दश दिनसम्म विश्वका बसिखाने शासक वर्गको सत्ता हल्लाउने महाभूकम्प थियो, सोभियत क्रान्ति÷रुसमा भएको क्रान्तिले विश्वकै एक साम्राज्य जारशाहीको अन्त्यसँगै पूँजीवादी सरकारलाई गल्र्यामगुर्लुम ढालेको थियो । प्रथम विश्वयुद्धले आक्रान्त मौसममा सम्पन्न भएको गरिखाने जनताको क्रान्तिले ‘रोटी, शान्ति र जमिन’ दिने जनविश्वास प्रबल रूपमा स्थापना गरेको थियो । त्यही क्रान्तिका पराकम्पले अझै पनि संसार हल्लाइरहेकै छन्, सय वर्षपछिसम्म पनि ।
अक्टोबर क्रान्तिको सन्देश हो ः सबै गरिखाने श्रमिक वा उत्पीडितका हकहितको रक्षासँगै सम्पूर्ण मानव समुदायको न्याय, समता र स्वतन्त्रताका लागि लडिएको लडाइँ जारी छ । विश्वमा बसिखाने वर्गले चलाइरहेको पूँजीको अमानवीय शासन नाशवान् छ, पूँजीको आधारमा शोषण र उत्पीडनको राज पनि सदावहार छैन । त्यस्तो राज पल्टाउन क्रियाशील गरिखाने वर्गको हाँक छ ः ‘पूँजीवाद, आफ्नो औकातमा बस, अन्यथा समाजवादी क्रान्तिले ठेगान लगाउँछ । वर्ग सङ्घर्षको कलमले कोरेको इतिहासको अन्त्य वा समाजवादी सपना समाप्त भएको छैन ।
समाजवादी सपना देख्न जति सजिलो छ, त्यत्तिकै कठिन छ, त्यसलाई विपनामा रूपान्तरण गर्न । गरिखाने जनताका सबैजसो समस्या थाती राख्दै ‘समाजवाद उन्मुख राज्य’को यात्रामा निस्केका छन्, नेपालका कम्युनिष्ट र काङ्ग्रेस पार्टीहरू । गरिखाने जनतालाई बन्द आँखाबाट दिउँसै सपना देखाउँदै मन भुलाउने राजनीतिक चटक भएको छ ः समाजवादी सपना । यस्तो असहज अवस्थामा पनि गरिखाने जनताका समस्या र समाजवादी सपनाबारे विमर्शको प्रयास हुनु आफैमा सोभियत क्रान्तिका सकारात्मक रापतापलाई बचाइराख्नु हो ।
सोभियत क्रान्ति विश्वमा यस्तो महान् परिघटना थियो, जसले विश्वको राजनीतिक प्याराडाइम नै परिवर्तित गरिदियो । यसले पारम्परिक शासक वर्ग अर्थात् सम्पन्न र अभिजात्य वर्ग मात्र शासन गर्न योग्य हुन्छन् भन्ने मिथलाई भङ्ग गरिदियो । यसले जनता र शासकलाई समान हैसियतमा उभ्यायो । अक्टोबर क्रान्तिले अवलम्बन गरेको वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वको माक्र्सवादी अवधारणाबाट प्रेरित समाजवादको विश्वव्यापी अनुगुञ्ज तथा यसका निम्ति सङ्घर्ष वर्तमान विश्वमा पनि जारी छ । यस क्रान्तिबाट निःसृत जनसन्देशको प्रभाव कतिसम्म थियो भने समाजका तल्ला वर्गले यसलाई अन्तरमनबाटै आफ्नो सम्झेका थिए ।
र, अर्कातर्फ क्रान्तिका नेताहरूले जनता र राज्यसत्ताबीचको यस आत्मीय एकात्मकतालाई व्यवहारमा प्रदर्शित गर्न कुनै कसर छाडेका थिएनन् । तर, त्यो महान् सोभियत सङ्घ आफ्नै विचलन, गद्दारी र अन्तरविरोधका कारण अतीत भइसकेको छ । मानव समुदायको एउटा सङ्घर्षको इतिहास, जसले श्रमिक वर्गले पनि शासन गर्न सक्छन् र समग्र मानव जातिको हितमा दृढतापूर्वक राजनीतिक व्यवस्था चलाउन सक्छन् भन्ने उदाहरण इतिहास भइसकेको छ । कैयौंले यसलाई माक्र्सवाद र समाजवादको पतन भने । सोभियत क्रान्ति स्वस्फूर्त थिएन । जस्तो कि लेनिनले क्रान्तिलाई विज्ञान, कला र संस्कृतिका रूपमा व्याख्या गरेका छन्, यो सुविचारित, कलात्मक र योजनाबद्ध थियो ।
