रेखदेख गर्ने, ज्ञानगुन, सिप सिकाउने, स्वावलम्बी बनाउने कार्य हुन थाल्यो । त्यसैले उनीहरूलाई “माङसा” पनि भनियो । माङसा भनेको माङ (भगवान) को सन्तान हो । जब मानवहरू बढेर जान थाले तब मानववाटै नियन्त्रणको काम गर्न सिकाइयो । सुरक्षाको जिम्मेवारी दिइयो । उसलाई “हाङ” (राजा) भनियो । तसर्थ हाङसा भनियो । अर्थात् राजाको सन्तान । त्यस्तै सवभन्दा पहिले यो माटो, पानी, हावावाट जन्माइएकोले “खाम्वोङवासा लुङवोङवासा” भनियो । अर्थात् ढुङ्गा माटोको सन्तान । समग्रमा भन्नु पर्दा माङसा हाङसा खाम्वोङवासा लुङवोङवासा याङथुङसा भनेर पनि याक्थुङहरूलाई भनिन्छ ।
सृष्टिकालीन अवस्थामा याक्थुङहरूले जीवनको बाटोमा धेरै दुख कष्टहरूको सामना गर्नुप¥यो । उनीहरूलाई सामान्य ज्ञान तथा चेतना मात्र थियो । अझ पहिलो स्त्री मानव मुजिङना मुयङनाले त पहिलो अनुभव गरेको र तागेरानिङवाफुमाङले हरहमेसा सहयोग गरेको वर्णन मुन्धुमले गर्दछ । मानव जातिमा दुख बिमार हुँदा अदृश्य शक्ति तागेरानिङवाफुमाङलाई सम्झन्थे । उनलाई युमाको रूपमा पुकार्दथे । उनले दुख कष्ट हरण गर्थे । अज्ञान भएर अन्धकार भएको बेला ज्ञानको उज्यालो ज्योति दिन्थे । तसर्थ याक्थुङहरूले आफ्नो सृष्टिकर्तालाई सम्मान गर्न थाले । क्रमशः याक्थुङहरूको जनसङ्ख्या बढ्दै गयो । समस्याहरू बढ्दै गए । सबैको समाधान तागेरानिङवाफुमाङबाटै हुन्थे ।
तसर्थ उनीहरूले तागेरानिङवाफुमाङलाई आदरपूर्वक मान्न थाले । वास्तवमा तागेरा निङवाफुमाङ मेन्निमाङ मेन्दामाङ थिए अर्थात् निराकार र अदृश्य शक्ति थिए । उनलाई देखिदैनथ्यो तर उनलाई पुकारिन्थ्यो । पुकारे मुताविक फल पाइन्थ्यो । तागेरानिङवाफुमाङ अदृश्य शक्ति हँुदाहँुदै पनि मानवचोलालाई विभिन्न ज्ञानगुन सिप, विचारको कुरा सिकाएर जीवन र जगत चलाउने सवालमा आफै सिकून् भनेर आकृति झलकको रूपमा आएको विश्वास गरिन्छ । त्यस्तै मानवचोलामा तागेरानिङवाफुमाङले आफ्नो आत्मा प्रकट गराएर फेदाङमा, साम्वाहरू संवाहकको रूपमा धर्तीमा पठाए । युमा थुक्माहरू पठाए । ओङसीको रूपमा आए, पठाए । उनीहरूको भूमिका तागेरानिङवाफुमाङ र साधारण मानव याक्थुङहरू बिचमा पुलको रूपमा काम गर्नु थियो र उनीहरू सोही अनुरूप काम गर्दथे । तागेरानिङवाफुमाङ माथि आकाशमा सवभन्दा माथि कतै कुनै स्वच्छ सुन्दर झकिझकाउ ठाउँमा बस्छन् भन्ने कल्पना रहेको छ । सोही ठाउँबाट तल धर्तीमा झरेर आएकाले “युःमा” भन्न थालिएको पाइन्छ । युमा पहिलो पटक “मुना तेम्वे” भन्ने ठाउँमा आएको मुन्धुमले वर्णन गर्दछ । तर, हाल यो ठाउँ कहाँ हो यकिन गर्न सकिएको छैन । युमा बेला बेला आउने जाने विश्वास गरिन्छ ।
