आफ्नो घरमा फोन थिएन, त्यसबेला । हुसाडेक नेपाल नामको गैह्रसरकारी संस्थामा फोन गरी मेरो सोधीखोजी भएछ । मैले प्रत्युत्तर फोन वार्ता गरेँ । एउटा सानो लेखनवृत्तिको परियोजना मलाई दिन लागिएको रहेछ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट ।
मेरो अनुमानअनुसार मुकुन्द कट्टेल दाइको सिफारिसमार्फत् त्यो परियोजना मलाई मिलेको थियो । मैले लेखनवृत्ति सहर्ष स्वीकार गरेँ ।
त्यो बेला बेरोजगार पनि थिएँ । एउटा सानो आवधिक रोजगारी प्राप्त भयो । तर, सबैभन्दा महŒवपूर्ण पक्ष चाहिँ देश र जनताको मुक्तिका लागि बलिदान हुने शहीदको बारेमा सोधीखोजी गर्ने अवसर थियो त्यो । यो अवसर बडो चुनौतीपूर्ण पनि भएर आफूसम्मुख उपस्थित थियो ।
पहिलो चुनौती वैचारिक थियो । म आफू सानैदेखि वामपन्थी विचार बोकेर विद्यार्थी कार्यकर्ता हुँदै पत्रकारिता पेशालाई समातेर हिडेको मान्छे । नेपाली काङ्ग्रेसको विचार बोकेर हिँडी शहादत प्राप्त गरेको परिवारमा छिरेर कसरी तथ्यहरू सङ्कलन गर्ने होला ? भनेर अलमल्ल परेँ । मिहिनेत गर्दै गएपछि यो चुनौती सजिलोसँग पार गरेँ । शहीदपुत्र मनोजनारायण श्रेष्ठले कुनै पनि वैचारिक पूर्वाग्रह नराखी ठूलो सहयोग गर्नुभयो । उहाँले सबैभन्दा पहिले आफ्ना शहीद बुवालाई मृत्युदण्ड दिने गरी गरेको तत्कालीन सर्वोेच्च अदालतको फैसलाको फोटोकपि मलाई थमाउनुभयो ।
यो मेरो थप चुनौती सामनाका लागि महŒवपूर्ण साधन बन्यो । उहाँले भन्नुभयो, बुवाको शहादत हुँदा हामी सानै थियौँ । त्यसमा पनि घरमा दिनदिनैको रुवावासी हुन्थ्यो । त्यसैले सबै तथ्यगत कुरा हामीसँग छैन । बरु काका वीरेन्द्रनारायण बुवाको शव बुझ्न जानुभएको थियो, उहाँलाई गएर भेट्नुस् न ।
शहीदपुत्रले दिएको सम्पर्कसूत्र खोज्दै म विराटनगर पुगेर वीरेन्द्रनारायण श्रेष्ठसँग लामो अन्तरवार्तामा जुटेँ । उहाँ भन्दै जानुहुन्थ्यो, लाग्थ्यो म आफै शहीद भीमनारायण श्रेष्ठको शव बुझ्न कोशी नदीको किनारतिर जाँदैछु ।
उहाँसँगको भेटपछि अब मैले तथ्यपूर्ण खोज अनुसन्धानका लागि थप व्यक्तिको सूची तयार पारेँ । त्यतिबेला भीमनारायणको बचाउका लागि वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ र गणेशराज शर्माले सर्वोच्च अदालतमा बहस गर्नुभएको थियो । उहाँहरूसँग भेट्नुपर्ने भयो । भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिइनुपर्ने भन्ने फैसला गर्ने सर्वोच्चका तत्कालीन न्यायाधीशहरू वासुदेव शर्मा र झपटसिंह रावललाई पनि भेट्नुपर्ने भयो । रावल चाहिँ बितिसक्नुभएको रहेछ । कोशी अञ्चलका तत्कालीन अञ्चलाधीश वीरेन्द्रबहादुर शाह र डीआईजी दुर्लभकुमार थापालाई पनि नभेटी नहुने भयो ।