सन् १९१७ मा लेनिनले प्रसिद्ध क्रान्तिको प्रस्तावमा लेखे–रुसमा वर्तमान परिस्थितिको विशिष्ट लक्षण यो हो कि देश क्रान्तिको पहिलो चरणबाट, जसले सर्वहाराको अपर्याप्त वर्ग चेतना र सङ्गठनका कारण सत्ता पूँजीपति वर्गको हातमा सुम्पिदियो, दोस्रो चरणमा प्रवेश गरिरहेको छ, जसले सत्ता निश्चित रूपमा सर्वहारा र किसानको हातमा सुम्पिनुपर्छ । लेनिनको क्रान्तिले सोभियत सङ्घमा समाजवाद स्थापना त ग¥यो तर पार्टीको मतभेदले गर्दा धेरै टिक्न पाएन । सोभियत सङ्घको विघटनपछि विश्व कम्युनिष्ट आन्दोलनलाई मर्मान्तक धक्का पुग्यो । यसले नेपाली कम्युनिष्ट आन्दोलन प्रभावित हुनु स्वाभाविक नै थियो । अहिले नेपाली कम्युनिष्ट पार्टीहरूको स्थिति हेर्ने हो भने यहाँ खेमागत अस्तित्व ध्वस्त भइसकेको छ । सबैको व्यानर साझा भइसकेको छ । नेपालका कम्युनिष्टहरू अक्टोबर क्रान्ति सम्झदैनन् बरु शिवरात्री, कृष्ण जन्माष्टमी मनाउन थालेका छन् ।
नेपालको कम्युनिष्ट माओवादी जनयुद्धका रूपमा एउटा चरणमा पुगेर पतन भएको हो । यस्तोमा श्रमजीवी वर्ग र उत्पीडित समुदायमा एउटा हतासा छ र कम्युनिष्ट पार्टीहरु आआफ्नो समझदारी अनुरूप अस्तित्व रक्षाका निम्ति सङ्घर्षरत छन् । अमूर्त सैद्धान्तिकता र राष्ट्रियता तथा सांस्कृतिकताका जतिसुकै भावनात्मक सङ्घर्ष चलाए पनि श्रमजीवी जनताले त्यसमा आफ्नो भूमिका नभेट्टाएसम्म यसले सही दिशा र उठान लिन सक्दैन । र, यो नै भइरहेको छैन । नेपालका कम्युनिष्ट आन्दोलनमा अहिले एउटा वैचारिक अन्यौल र श्रमिक वर्गीय उदासिनता देखिन्छ । यस्तो स्थितिमा अक्टोबर क्रान्तिको सन्देश र निहितार्थहरू सार्थक र सान्दर्भिक छन् ।
वस्तुतः मानवीयताका आधारभूत सिद्धान्त स्वतन्त्रता, समानता र भातृत्व रहेसम्म माक्र्सको समयमा भएको पेरिस कम्युन र लेनिनको समयमा भएको सोभियत अक्टोबर क्रान्ति हमेसा सान्दर्भिक र प्रेरक रहिरहनेछन् । रुसमा अक्टुबर क्रान्ति नभएको भए माक्र्सको विचार बौद्धिक कर्ममा मात्रै सीमित हुनुसक्थ्यो । माक्र्सको विचारलाई लिएर रिसर्च सेन्टर खोलेर अध्ययन मात्रै भइरहन्थ्यो । संसारको एकचौथाई भूभाग ओगटेको रुसमा माक्र्सको सिद्धान्त व्यवहारमा लागू भएपछि त्यसको प्रभाव भारतमा प¥यो संसारका उपनिवेशवादी देशमा त्यसको प्रभाव प¥यो । जनजातिको विद्रोहमा त्यसले असर ग¥यो । छुवाछुत विरोधी आन्दोलन र महिला आन्दोलनमा त्यसको असर प¥यो ।
अक्टोबर क्रान्तिले देशका सबै पक्षमा प्रभाव प¥यो । अन्य कम्युनिष्ट विचारले अक्टोबर क्रान्तिप्रति सम्मान व्यक्त गरेपनि यसको केन्द्रीय अवधारणाबाट आफूलाई अलग प्रस्तुत गर्छ । यद्यपि समाजवाद भन्न छुटाउँदैन । सत्ताधारी कम्युनिष्ट पार्टीको पब्लिक–प्राइभेट–पार्टनरसिपको समाजवादोन्मुख भनिएको नीति यथार्थमा प्राइभेट नीति नै हो भन्नेमा कुनै शङ्का छैन । नेपालका कम्युनिष्ट पार्टीहरूमा समेत जहिले राष्ट्रियता र भारतीय विस्तारवाद विरोधी विषयहरूले प्रमुखता पाएको छ भने जनता भनिने श्रमजीवी मजदुर र किसान वर्गका निम्ति कुनै आन्दोलन छैन ।