तसर्थ याक्थुङहरूले युमालाई तागेरानिङवाफुमाङको पर्यायवाचीको रूपमा मान्दै युमा माङ भन्न थाले । तसर्थ याक्थुङहरू तागेरानिङवाफुमाङ र युमा माङकै वरिपरि घुम्न थाले । उनीहरू तगेरानिङवाफुमाङलाई तागेरानिङवाफुमाङ पनि भनेर पुकार्नुको साथै युमा माङ पनि भन्ने गर्दछन् । यसरी सृष्टिकालदेखि नै याक्थुङ जातिले तागेरानिङवाफुमाङलाई युमा माङको रूपमा मान्दै आफ्नो प्रमुख कुलदेवीको रूपमा मान्न थाले । युमा स्त्रीको रूपमा सपना तथा विपनामा देखा पर्ने र आकृति वा झलकमा पनि विहान बालिका (भर्खरकी केटी), दिउँसो वयस्क (तरुनी) र बेलुका बुढी (बजु) स्त्रीको रूपमा देखापर्ने हुनाले स्त्री दैविक शक्तिको रूपमा परिभाषित गर्न थाले । युमाको रूपवाट उनले धेरै ज्ञान गुन सिकाइन् । खान लाउन, पालन पोषण, घर गृहस्थी गर्न, जीवन र जगत्को बारेमा ज्ञान दिइन् । जीवन जिउने बाटाहरू सिकाइन् । त्यसैलाई धारणा गरेर याक्थुङहरूले युमा माङलाई सर्वोच्च ईश्वरको रूपमा मान्दै, घर रक्षकको रूपमा हिमसाम्माङको रूपमा मान्दै, उनको धार्मिक दर्शनलाई मान्दै युमा धर्मको रूपमा मान्दै आएका हुन् ।
आत्मा ध्यानी ज्ञानी व्यक्तिको रूपमा प्रकट
तागेरानिङवाफुमाङ निराकार, निरन्तर, अदृश्य तथा अलौकिक शक्तिको रूपमा रहेकाले आप्mना सन्तानहरूको जीवनचर्यामा विभिन्न व्यक्तिको शरीरमा प्रवेश गरेर काम गरेको मानिन्छ । उनी धेरै देउदेउताको रूपमा प्रकट भएर पनि आएका छन् भने धेरै मानव चोलाहरूमा आएको विश्वास गरिन्छ । उनको आत्मा प्रवेश गरेर आउने मुख्य व्यक्तिहरूमा येहाङ, सोधुङगेन लेप्मुहाङ हुन् । उनीहरू देवतुल्य थिए । उनीहरूको भूमिका याक्थुङ समुदायमा उल्लेख्य छ । उनीहरू माङ भगवानकै समकक्षी हुन् । तर, उनीहरूलाई माङ भनिदैन ओङसीको रूपमा मानिन्छ । याक्थुङ समुदायमा मानव चोलामा आएका व्यक्तित्वहरूलाई माङ (भगवान) भन्ने चलन छैन । माङहरू झल्कारा मात्र दिन्छन् र अलौकिक शक्तियुक्त हुन्छन् भन्ने जनविश्वास रहेको छ । याक्थुङ समाजका रीतीरिवाजहरू अधिकांश येहाङको सिद्धान्त अनुसार रहेका छन् भने पूजा अनुष्ठानमा बारम्बार सोधुङगेन लेप्मुहाङको प्रसङ्ग आउँछ । तागेरानिङवाफुमाङको आत्मा प्रकट भएका अन्य महान् व्यक्तिहरुमा सुनु युमा, नामहाङ, कान्देनहाङ, मावोहाङहरू थिए । सुनु युमालाई सुयेन्नु सुनुहाङमा पनि भनिन्छ ।
