ऐतिहासिक पृष्ठभूमि
सन् १९१७ मा तत्कालीन सोभियतसङ्घमा समाजवादी क्रान्ति सम्पन्न भयो त्यसपछि विश्वमा समाजवाद सम्बन्धी बहस प्रारम्भ गरियो । यसले सामन्तवादी र पुँजीवादी अर्थराजनीतिक गुरुत्वकेन्द्रमा घुमिरहेको समाजमा नितान्त नयाँ समाजवादी तरङ्ग सृजना ग¥यो । संसारैभरि सङ्गठित शक्तिको महसुस हुन थाल्यो । परिणाम स्वरूप जताततै कम्युनिष्ट वा परिवर्तन चाहने प्रगतिशील संस्थाहरू स्थापना भए । यही सिलसिलामा १९२० मा सोभियतसङ्घकै स्वायत्त राज्य तुर्कमेनीस्तानको राजधानी तासकन्दमा भारतीय कम्युनिष्ट पार्टीको स्थापना गरियो । यो संसारकै जेठो कम्युनिष्ट पार्टीहरूमध्येको एक हो । यसले स्थापना कालदेखि नै धेरै उतारचढावहरूको सामना गर्दै आएकोछ ।

१९४७ मा भारत स्वतन्त्र भयो । तर, प्रजातान्त्रिक सरकारले पनि कम्युनिष्टहरूलाई दमन गर्ने नीति लियो । किनकी सत्तारुढ दल काङ्ग्रेस आइको सोभियतसङ्घसँग राम्रो सम्बन्ध थियो । सोभियतसङ्घले सरकार प्रति नरम बन्नु भनेर भाकपालाई निर्देश समेत ग¥यो । त्यसपछि संसदीय चुनावमा भाग लिने र नलिने मत मतान्तर हुनथाल्यो । यता चीन र सोभियतसङ्घको महाविवाद शुरु भयो । जसले भाकपालाई पनि विभाजित ग¥यो । एउटाले चीन र अर्कोले सोभियत लाइनलाई समर्थन ग¥यो । यसपछि वामपन्थी र दक्षिणपन्थीबीच कित्ताकाट भयो । परिणाम स्वरूप १९६४ भाकपा फुट्यो । भाकपाले सुधारवादी लाइन लिएको भन्दै भाकपा माक्र्सवादी गठन गरियो । तर, यसले पनि विस्तारै खुल्ला हुँदै चुनावी कार्यदिशा अपनायो । आज त्यही भाकपा माक्र्सवादी संसदीय चुनावी राजनीतिमा छ । अर्कोतिर १९६७ मा भाकपा माक्र्सवादीको सुधारवादी रुझान विरुद्ध क्रान्तिकारी कम्युनिष्टहरूको अखिल भारतीय समन्वय समिति गठन गरियो । यही समिति १९६९ मा भाकपा माले बन्यो ।

कम्युनिष्ट पार्टीको स्थापना
भारतमा पनि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोध कहाली लाग्दो थियो । सार्वभौमतः यस्तो अन्तरविरोध भएको समाजमा कम्युनिष्ट पार्टी गठन अपरिहार्य हुन्छ । यही मेसोमा भारतमा पनि १९२० मा विदेशी भूमिमा कम्युनिष्ट पार्टीको स्थापना गरियो । तर, आधिकारिक रूपमा भने १९२५ मा कानपुरमा आयोजित अधिवेशनमा भाकपाको घोषणा गरियो । तत्कालीन बेलायती शासकले सबै कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो । मूलतः कम्युनिष्ट भनेको देशभक्त हुन्छन् । यसकारण बेलायतले कम्युनिष्टहरू प्रति अझ कडा नीति लियो । उसले पेशावर, लाहोर र कानपुरमा षडयन्त्र, दमन र गैर–न्यायिक धरपकड ग¥यो । अर्कोतिर पार्टीभित्र आन्तरिक समस्या पनि थियो । १९२० देखि १९३० सम्म कम्युनिष्ट सङ्गठन नेतृत्व विवादको कारण राम्रोसँग सुचारु हुन सकेन । जो साना साना समूहहरूमा विभाजित थियो ।