२० वर्षअघिको प्रसङ्गको यस नोस्टाल्जियामा गुज्रँदा मेरो लागि काठमाडौं त्यसबेला भवसागर थियो भने यी तत्कालीन घटनासँग सम्बन्धित भीआईपीहरूसँगको पहुँच दुर्लभप्रायः । उनीहरूलाई कुनै पनि तवरले भेट्न त भेटौंला, तर भेट्दा पनि बोलिदिएनन् भने ? प्रश्न हाजिर थियो । तैपनि परियोजनाको जिम्मेवारी लिइसकेपछि पछि हट्नु पनि त भएन ।
इन्सेकले चार जना शहीदको विषयमा सोधीखोजीका लागि लेखनवृत्तिको परियोजना सञ्चालन गरेको थियो । त्यसमा रत्नकुमार बान्तवाको लागि विष्णु निष्ठुरी, सरोज कोइरालाका लागि धमेन्द्र झा, ऋषि देवकोटा ‘आजाद’का लागि लेखनाथ भण्डारी र भीमनारायण श्रेष्ठका लागि म छानिएको थिएँ । गजबको संयोग के भने माथि नाम लिइएका अग्रजमध्ये निष्ठुरी र झा नेपाल पत्रकार महासङ्घको अध्यक्ष हुनुभयो । झाको पालामा म केन्द्रीय सदस्यमा थिएँ । भण्डारीजीसँग मेरो राम्रो मित्रमिलाप थियो ।
जो बोल्नै मानेनन्
शहीद परिवारका सदस्यहरू, जोसँगको सहज पहुँचका कारण उहाँहरू नबोल्ने कुरै भएन । जेजति उहाँहरू बोल्नुभयो, त्यसको टिपोटको आधारमा घटना तथा मुद्दासँग सम्बन्धित व्यक्तिसँग भेटेर कुराकानी नगरी परियोजनाको लक्ष्य पूरा नहुने निश्चित थियो । तत्कालीन राजा वीरेन्द्र संवैधानिक राजाका रूपमा जीवितै थिए, जसको गाथगादी ताकेको अभियोग लागेर भीमनारायण श्रेष्ठ बलिमा चढ्नु परेको थियो ।
राजसंस्था पनि जीवितै रहेको अवस्थामा भीमनारायण श्रेष्ठविरुद्ध कारवाही र अदालती फैसला गर्ने तत्कालीन तालुकदारहरू घटनासँग सम्बन्धित विषयमा नखुलिदेलान् वा नबोलिदेलान् भन्ने ठूलो चिन्ता मनमा बोकेर तथा उत्साहलाई नमारीकन म सम्बन्धित विषयको सोधीखोजीका लागि धनकुटाबाट विराटनगर र त्यसपछि काठमाडौं पुगेँ ।
भीमनारायण श्रेष्ठ राजाको गाथगादी ताक्ने अभियोगमा मुछिँदा कोशी अञ्चलका तत्कालीन अञ्चलाधीश रजौटा खान्दानका ‘लबराजा’ भन्ने वीरेन्द्रबहादुर शाह थिए । बडो मुस्किलले उनको घरको फोन नम्बर पत्ता लगाएर एक साँझ फोन गरेँ, टेलिफोन बुथबाट । समस्या के भने म आफू अभिजात्य वर्गको आइस्यो, गइस्यो, खाइस्यो जस्ता पदावलीहरू उच्चारण गर्न नजान्ने मान्छे । ती रजौटाका सन्तानको घरमा फोन गर्दा फोन उठाउने व्यक्तिलाई भनेछु, मैले वीरेन्द्रबहादुर शाहज्यूलाई खोजेको, उहाँ हुनुहुन्छ ?