उनलाई सिन्युकेनी तुम हाङमा पनि भनिन्छ । मुन्धुम अनुसार उनले सिन्युक लाजे (चिन) को साम्राज्ञीको रुपमा पनि राज्य गरेकी थिइन् । उनले नै युमा धर्मलाई प्राचीन कालमा सारा संसारभर फैलाएकी थिइन् । नामहाङ र कान्देनहाङले पनि युमा धर्मको व्यापक प्रचार प्रसार गरेका थिए । येहाङ, सोधुङगेन लेप्मुहाङ, नामहाङ, कान्देनहाङ, मावोहाङहरूलाई सम्मानसाथ मुन्धुमले मुहिमगुम ओङसी भन्दछ । उनीहरू समय समयमा शताब्दीयौंको अन्तरालमा यस धर्तीमा आएका हुन् । उनीहरू याक्थुङ समाजको विग्रह र विसङ्गति बढ्दै जाने क्रममा आएका हुन् । उनीहरूलाई तागेरानिङवाफुमाङले पठाएको विश्वास गरिन्छ । जब जब याक्थुङ समाजमा समस्या पर्न थाल्छ तब तब तागेरानिङवाफुमाङले आफनो दैविक शक्ति प्रयोग गरेर मानिसको भ्रुणमा प्रवेश गरेर आउने विश्वास रहेको छ ।
युमा मुन्धुमअनुसार पछिल्लो समयमा तागेरानिङवाफुमाङ ख्याती प्राप्त मावोहाङ राजाको शरीरमा प्रवेश गरेकी थिए । माबोहाङ यासोकलाई राजधानी बनाएर बसेका याकथुङलाजेको राजा थिए । उनले यासोकको जङ्गलमा शिकार खेल्न जाने क्रममा एक दिन अनकन्टार जङ्गलमा परम सुन्दरी सूर्यमुखी फुलजस्तो सुनको फूलको गहना लगाएर बसेकी भेटेका थिए । यस्तो अनकन्टार जङ्गलमा एक्ली परमसुन्दरी भेटेकोमा आश्चर्य चकित हुँदै यो कुनै दैवी शक्तिको लीला सम्झेर ससम्मान हजुर को हुनुहुन्छ जानकारी पाउन पाए हुन्थ्यो भनेर सोधेका थिए । उक्त परम सुन्दरीले म समय आएपछि आफै जानकारी गराउनेछु भन्दै अन्तध्र्यान भएकी थिइन् । त्यसपछि घर आइपुगेपछि एकाएक मावोहाङको आत्मामा माङको आत्मा प्रवेश भएर मावोहाङको मार्फत् बकेकी थिइन् । जब युमाले थुक्मा गर्छिन् अन्य जातिको मानिसहरू पनि याक्थुङ पान ( लिम्बू भाषा) मा पूजा अनुष्ठान गर्दछन् या बक्न थाल्दछन् । यो एउटा अचम्मको कुरा पनि रहेको छ भने वैज्ञानिक अनुसन्धान हुन बाँकी रहेको छ ।
पछिल्लो समय अर्थात् बिसौं शदाव्दीको मध्यतिर पनि याक्थुङ लाजेको ईम्वीरी याङथाङवा मापाङफेका नाम्साङओती नामक तवेवुङ थरी याक्थुङ लिम्बूले युमा दर्शन पाएका थिए । उनले एक पटक बाटोमा गरगहनाले सुसज्जित याक्थुङ लिम्बू परम सुन्दरी तरुनी भेटेका थिए । उनीहरूको परिचय हुँदै विहे गर्ने कुरा भएको थियो । याकथुङ समुदायमा भेटघाटमा ससम्मान अविवाहितले जहाँ भेटे पनि मन परापर भयो भने विहेको प्रस्ताव राख्न सक्छ र घरमा ल्याई विहे गर्ने चलन छ । नाम्साङओती तवेवुङले पनि सोही अनुसार प्रस्ताव राखेका थिए । उनीहरू सहमतिमै बाटोमा सँगै आए । तर, घर आएपछि परम सुन्दरी हराइन् । उनको खोजीकार्य भयो । तर, क्षणभरमै नाम्साङओतीको शरीर काम्न थाल्यो । उनमा युमा माङ चढेर बक्न थाले । वास्तवमा ती परम सुन्दरी युमाको आत्मा रहिछन् । त्यसपछि नाम्साङओती युमाको आराधना गरेर बसी सामान्य अवस्थामा फर्किए । उनको