स्वतन्त्रता पछिको परिवेशमा भाकपाले आन्दोलनलाई तिव्रता दियो । उसले तेलङ्गना, त्रिपुरा र केरलामा सशस्त्र किसान आन्दोलन ग¥यो । किसान मुक्ति, भूमिसुधार र ट्रेड युनियन अधिकारको मुद्दा अघि सार्दै सबै उत्पीडित र विभेदमा पारिएकाहरूलाई सङ्गठित गरेको थियो । कपडा मजदुर, बैङ्क कर्मचारी र असङ्गठित कामदारहरूलाई सङ्गठित गर्न सफल पनि भएको थियो । १९५२ र १९५७ को आम निर्वाचनमा प्रमुख विपक्षी दल बन्यो । तर, चीन र सोभियतसङ्घ बिच महान् बहस शुरु भएपछि भाकपामा पनि दुईलाइन सङ्घर्ष आरम्भ भयो । १९६४ मा भाकपाबाट फुटेर भाकपा माक्र्सवादी गठन भयो । माक्र्सवादीले भाकपालाई वर्गसमन्वय र सुधारवादमा फसेको भन्दै विरोध ग¥यो । यद्यपि यता माक्र्सवादी समूहमा पनि दुईलाइन देखा प¥यो । वामपन्थीले कलकत्तामा र दक्षिणपन्थीले मुम्मइमा सातौं अधिवेशन गरे । दक्षिणपन्थीले सोभियत र वामपन्थीले चिनियाँ लाइन लिए । जुनबेला वामपन्थीहरूले ‘माओ जिन्दावाद’ सम्मको नारा पनि लगाए ।

यसरी भाकपा र भाकपा माक्र्सवादी अनि माक्र्सवादीका बिचमा पनि वामपन्थी र दक्षिणपन्थी कित्ताकाट भइरहेको बेला पश्चिम बंगालमा १९६७ मा अर्को क्रान्तिकारी समूहको जन्म भयो । यसलाई क्रान्तिकारी कम्युनिष्टहरूको अखिल भारतीय समन्वय समिति नामकरण गरियो । यसैको नेतृत्वमा नक्शलवादी सशस्त्र विद्रोह पनि भयो । यो चिनियाँ क्रान्तिबाट प्रभावित थियो । यसलाई भाकपा माक्र्सवादी अन्तर्गतका हार्डलाइनरहरूले भारतीय क्रान्तिको झिल्को भनेर संज्ञा दिए । यही समन्वय समिति नै १९६९ मा भाकपा माले बन्यो । भाकपा माक्र्सवादी र नक्शलवादीबीच वैचारिक द्वन्दको अवस्था सृजना भयो । तर, सरकारले नक्शलवादी आन्दोलनलाई नराम्ररी दबायो । ७० को दशकमा भाकपा माले दर्जनौं सासाना नक्शल समूहहरूमा विभाजित भयो । १९७५ मा माओवादी कम्युनिष्ट केन्द्र, १९८० मा पिपल्स् वार ग्रुप र १९९५ मा भाकपा माले, (पार्टी एकता) स्थापना भयो । यसले लामो समय छापामार सङ्घर्ष सञ्चालन ग¥यो । यता भाकपा मालेले भने चुनावी राजनीति अङ्गीकार ग¥यो । तब आज माले नगन्य सिट सङ्ख्यासहित लोकसभामा उपस्थिति जनाइरहेको छ ।