‘को बोलेको ?’ कड्केको आवाजमा प्रतिप्रश्न आयो ।
मैले आफ्नो परिचय दिएँ, र भनेँ, ‘म एक जना पत्रकार हुँ, उहाँको अन्तरवार्ता लिन चाहन्छु ।’
‘वीरेन्द्रबहादुर शाह बारा जानुभएको छ, यहाँ हुनुहुन्न । तपाईं के ख्याल राख्नुस् भने उहाँ कसैलाई पनि अन्तरवार्ता दिनुहुन्न,’ फेरि कड्केको आवाज आयो । फोन संवाद विसर्जन भयो ।
एउटा निष्कर्षमा पुगेँ, फोनमा बोल्ने व्यक्ति मैले खोजेकै पात्र हुन् । पछि काठमाडौंमा रही पत्रकारिता गरिरहेको बेला तिनलाई बागबजार वरिपरि देख्थेँ । उनी ज्ञानेन्द्र शाहकालमा उनको विशेष सल्लाहकारका रूपमा सक्रिय थिए भन्ने सुनेको वा पढेको पनि थिएँ ।
त्यतिखेर पूर्वको डीआईजीका रूपमा दुर्लभकुमार थापा थिए । पछि उनी आईजीपी पनि भए । उनीसँग कुराकानी गर्नुपर्ने भयो । उनको पनि बडो मुस्किलले फोन पत्ता लगाएँ । फोन गरेँ, नारी स्वर आयो । मैले आफू एक पत्रकार भएको र मैले उहाँसँग केही जिज्ञासा राख्न चाहेको प्रष्टीकरण दिएँ । म्याडमबाट उत्तर आयो, ‘उहाँ अहिले बिरामी हुनुहुन्छ कसैलाई भेट्न सक्नुहुन्न ।’
त्यसपछि वरिष्ठ अधिवक्ता गणेशराज शर्माको घरको फोन पत्ता लगाएँ । यी अधिवक्ता त केही न केही बोल्लान् भन्ने आशा थियो । एक त उहाँ बीपी कोइरालाका साढुभाइ, अर्को भीमनारायणको जीवनरक्षाका लागि सर्वोच्च अदालतका बहस गर्ने अधिवक्तामध्येका एक । उहाँलाई फोन गर्दा भन्नुभयो, ‘मित्र, तपाईंलाई म चिन्दा पनि चिन्दिनँ । त्यसैले यो अन्तरवार्ताको कुरा नगरौं ।’ पहिले काङ्ग्रेस र पछि पञ्चायतको नुन चाटिसकेको भनेर सुनेको थिएँ, तै पनि भीमनारायण श्रेष्ठको जीवन रक्षाका लागि केही बोल्लान् भन्ने आशामा पनि वरिष्ठज्यूबाटै आशामा तुषारापात भयो ।
यही क्रम उपक्रम र आशा तथा निराशाहरूबीच वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको ल फर्ममा पुगेँ । उहाँकी छोरी सविता भण्डारीसँग भेट भयो । भण्डारीज्यूसँग भेट्ने अभिप्रायसँगै मृत्युदण्डसँग सम्बन्धित नजिर सङ्ग्रह पनि अध्ययन गर्नु थियो । श्रेष्ठको जीवन रक्षाका लागि वकालत गर्नेमध्येका एक भण्डारीज्यू पनि काठमाडौंं बाहिर भएको र नजिर सङ्ग्रह पनि उहाँको ल फर्ममा नभएपछि रित्तो हात फर्कन बाध्य भएँ ।
तर, हरेश खाइएन
देश र जनताको मुक्तिका लागि जीवनको बलिदान दिने शहीदको बारेमा खोजी गरिरहेको बेला मैले सोचेँ, जसले जीवन त अर्पिए भने कदाचित् मैले यो सानो परियोजनाबाट हात धुन परे पनि के पो हुन्छ ? सके लेखेर बुझाऊँला, नसके आफूले गर्न सकिनँ भनी सम्बन्धित परियोजना प्रदायकलाई भनेर परियोजनाबाट हात झिकौंला । क्षमायाचना गरौंला ।
