अभियान सन्दर्भ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकता प्रक्रिया मातहतका तल्ला कमिटीसम्म आएसँगै त्यही कमिटीको व्यवस्थापनमा नेकपाले ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’ मूल उद्घोषका साथ आसन्न २०७६ चैत्र १ गतेदेखि लागु हुने गरी ३ महिने राष्ट्रव्यापी अभियान सञ्चालन गर्न लागेको छ ।
‘समृद्ध नेपाल र सुखी नेपालीको आधार ः सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ अभियानको मूल नाराअन्तर्गत चल्ने यो अभियान २०७७ असार मसान्तसम्म सम्पन्न हुनेछ । यसैको राजनीतिक वैचारिक प्रकाश र यसले ल्याउने सम्भावित ऊर्जाभित्र रहेर अहिले यतिखेर विभिन्न प्रदेश र मातहतका जिल्ला कमिटीहरूले आफ्नो भौगौलिक वस्तुस्थिति र राजनीतिक परिस्थितिको अनुकुलतामा कसरी यसलाई कार्यान्वयनमा ल्याउने र प्रभावकारी बनाउने योजना र तदनुकूल कार्यतालिका निर्माणमा व्यस्त देखिन्छन् । यो अभियानले नेकपालाई राजनीतिक वैचारिक हिसाबले सुदृढ पार्टी र समाजवाद उन्मुख राज्यको जग बसाल्ने ध्याउन्नमा समृद्ध मुलुक निर्माणमा ऊर्जा पैदा गर्ने नै छ ।
अभियानको राजनीतिक पक्ष
नेपालको राष्ट्रियता, बामप्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, समाजवाद उन्मुख संवैधानिक व्यवस्था र समावेशीय सुशासनका मूलभूत मूल्य–मान्यता र आजको आवश्यकतालाई सिद्धान्ततः एक ठाउँमा राखेर यसको मापन गर्नु अपरिहार्य भएको छ । जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादका बीचको फ्युजन कहाँनेर र कुन कारणले ? भयो । व्यापक जनताको उपस्थितिमा फैसाला गर्दै अघि बढ्नका लागि यो अभियानले आधार सिर्जना गर्ने छ र नेकपाको राजनीतिक वैचारिक सहीपना देखाउनेछ । यसका लागि अभियान आफैमा अत्यन्तै राम्रो र एउटा सुखद क्षण हो ।
यसबीचमा तमाम नेता कार्यकर्ताले अलवम्बन गरेको कम्युनिष्ट आचरण, विचरण, क्रान्तिकारिता, शैली, स्वभाव, दिनचर्या आदिका क्षेत्रमा नयाँ जोगीले प्रारम्भिक दिनहरूमा जति नै खरानी घसे पनि दीर्घकालीन महŒवका हिसाबले उसको अनुहार सर्लक्कै देखिन्छ÷छुटिन्छ । अभियान यो तहसम्म पुग्नैपर्छ ।
एकातिर नेकपाले आफ्नो राजकीय उपस्थिति र भूमिकाको प्रभावकारितामार्फत् नेपाली राजनीतिमा समाजवादका आधारशीला तयार गर्नुपर्नेछ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्णतः सफलतापूर्वक कार्यान्वयनमा आएको नामेट गोरेटो कोर्नु छ भने अर्कोतिर पार्टीको आन्तरिक जीवनमा उत्पन्न पराकम्पनलाई ठहरावको अवस्थामा अवतरण गराउनुपर्नेछ । पछिल्लो बेलामा सचिवालय निर्णयका आडमा संविधानमाथिको ठाडो हस्तक्षेप गर्ने प्रयास र राजनीतिक कित्ताबन्दी राजनीतिक निष्ठा बोकेका आम कार्यकर्तालाई बिल्कुलै मन परेको छैन ।