चर्तीकलाको मुन्धुम निकै लामो रहेको छ । तवेवुङ याक्थुङ वंशमा उहाँभन्दा पहिले पनि छेछेतीवाला युमा थुक्माहरू थिए । वर्तमान घडीमा पनि लछीमाया तुम्वाहाङफे तवेवुङ, चन्द्र तवेवुङ आदि युमा थुक्मा रहेका छन् । त्यस्तै गरेर अन्य याक्थुङ वंशहरूमा वर्तमान अवस्थासम्म आइपुग्दा पनि तागेरानिङवाफुमाङ अर्थात् युमा कुनै कुनै व्यक्तिको शरीरमा प्रवेश गरेर आइरहेका छन् । उनीहरूलाई युमा अर्थात् युमा थुक्मा नै पनि भनिन्छ । युमा थुक्माहरू अन्य जातिहरूमा पनि रहेका छन् ।
युमाको रूपमा दृषित झलकहरू
मुन्धुम अनुसार पृथ्वीमाथि ९ र मुनि ९ गरि १८ देन (तह) हरू रहेका छन् । तीमध्ये सबैभन्दा माथि आकाशमाथिको स्वर्गीय स्थान सांग्राङ पेदाङमा तागेरानिङवाफुमाङ विराजमान हुन्छन् भन्ने विश्वास गरिन्छ । उनले त्यहाँबाट सबैतिर दृष्टि लगाउँछिन् । घुमिरहने ग्रहहरुको अवलोकन गर्छिन् । यी सबै ग्रहहरू तारा मण्डलहरू उनकै शक्तिमा अडेर एकापसमा अन्तरनिहित रहेका छन् भनिन्छ ।
तागेरानिङवाफुमाङ जतिखेर सम्झयो उतिखेर जताततैबाट आइपुगी हाल्छन् । त्यसैले उनलाई तागेरानिङवाफङु भनियो । उनलाई मानिसको “मन” को रूपमा पनि तुलना गर्न सकिन्छ । तर अदृष्य तथा अलौकिक शक्तिको रूपमा । तागेरानिङवाफुमाङ आफ्नो सन्तानहरूलाई जीवन जिउने ज्ञान गुन सिप कला सिकाउन पहिलो पल्ट मानव सृष्टिको पहिलो भूमि मुना तेम्वे (मुना मैदान) मा झरे । त्यहाँ मानव जातिले पहिचान गरे । त्यसपछि सिन्युक लाजे (चिन) पुगे । त्यहाँ सिन्युकेनी महारानी भएर चिनिए । मुदेन लाजे तिब्बत पुगेर लासाहाङमा भनेर पुकारिए । तेमेन लाजे (भारत) पुगेर काशीहाङमा भनेर चिनिए । याक्थुङ लाजे लिम्बुवान, खम्बु लाजे खम्बुवान आदि ठाउँहरूमा घुमफिर गरिरहे ।
याक्थुङ लाजेमा येत्चीरी येत्वादो (सप्तकोशी), ईम्वीरी याङथाङवा (तमोर नदी)को बाटो, छथर, यासोक, सिङधोलुङ माईवा तमोर दोभान त्रिवेणी, केत्तकुम मिक्वा दोभान, साँवानेवा, तप्मा, नाम्लाङ, नाङगे, मुक्कुमलुङ, लिङिखम, फुरुम्वु, खेजेनिम, ईखावु, लेलेप, वलाङचुङ, फक्ताङलुङ शिखर पुगेर उत्तर तिब्बत चीन घुमेको पाइन्छ । उनी सिन्धोलुङ माईवा, मेन्छयायाम, केत्तकुम मिक्वा, यभतलुङ फावा, मुगाङलीङ काङवा आदि नदी र खोलाको वहावक्षेत्र तथा वरक पोखरीहरूमा भ्रमण गर्दा आफ्नो साथमा तान बुन्ने सामान बोक्ने गरेको र तान बुनेको झलक दिने गरेके अनेक श्रुतिहरू छन् । उनले ईम्वीरी याङथाङवाको लिङखीममा तान बुनेको, यासोकमा गरगहनाले सज्जित भएर देखा परेका कथाहरू छन् । यासोकमा थाकथाकुम मावोहाङमा भनेर चिनिए । खस भाषीहरूले यासोकेनी महारानी भनेर सम्बोधन गरे । छथरको थाक्केलुङमा पनि देखा परे । उनले जे जे गरे याकथुङहरूले अनुशरण गरे । याक्थुङहरूमा अझै पनि तान बुन्ने कला र सुनको फूललगायतका कलात्मक गरगहनाहरूको कला र सौख उत्तिकै रहेको छ । उनै युमाले अन्नवाली ल्याई बिजारोपण गर्न, उत्पादन गर्न पकाएर खान सिकाएकाले युमालाई चढाएर मात्र खाने चलन रहेको छ ।