वामपन्थ र दक्षिणपन्थ
भाकपाको स्थापनासँगै दुईलाइन सङ्घर्ष शुरु भएको थियो । उनीहरूका बिचमा विचारधारात्मक दृष्टिकोण, नेतृत्व र कार्यशैलीका कारण मतभेद रह्यो । अक्टोबर समाजवादी क्रान्तिको प्रभावमा नै भाकपाको स्थापना भएको हुँदा यो सोभियत कम्युनिष्ट पार्टीद्वारा निर्देशित थियो । यता १९६४ मा भाकपा सोभियत लाइनमा अनि भाकपा माक्र्सवादी चिनियाँ लाइनमा लाग्यो अनि पार्टी फुट्यो । यद्यपि केही समयपछि माक्र्सवादीले पनि चिनियाँ लाइन छाड्यो । यसपछि माक्र्सवादी लगायतका कम्युनिष्ट पार्टीहरूले संसदीय चुनावी कार्यदिशा अपनाए । यसमा दर्जनौं कम्युनिष्ट पार्टीहरू सामेल भए । यता क्रान्तिकारी कम्युनिष्टहरूको अखिल भारतीय समन्वय समिति, भाकपा माले, माओवादी कम्युनिष्ट केन्द्र, पिपल्ज वार ग्रुप र भाकपा माले, (पार्टी एकता) मिलेर भाकपा माओवादीको गठन गरियो । यसले क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको छ । अर्थात् भारतीय कम्युनिष्ट पार्टी चरम दक्षिणपन्थी अवसरवाद र वामपन्थी दुस्साहसवादमा फस्दै आएको छ । विचारधारात्मक विचलन, विसर्जन र उग्रवामपन्थी भड्कावहरू भाकपाको पर्याय नै बनिसकेका छन् ।

माओवादी आन्दोलन
भाकपाको इतिहासमा क्रान्तिकारी र सुधारवादी रुझान स्थापनादेखि नै थियो । विभिन्न रूप र आयाममा अभिव्यक्त भए पनि त्योे भाकपाको दुईलाइन सङ्घर्षको इतिहास थियो । यसबाट त्यहाँ एकातिर चुनावी कार्यदिशा अपनाएर जाने सुधारवादी कम्युनिष्ट र दीर्घकालीन जनयुद्धको नीतिमार्फत् पुरानो राज्यसत्ता उल्टाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने माओवादी बिचको दुइलाइन सङ्घर्ष जारी थियो । वास्तवमा माओवादी विगतदेखिकै क्रान्तिकारी र वामपन्थी लाइनको विकसित रूप हो । यो क्रान्तिकारी कम्युिनष्टिहरूको अखिल भारतीय समन्वय समिति हुँदै भाकपा माले, माओवादी कम्युनिष्ट केन्द्र, पिपल्ज वार ग्रुप र भाकपा माले, (पार्टी एकता) मिलेर २००४ मा स्थापना भएको भाकपा माओवादी हो । १९१४ मा भाकपा नक्शलवादी पनि माओवादीमा समाहित भयो । हाल माओवादीले भारतका विभिन्न स्थानहरूमा दीर्घकालीन जनयुद्ध लडिरहेको छ । वञ्चिती, उत्पीडन र विभेदमा पारिएका जनसमुदायहरूको माओवादी प्रति धेरै आकर्षण, आशा, अपेक्षा र विश्वास रहेको छ । हाल यस आन्दोलनको पकड र प्रभाव झण्डै डेढ दर्जन राज्यको १८० भन्दा बढी जिल्लाहरूमा रहेको छ ।

