आज नेपालीहरूले मनाउने विभिन्न मुख्य पर्वहरू मध्ये एक हो–माघे सङ्क्रान्ति । भौगोलिक दृष्टिकोणले नेपाललाई तीन क्षेत्रमा विभाजित गरिएको छ –हिमाली क्षेत्र,पहाडी क्षेत्र र तराई क्षेत्र । यी तिनै क्षेत्रमा बसोबास गरेका विभिन्न जात जातिका नेपालीहरूले विविध नामसहित आजको दिनलाई आआफ्नो परम्परा र रीतिरिवाज अनुसार धुमधामका साथ मनाउँछन् । मगर समुदाय तथा किरात समुदायले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन् भने तराइका थारु समुदायले यसलाई माघी पर्वको रूपमा मनाउँछन् । त्यस्तै गरी उपत्यकालगायत नेपालका विभिन्न भूभागमा बस्ने नेवारहरूले माघे सङ्क्रान्तिलाई “घ्य चाकु सूल्हु” भनेर मनाउँछन् । तसर्थ माघे सङ्क्रान्तिलाई साझा तथा महŒवपूर्ण पर्वको रूपमा लिन सकिन्छ ।
ज्योतिष शास्त्रका अनुसार आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् । त्यसैले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सूर्य कर्कट राशिमा प्रवेश गर्ने साउने सङ्क्रान्ति र मकर राशिमा प्रवेश गर्ने मकर सङ्क्रान्तिको निकै धार्मिक महŒव रहेको छ । यस्तै गरी आजैबाट सूर्यको उदय विन्दु दक्षिणबाट उत्तरतर्फ सर्ने भएकाले सूर्य उत्तरायण हुने गर्दछ । आजको दिनमा पवित्र नदी, तलाउ, त्रिवेणी, सागरमा स्नान गरिन्छ ।
जसलाई मकर स्नान भनिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा उल्लेख भए अनुसार यस दिन नुहाइ धुवाइ शुद्ध मनले घ्यु,चाकु,वस्त्र,तिलको लड्डु, तरुल, सागपात, पानीको भाँडो र मकलसहित सिधा दान गरेमा पुण्य प्राप्त हुने तथा उपर्युक्त पदार्थहरू सेवन गरेमा आफ्नो शरीर पोषिलो हुने र निरोगी हुने जनविश्वास रहेको पाइन्छ । आजबाट क्रमशः तापक्रम बढ्दै गर्मी शुरुवात हुने विश्वास गरिन्छ भने आजैबाट तिलको आकार जति दिन लम्बिदै र रात छोट्टिँदै जाने मत पनि रहेको पाइन्छ । यद्यपि वैज्ञानिक दृष्टिकोणबाट भने यस वर्षको सबैभन्दा छोटो दिन पौष ६ गते आइतबार तदनुसार २२ डिसेम्बर २०१९ पछि क्रमशः दिन लामो हुँदै गएको र रात छोटो हँुदै गएको पाइन्छ ।
आजको दिन आफू, आफ्नो घर परिवार तथा बोलाइएका चेलीबेटीहरू सहित मिलेर मिठामिठा परिकार खाइने, खुवाइने गरिन्छ । यी परिकारका अलावा घ्यु, चाकु, वन तरुल, घर तरुल, तिलको लड्डु, सुठुनी, खिचडी आदि विशेष रूपमा खाइने गरिन्छ । यी परिकारहरू स्वादिष्ट त हुन्छन् नै निकै पोसिला र स्वास्थ्यवर्धक पनि हुन्छन् । यिनले शरीरलाई स्फुर्ति दिई शक्ति प्रदान गर्दछ । एकापसमा भेटघाट, दुःखसुखका कुराहरू गर्दै सबै मिलेर एकै ठाउँमा रमाउँदै स्वादिला खानेकुराहरू खानुको अलग महŒव र मजा रहन्छ । तसर्थ यस दिनलाई आपसी सम्बन्ध प्रगाढ बनाउने पर्वको रूपमा पनि लिइन्छ । यस दिन मासमा पड्काएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीर स्वस्थ रहन्छ भन्ने विश्वास रहेको छ । आजको दिन विभिन्न स्थानमा मेलासमेत लाग्ने गर्दछ ।
नेपालको देवघाट, वराहक्षेत्र, रिडी, पनौती, दोलाल घाट, माइबेनी, कन्काई आदि स्थानमा मेला लाग्छ भने भारतका प्रयाग तथा गङ्गा सागरमा पनि मकर स्नान गरी पूजा आजा गरेर दान, धर्म गर्नेहरूको भीड लाग्ने गर्दछ । महाभारतका अनुसार यसै दिन भीष्मले आफ्नो मृत्यु रोजेका थिए भने भगीरथले यसै दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले गङ्गा सागरमा गरिने स्नानलार्ई महास्नान भनिन्छ । आजको दिन भक्तपुरको तौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दिपङ्कर बुद्धको पूजा हुने गर्दछ । त्यस्तै उपत्यका नजिकै भएको पनौतीमा मकर मेला लाग्छ जुन लिच्छविकालीन राजा मानदेवको पालादेखि नै शुरु भएको अनुमान रहेको पाइन्छ । यस मेलामा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो हुने गर्दछ । त्यस्तै गरी नुवाकोटको तारुका गाउँमा माघ १ गते अर्थात् माघे सङ्क्रान्तिलाई धुमधामका साथ मनाउने गरिन्छ । यहाँ गोरु मेला लाग्दछ । गोरुहरूको जुधाइ गरेर मनाइने यस दिनको छुट्टै महŒव तथा विशेषता रहेको पाइन्छ ।