पार्टीभित्र पार्टीको राजनीतिक वैचारिक कार्यदिशा र कार्यक्रमका हिसाबले यसको मियो बन्न नसक्ने, बनेको मियो अथवा थाङ्ग्रो वरिपरि लहरिने पछिल्लो तरिका नेकपा शुभचिन्तकजनलाई समेत मन परेको छैन । अभियानले यसलाई निमिट्यान्न पार्न सक्नुपर्छ । संस्कृतमा एउटा श्लोक छ ।
मूर्खोऽपि शोभते तावत् सभायां वस्त्रवेष्टितः । तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते । अर्थात्, यसले भन्छ– ‘शुरुमा त राम्रा कपडा लगाएको मूर्ख पनि पण्डितहरूको सभामा शोभायमान हुन्छ । तर, त्यतिबेलासम्म मात्रै त्यो सुहाउँछ जबसम्म ऊ केही बोल्दैन ।’ गणितीय हिसाबले हेर्दा आशातीत हाम्रो अवस्था हलक्क उठ्न सकेको छैन । तथापि, हामी नेकपाजन अहिले नै धेरै पक्व परेका छौँ, गमक्क गम्किएका छौँ ।
नगण्य अपवादहबाहेक हामी नेता कार्यकर्ताको दैनन्दिन व्यवहार र कार्यशैलीमा ठूलो परिवर्तन आएको छ । राजनीतिक स्वरूप र संरचनाका हिसावले मात्र होइन, मानवश्रम सिर्जित क्षेत्र र श्रमबजारमा समेत ठूलो फेरबदल आएको छ । आममानिसमा कुनै न कुनै खालको विलासिता बढेको छ । शासकीय मान्यताले हामीलाई श्रीपेच ओढाउँदै आएको छ । कम्युनिष्ट भन्न नसुहाउने गरी नेतृत्वशैली बिग्रिएको छ । यस्ता कतिपय क्षेत्रमा अविलम्ब सुधारको खाँचो छ । ओभानो र न्यानो खोज्दै गएको आजको कम्युनिष्ट नेतृत्व र कार्यकर्ताले श्रमिक, कृषक, गरिब र असहायको निकटता तस्बिर लिनका लागि मात्र होइन, सधैँभरि उसको सर्वोपरि हितका पक्षमा उभ्याउन सक्नुपर्छ ।
बाहिरफेर आएजस्तो यो अभियानले नेकपाका नेता कार्यकर्ताले मात्र जागिर खाने गरेको, ठेक्कापट्टा लिने गरेको, ठेक्कापट्टा नलिए सरकारका संयन्त्र मातहात बसेर विभिन्न योजनाको उपभोक्ता समितिको कार्यकारी प्रमुख हुने गरेको र संयन्त्रमार्फत् अनुचित फाइदा लिने गरेको जनगुनासोलाई यथास्थानमा व्यवस्थापन गरिनुपर्छ । अन्यथा, स्थानीय ‘योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ’ भन्ने कुरा तलसम्म पु¥याउनुपर्छ । विलासिताको सपना बाँडेर होइन, चुनौतीको चाङ उधिन्न तयार आजको युवालाई उर्वर उत्साहका साथ खटाउन र चलाउन सक्ने उर्जा र उर्वरकता अभिवृद्धि गर्न जरुरी छ । अभियानमार्फत् युवामा राष्ट्रप्रेमको रक्तसञ्चार आवश्यक छ ।
अभियान आचरण
साँचो अर्थमा साथी वा सहयात्री भनेको चाहिँ कम्युनिष्ट हो भन्ने मान्यता क्रमशः खण्डित हुँदै गएको छ । सर्वसाधारण आम मानिसमाझ अर्को एउटा उस्तै प्रकृतिको मानिसले कहिल्यै शोषण गर्नु हुँदैन, शोषण भएको अवस्था पाए यसको चर्को स्वरमा विरोध गर्नुपर्छ भन्ने मान्यताको अभावमा अहिले कम्युनिष्ट हुनुको पहिलो परिचय पनि गुम्दै गएको छ । यसको प्रतिस्थान हुन आवश्यक छ । नेकपाका कमिटीहरू त बने, पार्टी सङ्गठित सदस्यहरू बनेनन् । यसबेला एकता प्रक्रियामा जारी छ भनेर बुझ्न आवश्यक छ । यो जारी एकता प्रक्रियामा सबै पार्टी सदस्यहरू इमान्दार हुन आवश्यक छ । यसले मात्र सिद्धान्त, क्रान्ति, रणनीति, कार्यनीति, पार्टी, विधान, जनता र आफैप्रति विश्वास पलाउँदै जान्छ । अपवादबाहेक अहिले देशमा तीनवटै तहमा ‘कम्युनिष्ट’ पार्टीको सरकार छ । सरकार र यसले लिएका काम कारवाहीप्रति जनताको मोह अभिवृद्धि गराउनुपर्नेछ ।