माओवादीको आधारभूत मार्गदर्शक सिद्धान्त मालेमावाद रहेको छ । यसले भारतीय सत्तालाई साम्राज्यवाद, दलालपुँजीवाद सामन्तहरूको गठजोड भनेर टिप्पणी गरेको छ । विशेष गरेर छत्तीसगढ, विहार, झारखण्ड, महाराष्ट्र, उडीसा र परिचम बंंगालमा माओवादी जनयुद्ध चलिरहेको छ । उनीहरूले झारखण्ड, आन्ध्रप्रदेश र विहारका दुर्गम एवं विकट सीमा क्षेत्रलाई विशेष क्रान्तिकारी क्षेत्र बनाएको पाइन्छ । यता अरुणाचल प्रदेश, आसाम, दिल्ली, गुजरात, हरियाणा, मध्यप्रदेश, पञ्जाब तामीलनाडु, त्रिपुरा, उत्तरा खण्ड र उत्तरप्रदेशमा पनि विचारधारात्मक प्रभाव रहेको छ । यसले विश्वव्यापीकरण, जनता माथि भइरहेको साम्राज्यवादी युद्ध, बजारवाद र जातीय प्रणालीको विरोध गर्दै आएको छ । माओवादीले जनसत्ता निर्माण गर्दै जनवादी राज्यसत्ता स्थापना गर्ने न्यूनतम राजनैतिक उद्देश्य लिएको छ । यसको नेकपा माओवादी, कम्पोसा, फिलिपिन्स, श्रीलङ्का र चिनियाँ कम्युनिष्ट पार्टीहरूसँग राम्रो सम्बन्ध रहेको छ ।

भाकपा माओवादीसँग १० हजारभन्दा बढी तालिम प्राप्त जनमुक्ति सेना र झण्डै ४० हजार जनमिलिसियाहरू छन् । यसले चिनियाँ र भियतनामी युद्ध रणनीति अपनाएको देखिन्छ । माओवादीले थुप्रै ठाउँमा जनसरकार पनि सञ्चालन गरेको छ, जहाँ सबैखाले सेवा सुविधाहरू उपलव्ध गराइरहेको छ । जनसरकार र जनअदालतहरू क्रियाशील रहेका छन् साथै कर पनि उठाइरहेकोछ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, आर्थिक, न्याय, सुरक्षा, जनसम्पर्क, संस्कृति र वनलगायतका विभागहरूले आआफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । उसले गुरिल्ला क्षेत्र र मुक्त क्षेत्र हुँदै शहर घेराबन्दी गर्ने नीति लिएको छ । यता हतियार र खरखजना धेरैजसो आफै उत्पादन गरिरहेको र बाँकी केही स्वदेशी उत्पादनबाटै पूर्ति गरिरहेको दाबी छ । तर, सरकारले भने चीन, म्यान्मार र बंगलादेशबाट ल्याइरहेको आरोप लगाएको छ । आर्थिक स्रोत व्यवस्थापनको लागि उनीहरूले खनिज साधन पनि उत्खनन गरिरहेका छन् । भारतीय सरकारले ग्रिनहण्ट लगायतका विभिन्न दमनकारी अपरेशनहज्ञ चलाइरहेको छ । हाल माओवादीका महासचिव नामवला केशव राव (वशमराज) हुन् । यसअघि गणपति महासचिव थिए ।