यी विकल्पहरू सोच्दै आफूसँग भएको सामग्रीहरूको लेखन गर्दै भान्जा हरेन्द्र लावतीको ताहाचलस्थित डेरामा आश्रित पाहुनाका रूपमा दिनहरू गुजारिरहेको थिएँ ।
फेरि बडो मुस्किलले वासुदेव शर्माको फोन पत्ता लगाएँ । वासुदेवज्यू भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीशमध्ये एक । इन्सेकका तत्कालीन महासचिव कुन्दन अर्यालले मलाई सुझाएको एउटा अक्कल मनमा रचना गरेर शर्माज्यूलाई भने,‘म बुधबार साप्ताहिकको संवाददाता हुँ । अन्तरवार्ता लिई हजुरको प्रोफाइल लेख्न चाहेर हजुरसँग भेट गर्न चाहेको ।’
‘ल आउनुस्,’ भन्दै शर्माज्यूबाट सहर्ष निम्तो पाएँ । त्यतिखेर बानेश्वर हाइटको लोकेसनबारे समेत अनिभिज्ञ मैले तीन पाङ्ग्रे कालो ट्याम्पो समातेँ । अहिले यस्तो ट्याम्पो काठमाडौंबाट विस्थापित भइसकेको छ ।
शर्माज्यूबाट आत्मीय स्वागत प्राप्त भयो । पहिले प्रोफाइल लेखनका लागि केही औपचारिक र सरल प्रश्नहरू सोधेँ । उहाँ खुल्दै जानुभयो । उहाँको करिअरका क्रममा उहाँ त बीपी कोइराला गृहमन्त्री हुँदा उहाँको स्वकीय सचिव मात्र होइन, परिवारिक सम्बन्धमा बीपीको साढु भाइ हुनुहुँदो रहेछ । करिअर निर्माणका क्रममा उहाँले बीपीकै सिफारिसबाट भोजपुरको बडाहाकिम हुँदै त्यसपछि न्याय सेवामा प्रवेश गर्नुभएको रहेछ ।
मैले उहाँलाई सोधेँ,‘न्यायमूर्तिका रूपमा हजुरले यति धेरै फैसलाहरू गर्नु भयो कि कुन कुन फैसलाहरू चाहिँ हजुरको जीवनमा स्मरणीय छन् ?’ ‘दुर्गानन्द झा, यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसलाको इजलासमा म पनि थिएँ, यो मेरो जीवनको सम्झनायोग्य फैसला हो,’ उहाँ मज्जाले खुल्नुभयो । मैले फेरि सहज रूपमा अर्को जिज्ञासा राखेँ, ‘हजुर त बीपीको पारिवारिक सदस्य, उहाँकै कार्यकर्ताहरूलाई यसरी मृत्युदण्डको फैसला सुनाउन कसरी आँट आयो ? ’
‘हेर्नुस् भैया, त्यो बेलाको कानूनले जे भन्छ, त्यहीँ गरेको मैले । यसमा मेरो केही पछुतो छैन,’ सर्वोच्चका पूर्वन्यायाधीशबाट जवाफ यस्तो पाइयो ।
फेरि सोधेँ, ‘यो फैसलापछि बीपी तपाईँसँग रिसाउनुभएन ?’
‘उहाँ त लार्ज हर्टेड पर्सन हो नि कहाँ मसँग रिसाउनु ?,’ उहाँले भन्नुभयो ।
यति भएपछि मलाई पुगी पनि हाल्यो । त्यसपछि वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ (दिवंगत भइसक्नुभएका) लाई भेट्न अनामनगरस्थित उहाँको ल फर्ममा पुगेँ । उहाँले सामान्य रूपमा भीमनारायण श्रेष्ठको बचाऊका लागि आफूहरूले गरेको बहसबारे भन्नुभयो,‘हामीले गरेको त्यो बहस नेपालको प्रजातन्त्रका लागि हो ।’ यी स्थलगत भ्रमण र अन्तरवार्तापछि शहीद भीमनारायण श्रेष्ठसम्बन्धी मेरो लेखनवृत्तिको परियोजना पनि सम्पन्न भयो ।
भीमनारायण श्रेष्ठले २०३५ साल माघ २६ गते राति शहादत प्राप्त गर्नुभएको हो ।