युमाको स्थान र दार्शनिक पक्षहरू
याक्थुङ समाजमा युमाको स्थान अति उच्च रहेको छ । तागेरानिङवाफुमाङलाई सर्वोच्च शक्ति मानिन्छ भने उनै सर्वोच्च शक्तिको झल्कारा आकृतिमा अवतरित रूप युमा भएकाले उनलाई नै सर्वोच्च देवी पनि भनिन्छ । तागेरा निङवाफुमाङको एक मुख्य रूप भएकोले उनको भूमिका प्रमुख रूपमा रहेको छ । याक्थुङ समाजमा धेरै देवदेवीहरू हुन्छन् र पूजा र अनुष्ठान गर्ने विधि पनि धेरै हुन्छन् । जुनसुकै पूजा आराधानामा पनि युमालाई पहिले पूजा गरिन्छ । युमालाई आग्रह गरिन्छ, जानकारी गराइन्छ अनि युमासँग बल शक्ति मागिन्छ ।
युमालाई घरको एक सफा स्वच्छ ठाउँमा एउटा कलश, एउटा दियो बाली हिमसाम्माङको रूपमा पूजा सेवा गरिन्छ । यो प्रत्येक घर परिवारले गर्ने गर्दछन् । उनको सेवा गरेवापत् फल पाइने विश्वास रहेको छ । उनलाई वर्षमा संभव भए एकपल्ट माछाका जिउँदो भुराहरू, मौरीको चाकाले फेदाङमाहरूद्वारा पूजा गरिन्छ । पूजापछि माछाका भुराहरू पानीमा नै फर्काइन्छ । युमाको धेरै दार्शनिक पक्षहरू रहेका छन् । उनले नै तागेरानिङवाफुमाङको विभिन्न रूपमा ब्रह्माण्डको सृष्टि गरे । पोरोक्मी यम्फामीको रूपमा मानव सृष्टि गरे । एकापसमा अन्तरसम्बन्धले जोडे । मानवविहीन हुँदा धर्ती नसुहाएपछि धर्तीलाई संरक्षण गर्ने हेतुले मानव सृष्टि गरेको मुन्धुममा वर्णन गरिएको छ ।
मानव सृष्टिको क्रममा पोरोक्मी यम्फामीले ‘थुक्क मरिजा’ भनेकोले मानिस मरणशील भएको र ‘थुक्क’ नभन्नु भन्ने भनाइ याक्थुङ समाजमा रहेको हो । सृिष्टकै क्रममा हिरा मोती सुनचाँदीले बनाउँदा नबोल्ने र खरानी लेउ मिश्रित शीत पानीले भिजेको लेसलेसे हिलो माटोले बनाएको चाहिँ बोल्दा “थुक्क मरिजा” भनेकाले शीर ढलेकाले तागेरानिङवाफुमाङको निर्देशन अनुसार मर्चा बनाउने औषधिको रस खुवाउँदै माङगेना गरी शीर उठाइएको थियो । तसर्थ याक्थुङहरूमा जन्मने बितिक्कैको नानीलाई जाँडको रस खुवाउने चलन रहेको हो भने माङगेना गरी शीर उठाउने चलन रहेको छ । सृष्टिकालमा खरानी माटोबाट निर्मित मानव मूर्तिलाई माटो या धर्तीभित्र राखी घाम जूनको उदय समयमा निकालिएको थियो । त्यसैले धर्तीलाई माता भनिएको हो र मर्दा पनि अब धर्तीमै मिसिन पुग्यौँ, घाम जुनको छोराछोरी (लारे कुस्सा नामरे कुस्सा ) हौँ, अब उतै जान्छौं या गयांै, हरायौं है भन्ने चलन चलाएको हो ।