तराई क्षेत्रमा घनारूपमा बसोबास गर्ने तथा देशका विभिन्न भागमा छरिएर रहेका थारु समुदायले आजको दिनलाई माघीको रूपमा धुमधामका साथ मनाउँछन् । यो पर्व थारु समुदायका निमित्त मौलिकताले भरिएको आफ्नै विशेषता भएको सबैभन्दा ठूलो पर्व हो । उनीहरू माछामासु, ढिकरी (पिठोबाट बनाइने एक परिकार) तथा मन पर्ने पेय पदार्थ खाएर नाचगान गर्दै धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । यस अवसरमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । यस समुदायमा मासको दाल र चामल मिसाई पकाइएको खाद्यान्न खिचडी (माघी) खाने प्रचलन पनि रहेको छ । खिचडी माघको दोस्रो दिन खाने गरिन्छ । यसलाई ‘खिचरहवा’ भनिन्छ । माइत आएका चेलीबेटीहरू माघी पर्व मनाइसकेपछि घर फर्कने बेलामा उपहार दिने चलन छ जसलाई ‘निसराउ’ भनिन्छ । तराईका मैथिलीहरूले यस पर्वलाई ‘तिला सङ्क्रान्ति’ पर्वको रूपमा मनाउने गर्दछन् । नुहाइ धुवाइ पूजापाठपछि परिवारका अग्रज वा आमाबुवाले आफ्ना सन्ततिलाई तिल र सख्खर खुवाई आफ्नो सेवा गर्ने वचन लिने गर्दछन् । उनीहरू यस दिन खिचडी, तिल, चिउराको लड्डु, तथा अन्य परिकार खाएर मनाउने गर्दछन् ।
दैलेखलगायत नेपालका पश्चिमी जिल्लाहरूमा विशेष महŒवका साथ माघे सङ्क्रान्ति मनाउने गरिन्छ । त्यहाँ यसलाई ‘चेलीत्यार’ भनिन्छ । यसको अर्थ हो चेलीको तिहार । पुषको अन्तिम दिन तरुल खनेर ल्याई सेलरोटीलगायत विविध खानेकुरा पकाउने गरिन्छ । पकाइएका खानेकुरा पहिले कागका लागि छुट्याइन्छ । त्यसपछि घरका मूलीसहित परिवारका सदस्यहरूले सो खानेकुरा खान्छन् । राति पँधेरा वा पानीको मुहाननिर मूढा बाल्दछन् । गाउँका वृद्ध वृद्धा,युवा युवती, बालबालिका भेला भएर देउडा गाउँदै, गाउँ खाने कथा वा दन्त्य कथा भन्दै रात बिताउँछन् । भोलि पल्ट नुहाइधुवाई कागलाई बोलाएर खानेकुरा दिन्छन् । यस दिन चेलीबेटीलाई कोसेलीका रूपमा सेलरोटी तथा तरुलको पोको बनाई दिने गर्दछन् । माइत आउन नसकेका चेलीबेटीलाई पनि यो पोका पु¥याइदिने गर्दछन् । कुनै चेलीबेटीले यो पोका सो दिन नपाएमा माघभित्र जसरी भए पनि फेरि पकाइतुल्याइ पोका बनाई पु¥याउने चलन रहेको पाइन्छ । यस्तै गरी भारतको कुमाउँमा यस पर्वलाई ‘घुघुतीत्यार’को रूपमा मनाउने गरिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई खुदोमा मुछेर घुघुती बनाई घाममा सुकाइन्छ र राति तेलमा तलेर पकाइन्छ र खाइन्छ । यहाँ पनि पश्चिम नेपालमा जस्तै बिहान कागलाई बोलाई घुघुती खान दिइन्छ ।
कतिपय समुदायहरूले आजको दिनलाई नयाँ वर्षको पहिलो दिनको रूपमा पनि मनाउने गर्दछन् । यसै क्रममा यस दिन किरात राईहरूले नयाँ वर्ष धुमधामका साथ मनाउँछन् । यस पटक नयूँ वर्ष ‘येले दोङ‘ ५०८० मनाउने तयारी भइरहेको छ । त्यस्तै गरी मगर जातिहरूले यस पर्वलाई मुख्य पर्वको रूपमा धुमधामका साथ मनाउने गर्दछन् । मगरहरूले राष्ट्रिय पर्वको रूपमा मनाउने यो पर्व चेलीबेटी पुज्ने तथा पितृ पुज्ने पर्वको रूपमा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा मगर समुदायहरूको आ–आफ्नै विशेषता रहेको पाइन्छ । आफ्नो मौलिक पहिचान र छुट्टै विशेषता बोकेको यस माघे सङ्क्रान्तिमा सेवन गरिने विभिन्न खाद्यपदार्थहरूले शरीरलाई ऊर्जा दिई रोगसँग लड्ने शक्ति दिने कुरामा कुनै दुईमत छैन । यसरी विभिन्न जातिहरूले सिङ्गारिएको नेपालको विभिन्न भेगमा बस्ने नेपालीहरूले विविध किसिमले मनाउने आजको दिनलाई साझा तथा महŒवपूर्ण पर्वको रूपमा लिनु अतिशयोक्ति कदापि नहोला ।
(लेखक ज्ञानोदय से.बो.स्कूल, धरानका व्यवस्थापन समितिका सदस्य हुन् ।)