चुनावी पराजय
विगत दशकौंदेखि चुनाव लड्दै आएको भाकपाले २०१४ र २०१९ को आम निर्वाचनमा नराम्रो हार खाएको छ । १९८० मा एक्लै ३७ सिट, २००४ मा ४३ स्थान जितेको पार्टी २०१९ मा काङ्गे्रस नेतृत्वको एकीकृत प्रगतिशील मोर्चाको सहयोगमा लड्दा पनि केवल ३ सिटमा खुम्चिएको छ । भाकपा प्रतिको यो अविश्वास किन भन्ने सन्दर्भमा चौतर्फी चिन्ता र चासो व्यक्त भइरहेको छ । वस्तुतः कम्युनिष्ट पार्टीको लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति र गन्तव्य नै फरक हुन्छ । यो अन्य औसत संसदीय दलहरू भन्दा सारभूत रूपमै भिन्न हुन्छ । यसले हरेक वस्तु वा सत्ता ऐतिहासिक प्रक्रियामा विकास र रूपान्तरण हुन्छ भन्ने मान्यता राख्दछ । यसरी प्रक्रिया, उद्देश्य र त्यसलाई प्राप्त गर्ने पद्धति नै भिन्न भएपछि कार्यदिशा, कार्यनीति, कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण नै फरक हुनुपर्दछ । तर, भाकपाले न्यूनतम कम्युनिष्ट विधि र प्रक्रिया अपनाएन । उसको चरित्र औसत संसदवादी दलहरूको जस्तै देखिन्छ । अर्थात् नाम, लोगो र नारा मात्र कम्युनिष्ट काम र व्यवहार औसत दलहरूको भन्दा भिन्न छैन । तब जनतालाई अरू संसदवादी दलहरू भन्दा क्रान्तिकारी महसुस हुन सकेन । केवल औसत आश्वासन बाँड्ने काम विजेपी र काङ्ग्रेस आइले पनि गरिरहेकै छन् । तब संसदीय निर्वाचनमा वैधानिक भाकपाहरूको औचित्य रहेन । आफ्नो वर्गीय सिद्धान्त, विचार, दर्शन, मूल्य र आचरणबाट विचलित भएपछि जनताबाट टाढा भइन्छ जुन सार्वभौम नियम हो । यस्तो गलत रवैयाले आन्दोलन पूरै विसर्जन हुने सम्भावना जीवित रहन्छ ।

निष्कर्ष
भाकपाले धेरै आरोह अवरोहहरू गुजार्दै आएको देखिन्छ । यसमा स्थापनाकालदेखि नै विचारधारात्मक अन्तरविरोध थियो । यसले एउटा कित्ता वामपन्थी र अर्को कित्ता दक्षिणपन्थी हुन पुग्यो । चीन र सोभियतसङ्घ बिचको महाविवादले भारतीय कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पा¥यो । भाकपालगायतका दक्षिणपन्थी धाराले सोभियत कार्यदिशा र वामपन्थी धाराले चिनियाँ कार्यदिशाको वकालत गरे । अर्थात् भारतीय कम्युनिष्ट आन्दोलनमा एकातिर दक्षिणपन्थी सुधारवाद र अर्कोतिर वामपन्थी सङ्कीर्णतावाद देखाप¥यो । यी दुवै अतिवादी चिन्तन हुन् जसले क्रान्तिको सेवा गर्दैन । यही अतिवादी वैचारिक रवैयाले भारतीय कम्युनिष्ट आन्दोलन पर धकेलिरहेको जगजाहेरै छ ।

आज चुनावी कार्यदिशा लिएका कम्युनिष्ट पार्टीहरू सुधारवादी दलदलमा फसिरहेका छन् । भर्खरै सम्पन्न आम निर्वाचनको परिणामले काङ्ग्रेस विजेपीकै अन्तरवस्तु बोकेको समानान्तर पार्टीको भारतीय समाजमा औचित्य नरहेको पुष्टि गरेको छ । उता भाकपा माओवादी भने विगतदेखि नै उत्पीडित वर्गीय अधिनायकत्व सहितको जनवादी राज्यसत्ता स्थापनाको लागि जीवनमरणको सङ्घर्षमा छ । वस्तुतः माओवादीले क्रान्तिकारी धाराको नेतृत्व गरिरहेकोछ भने भाकपा माक्र्सवादीहरूले दक्षिणपन्थी सुधारवादको नेतृत्व गरिरहेका छन् । त्यसैले भारतमा कम्युनिष्ट क्रान्तिको कुरा गर्दा, दक्षिणपन्थी अवसरवाद नै मुख्य बाधक बनेको देखिन्छ । यता माओवादीको दीर्घकालीन जनयुद्धको रणनीतिलाई पनि चिनियाँ अन्धनक्कल भन्दा युग सापेक्ष विकास गर्दै समृद्ध गर्न जरुरी छ । तब मात्र कम्युनिष्ट आन्दोलनले रणनैतिक लक्ष्य चुम्नेछ ।