आत्मा चाहिँ कहिल्यै नमर्ने र तागेरानिङवाफुमाङको नियन्त्रणमा थेवासाम (पूर्खाहरू) सँग रहनेछ र शरीर मात्र धर्तीमै मिलेर माटो भएर धर्तीको आयु बढाउनेछ भनिएको हो । युुमाले नै लुगा कपडाको लागि तान बुनेको झल्कारा दिएर बुन्न सिकाएको र गरगहना लगाउन सिकाएका हो । समाज नियन्त्रण गर्न हाङको प्रणाली स्थापना गरिदिएको हो । शिक्षाका लागि निसाम्माङ, युद्ध शक्तिको रूपमा नाहाङमा तथा थेवा साम्माङको रूपमा आएको विश्वास गरिन्छ । समाज सञ्चालनको लागि तुम्म्याङहाङ प्रणालीको ज्ञान दिएर अन्याय अत्याचार, व्यभिचारीहरूलाई उचित माङ दण्ड लाग्ने, लाराङ सेरीले हान्ने निनित बसालेको मानिन्छ । वन जङ्गलको शान्त वातावरण धमिल्याउने, अनावश्यक हल्ला गर्नेहरूलाई ताङफुङनाको रूपमा आएर डर देखाउने पनि गरेको कतिपय कथा छ । कतिपय सवालमा काप्पोवा साम्माङ, दुङदुङगे साम्माङ लगायत साम्माङहरू र च्याङहरूको रूपमा आउने उनै हुन् भन्ने विश्वास रहेको छ । उनी सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता सबै हुन् भन्ने विश्वास रहेको छ ।
तम्वर थुम र मिक्वा थुमतिर गर्ने माङगेना अनुष्ठानमा आउने मुन्धुङगेहाङ, सान्धुङगेहाङ, लाप्सोहाङ, फेदेन्मीहाङ, हाङयुङवा, हाङसेङवा, थाप्मीया, मुरेगन लगायत धेरैजनामा युमा थुक्मा गराएर समाज सञ्चालन गरेको उल्लेख रहेको छ । त्यस्तै मुनाहाङ अर्थात् मुककेगुवाहाङलाई पनि युमाले थुक्मा गरेको मुन्धुम रहेको छ । उनी युमाको शक्तिले उडीउडी युद्ध गर्दथे भनी मुन्धुमले व्याख्या गर्दछ । युमा स्त्री चरित्र भएक सर्वोच्च, सर्वज्ञ सृष्टिकर्ता हुन् । उनकै वरिपरि रहेर अन्य माङहरूको पनि आराधाना गरिन्छ । भोगवलीरहित युमाको पूजा आराधना गरिन्छ । याक्थुङको केही सांस्कृतिक पक्षहरूमा मात्र भोगवली गरिन्छ । भोगवली दिँदा पनि आत्मा कहिल्यै नमर्ने हुनाले आत्मा मात्रै तागेरानिङवाफुमाङले राख्ने हुनाले उनलाई जानकारी गराउनु पर्ने भनिएकोले दिने चलन छ । शरीर माटोबाट बनिएकाले आत्मा र शरीर छुटिने विश्वास रहेको छ । युमा साम्योको महŒवपूर्ण पक्ष भनेको हिलीङ शक्ति अर्थात् विराम निको हुने शक्ति पनि हो । जब बिरामी परेको बेला युमाको पूजा आराधना गरिन्छ तब निको होइन्छ । युमा बाहेक उनकै प्रतिनिधि पात्रहरूलाई पनि पुकारिन्छ र निको हुने विश्वास रहेको छ । घरमै युमाको वास हुने हुनाले घर आँगन सफा राख्नुपर्छ । सफा खानुपर्छ र सफा हुनुपर्छ । सरसफाइ गरेर युमाको कलश राख्नुपर्छ । सेवा आराधना गर्नुपर्छ । नत्र युमा रिसाएर दुख बिमार गराउँछ भन्ने विश्वास छ, जुन मनोवैज्ञानिक तथा व्यावहारिक छ ।