समस्याग्रस्त क्षेत्र
कुनै न कुनै कारणले निषेधित राजनीतिक मनोविज्ञान सिर्जना भएको छ । फरक फरक स्कुलिङबाट हुर्केका दुई राजनीतिक पार्टीहरू स्थानीय निर्वाचनताका फरक फरक व्यानरमुनि थिए । रणनीतिक महŒवका हिसाबले पनि निर्वाचनका लागि आ(आफ्नै तयारीहरू थिए । एकले अर्कालाई हराउनु निर्वाचनको फैसाला हो भन्ने प्रशस्तै बुझेका थिए । यो बेला एमालेजनले हामीलाई हराएको भनेर माओवादी केन्द्रले चित्त दुःखाउने र माओवादीजनका कारण हामीलाई हराएको हो भनेर एमालेजनले कटुता साँध्ने क्रममा छ । भावनात्मक अन्तरघुलनको अभावमा प्रकट यो एकखालको जटिल समस्या हो । यसले विनाश ल्याइरहेको छ ।
निर्बाध र निशर्त हार्दिकता अभावमा कतिपय राजनीतिक सन्दर्भ विशेष र स्थल विशेषमा त प्रतिशोध अहिले पनि शत्रुतापूर्ण अन्तरसम्बन्ध हो कि भन्ने आभास दिने खालको छ । यत्रतत्र प्रतिस्पर्धी मनोविज्ञान क्रियाशील छ । यो स्वभाविक हो र हुनुपर्छ पनि । दुई फरक पात्रबीच राजनीतिक वैचारिक योग्यतामा आधारित प्रतिस्पर्धा स्वाभाविक हुन्छ र हुनुपर्छ । राजनीतिक वैचारिक प्रतिवाद गर्ने सामथ्र्य नभएपछि एकले अर्को राजनीतिक सहधर्मीलाई खुइल्याउन मर्यादाभन्दा बाहिरको सहारा लिने, उसको राजनीतिक चरित्रहत्या गर्ने तहसम्म पुगेको देखिन्छ ।
चरित्रहत्या र मानमर्दनको अभिष्टताले पनि धीत नमरेपछि आफ्नै सहकर्मी, सहधर्मीको भौतिक अवशानको तहसम्म पु¥याइदिने क्रुद्ध र पाशविक योजनाको पराकाष्ठा सिनेमाको पर्दाझैँ घरी उघ्रने र घरि खुल्ने गरेको छ । यसले नेकपाजनलाई कहाँ पु¥याउँछ ? यसलाई छिमल्न जरुरी छ । नत्र, यो सबै खालको अभिव्यक्ति कम्युनिष्ट आन्दोलन, वर्गसङ्घर्ष, वर्गचरित्र र वर्गमुक्तिको सैद्धान्तिक आडभित्र हराएको कमरेडलीपन र परस्परमा रमाएको दूरी र अविश्वासपूर्ण मौनता पदाशक्तिका लागि फगत मजाकसिवाय केही होइन । कार्यकर्ताको एउटा शालीन पङ्क्तिलाई बाह्यशत्रुबाट भन्दा पनि आन्तरिक जीवनकाल आफ्नैबाट बच्न गाह्रो बनेको छ । यसमा अभिलम्ब सुधार ल्याउन र व्यवहारतः कमरेडलीपन प्रतिस्थापन गर्न जरुरी छ ।
सहकार्य/समन्वय
युगीन राजनीतिक अभिभारालाई पूरा गर्ने क्रममा नेपालको कम्युनिष्ट आन्दोलन यतिखेर कि त राजकीय कित्ताबन्दीमा छ, कि त राजनीतिक कित्ताबन्दीमा छ । पूर्ववत् व्यानरका हिसाबले पार्टीभित्र राजनीतिक कित्ताबन्दी छ भने राजकीय अवसरलाई सदुपयोग गर्ने लोभका हिसाबले पार्टी सरकार र सरकार सञ्चालनका क्रममा छ । कतिपय ठाउँमा राजकीयशैली अलिक ठाँटिलो भएको प्रश्न उठ्ने गर्छ । यो ठाँटबाँट व्यवहारतः वस्तुगत र तर्कसङ्गत छैन । सिंहदरबारको शाहवंशीय प्रवृत्ति घरघरमा आएको ढङ्गले बेलामौकामा आलोचना समेत हुने गरेको छ ।