युमा साम्योमा माङसँग सम्वाद गर्न सक्ने प्रतिनिधि पात्रहरू फेदाङमा, साम्वा, येवा, येमा, युमा थुक्माहरूको आवश्यकता हुन्छ । अर्को पक्ष तुम्म्याङहाङ अनिवार्य चाहिन्छ । तुम्म्याङहाङ विना कुनै पूजा अनुष्ठान, सामाजिक तथा सांस्कृतिक कार्य हुँदैन । मानव जीवनको जीवन चक्रमा शुरुको गर्भको भ्रुण अवस्थामा भ्रुण र आमाको स्वास्थ्यको लागि साप्पोक चमेन पूजा गरिन्छ । जसले गर्दा नानी र आमाको स्वास्थ्य राम्रो हुने विश्वास गरिन्छ । जन्मेपछि याङदाङ फोङमा (नाम राख्ने) काम हुन्छ । यसमा बच्चाहरूलाई आकाश देखाउने चलन छ । घरभित्र बाहिर गरिन्छ । कोक्रोमा हालिन्छ । वयस्क भएपछि मेत्खिम (विवाह) गरिन्छ ।
सृष्टिकालमा तागेरानिङवाफुमाङलाई आफ्नो मालिक सुहाङफेवा र मालिक्नी लाहादोङनाले यौन सम्पर्क गर्दा कुकुरले देखेकाले कुचोले खुट्टा भाँचुन्जेल कुटेपछि तागेरानिङवाफुमाङलाई पोल खोलिदिएपछि हाडनातामा विवाह गर्न नहुने नियम तागेरानिङवाफुमाङवाट बनाइदिएको हो । साथै यौन क्रीडा गरेको देखेकोले किन हेरिस् भनेर लाहादोङनाले कुकुरनीलाई सराप दिएर अबदेखि तिमीहरूको यौनक्रीडा सबैले देखून् भनेकाले कुकुरको अप्ठेरो यौन क्रीडा सार्वजनिक रूपमा सबैले देख्ने गरी भएका हुन् भन्ने रहेको छ । त्यस्तै कुचोले कुकुरलाई नकुट्नु भनिएको हो ।
विवाह गर्ने बितिकै याक्थुङ छोरी सम्पूर्ण रूपमा अर्को परिवारमा गइसकेको हँुदैन । जबसम्म घरजम हुन्छ भन्ने विश्वास हुन्छ तबबाट मात्र साईमुन्द्री विधिबाट केटाको पक्षमा गइन्छ । यद्यपि थर परिवर्तन हुँदैन । साईमुन्द्री नफुकाईकन मरे भने काज किरिया माइती पक्षले गर्नुपर्दछ । छोराछोरी पनि मावली पक्षले हेर्ने चलन छ । युमा धर्ममा घरको माङहरू छोरीसँगै जाने विश्वास छ । यो वंशानुगत आफै सर्दै जाने गर्दछ । युमा दर्शन तथा याक्थुङ समाजमा महिलाको स्थान उच्च रहेको छ । घरमूलीको स्वास्थ्य र शक्तिको लागि नाहाङमा पूजा गरिन्छ ।
अर्को अर्थमा तागेरा निङवाफुमा भनेको प्रकृति पनि हो र प्राकृतिक शक्ति विद्यमान रहेको विश्वास छ र प्राकृतिक शक्तिको पनि पूजा आराधना गरिन्छ । अर्थात् हिमाल, पहाड, खोला आदिमा पनि युमा माङको वास विभिन्न रूपमा रहेको विश्वास गरिन्छ । मृत्यु पछि अन्त्येष्टी र पछि साम्सामा, मिक्वा साङमा र तङसिङ गरिन्छ । यो तङसिङ याक्थुङ समुदायको लामो अनुष्ठान हो । पहिले सात राते नौ राते देखि १५ राते सम्म तङसिङ गर्ने चलन रहेको थियो । अहिले तीन राते र एक राते प्रकारको तङसिङ गरिन्छ । मृत्यु सम्बन्धमा सिलाम साक्माको प्रयोग गरिन्छ । जुन याक्थुङ समुदायको एक मुख्य चिन्ह हो । कलश पनि अर्को चिन्ह हो । याक्थुङ समुदाय न्याय निसाप गर्दा कसम खाँदा दुबो र ढुङ्गाको प्रयोग गर्छन् ।
ढुङ्गाको प्रयोग व्यापक छ । चुलाको प्रयोग, चिहान माथि ठड्याएर राख्ने, दाजुभाइ छुट्टिँदा, हाङ शक्तिको लागि प्रयोग गरिन्छ । पूजाआजामा अस्थायी माङहरूको प्रतीक पनि ढुङ्गै राखिन्छ । स्थायी प्रकृतिको माङथानहरूमा पनि ढुङ्गाको प्रयोग गरिन्छ । माङहिमहरू (सम्भावित पर्यायवाची शब्द(मठमन्दिर) हँुदैन । पूजा अनुष्ठानमा नाम्योवा तितेपाती, केराको पात, बाँस र घुङग्रीङको जरुरत पर्दछ । यी चीजहरू घर वरिपरि रोप्ने चलन छ । यसले वातावरण सन्तुलन कायम राख्ने गर्दछ ।
धर्म शास्त्रको रूपमा मुन्धुम रहेको छ । यसको कण्ठस्थ वर्णन माङदेम्वाहरूले गर्ने गर्छन् । जुन याक्थुङ पानमा (लिम्बू भाषामा) हुन्छ । साधारण बोलिचालीको भन्दा उच्च शालिन र सभ्य भाषामा मुन्धुमी शब्दहरूको प्रयोग हुने गर्छ । युमा दर्शनमा समाजमा नकारात्मक भन्दा पनि बढी सकारात्मक कुराहरूलाई प्रोत्साहित गर्ने कुराहरू रहेका छन् । हत्या हिंसा, व्यभिचार अन्याय अत्याचार, छलकपट गरेमा माङ दण्ड पाइन्छ । संसारको सबै प्राणीहरू, सजीव निर्जीव वस्तुहरू एकापसमा अन्तरसम्बन्धित हुन्छन् । सबैलाई माया गर, दया गर, स्वच्छन्द भएर बाँच र बचाउ । सबैको समानुपातिक प्रयोग गर, समान व्यवहार गर, मानव जाति बाँच्नको लागि प्रकृतिको आवश्यकता छ । प्रकृतिको दोहन नगर, विनाश नगर, प्राकृतिक कुराहरू जोगाउ भन्ने छ । अग्लो ठाउँमा पूजाआजा गर, जङ्गलको, खोलाको पूजा गर, रक्षा गर ।
नत्र पहिरो आउँछ, बाढी आउछ, विपक्ति आउछ, भूकम्प आउँछ दुख पाइन्छ । प्रकृतिलाई दुख दिए उसले पनि दुख दिन्छ । क्रिया गरे प्रतिक्रिया आउँछ । जनावरलाई चलाए उसले पनि आक्रमण गर्छ । उसलाई माया गरे ऊ पनि साथी हुन्छ । रुखलाई माया गरे शितलतासँगै घाँस, पात दिन्छ, हावा, फलफूल, दाउरा प्राण दिन्छ । माया नगरे पहिरो दिन्छ । मानिस मानिस बिचमा पनि राम्रो व्यवहार गर, आफुले राम्रो गरे अरूले पनि राम्रो गर्छ । सम्मान गरे सम्मान पाइन्छ । अपमान गरे अपमान पाइन्छ । लोभ नगर । क्रोध नदेखाउ । दया गर, शरणमा आएकालाई शरण देउ । सबैलाई समान नजरले हेर । आमा बावुहरु माङ समान हुन् । उनीहरूलाई सम्मान गर । पूर्खाहरूलाई सम्मान गर । पूर्खा विना कोही आएका होइनन् र मर्दा पनि आत्मा पूर्खाहरूसँगै बस्ने हुन् । आत्मा नमारी खाउ । यस्ता धेरै दार्शनिक पक्षहरू युमा धर्म र दर्शनमा निहित छन् ।