जनप्रतिनिधि आफूसम्बद्ध राजनीतिक व्यानरप्रति वास्ता गर्दैन, बरु लुरुलुरु र खुरुखरु अदालत र अख्तियार धाइरहेको हुन्छ । फलतः कम्युनिष्ट आचरण, चिन्तन र व्यवहारबीच दुइटा भिन्न भिन्न अवस्था विकास भएको पाइन्छ । यो आफैमा एउटा अराजनीतिक कित्ताबन्दीको अवस्था हो । यो दुवै अवस्था आज बृहत्तर ढङ्गले सङ्गठित हुँदै गएको नेपाली कम्युनिष्ट आन्दोलनका लागि घातक हो । यसले वर्तमानको उज्यालोलाई पनि भविष्यको कालो अँध्यारो सुरुङभित्र कोच्दै छ र इतिहासको गर्भभित्र उत्तराधिकारीले सत्तोसराप गर्ने दिशामा लैजाँदै छ ।
जनसरोकारका प्रत्यक्ष परोक्ष क्षेत्रहरू कोरोनालगायतका रोगहरूको सङ्क्रमण, सार्वजनिक शिक्षालय, शिक्षाको गुणस्तर सुधार, प्रकृति प्रदत्त वस्तुको न्यायोचित बाँडफाँड, घनावन तथा पर्यावरण, जलाशय क्षेत्रको समोचित प्रयोग र मानव निर्मित वस्तुहरूमा समान पहुँचका विषयहरू नीतिगत रूपमा अध्ययन अध्यापनका विषय बनिनुपर्छ । निजी सम्पत्ति भएजस्तो प्राप्त पावर, पद, प्रतिष्ठाको पहुँच एकले अर्कालाई सक्ने हतियारको विषय बन्दै आएको छ । अब यसलाई उपरोक्त विषयगत विधाहरू भएको कार्यक्षेत्रभित्र खर्चनुपर्छ ।
अभियान उपसंहार
पार्टीको आन्तरिक काम, सदस्यता नवीकरण, यसको अद्यावधिक अभिलेखीकरण, कार्यालय व्यवस्थापनका अतिरिक्त अधिकांश स्थानीय पार्टी कमिटीका हकमा आजको नेकपा निर्माणको सैद्धान्तिक जग, राजनीतिक वैचारिक सुस्पष्टताको अवस्था, यसको रणनीतिक, कार्यनीतिक र कार्यक्रमिक पक्षउपर सघन अध्ययन आवश्यक छ भने हिजोका जीवनदर्शनमा आधारित समग्र सङ्गठनात्मक काम, कामको व्यवस्थापन र कार्यान्वयनको पक्षलाई जीवनप्रदायी स्रोतका रूपमा हुर्काउन बढाउन उत्तिकै आवश्यक छ ।
नेकपा सरकारमा सामेल मात्र छैन, सरकारको नेतृत्व समेत गर्दै आएको छ । संविधानतः अपवादबाहेक अधिकांश ठाउँमा तीनवटै सरकारको नेतृत्व नेकपाले गरेको छ । सङ्घीय सरकारले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको परिकल्पना गरेको छ । राष्ट्रिय आकाङ्क्षाको विषय बनेको सुखी नेपाली र समृद्ध नेपाल निर्माणको कोर्सभित्र आममानिसले आफ्नो उज्ज्वल भविष्यको चित्र कोर्दै छ । यसको पूर्णता र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक परिवर्तनपछि व्यवस्थापन हुनेक्रममा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेकपाको वर्तमान नेतृत्वको सरकारको सफलता र असफलताको अग्निपरीक्षा हुनेछ । नेकपाजन यस परीक्षामा ग्रेड माक्र्ससहित पास हुनुपर्नेछ । अभियानले यसतर्फ प्रशस्तै ध्यान पु¥याउनेछ, धेरै धेरै शुभकामना ।