नेपालमा विभिन्न किसिमका साल संवत्हरू प्रचलित छन् । जसमध्ये विक्रमादित्यको नामबाट चलेको संवत् वि.सं.र इस्वी संवत्लाई आधिकारिक रूपमा राज्यले लागू गरेको देखिन्छ । हुन त किरात यलम्बर सम्बत् (यले÷यल÷किरात), नेपाल संवत्, शक संवत् ÷ शालिवाहन, विक्रम संवत्, मानदेवले चलाएको संवत्, पाशुपत संवत्, हिजरी संवत्, बुद्ध संवत् आदि संवत्हरू अस्तित्वमा छन् । तर, यलम्बर संवत् सबैभन्दा प्राचीन संवत् हो । यहा यलम्बर संवत्को विषयमा संक्षिप्त केही चर्चा गर्न खोजिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिएको राष्ट्र हो, जसमध्ये किरातीहरू (राई, लिम्बू, याक्खा, सुनुवार, हायु, जिरेल, सुरेल, मेचेकोचे आदि) यस मुलुककै आदिम बासिन्दा हुन् जो मुन्धुम, प्रकृतिवाद र पितृवादमा विश्वास गर्दछन् । आºनो जीवन पद्धतिलाई अँगाली अगाडि बढेका छन् । यलम्बर संवत्को परिचर्चा गर्दा किरात कालीन इतिहाससम्म पुग्नुपर्ने हुन्छ । नेपालको इतिहास विभिन्न काल खण्डमा विभाजित छन् । जसमध्ये प्राचीन कालमा किरातीहरूको राज्य थियो । करिब ३२ पुस्ता (शासन अवधि १९६३ वर्ष ८ महिना ) राज्य चलाएका किरातीहरुको प्रथम राजा हाङ यलम्बर हुन् । उनकै नाममा चलाइएको संवत् यलम्बर स्मारक संवत् हो । यसलाई राई, याक्खाले यलदुङ÷यलदोङ, लिम्बूहरूले यलेतङवे, सुनुवारहरूले यलेथोचे, आदि विभिन्न नामले सम्बोधन गरेको पाइन्छ । नेपालमा साल संवत् चलाउने विभिन्न परम्परा÷ प्रथाहरू छन् । जसमध्ये हाङ यलम्बरले किरात शासन स्थापना गरेको ऐतिहासिक घट्नालाई आधार मानी यलम्बर संवत् चलनमा आएको हो । जुन संवत् ५०८० लागेको छ ।
यलम्बर संवत्को काललाई विभाजन र निर्धारण गर्न ऐतिहासिक तथ्यहरूसम्म पुग्न आवश्यक छ । तथ्यको सन्दर्भमा नेपालका इतिहासविद्हरू पनि एकमत छैनन् । यद्यपि विश्वमा आजभन्दा २५०० वर्ष अगाडि देखिमात्र इतिहासलाई आधिकारिक वैज्ञानिक ढङ्गले लेख्ने चलनको थालनी भएको देखिन्छ । त्यसभन्दा पहिले प्राग् ऐतिहासिक कालमा विभिन्न धार्मिक ग्रन्थ र प्रचलित मूल्य मान्यतालाई आधार बनाएर लिइने भएको र यो संवत् पनि कलियुग आरम्भ भएको ४० वर्ष अगाडि यलम्बरको शासन भएको हाल कलिसम्बत् ५१२० भएको हुनाले त्यसमा ४० वर्ष धटाउँदा ५०८० हुन जान्छ । त्यसैगरी अर्को तथ्यलाई आधार मान्दा जिसस क्राइसको मृत्युभन्दा करिब ३०६० वर्ष पहिले यलम्बर शासन राज्य भएको र अहिले इस्वी संवत् २०२० जोड्दा ५०८० नै हुन जान्छ । त्यसकारण यलम्बर संवत् ५०८० को आधिकारिकता हुन जान्छ ।
किरातलाई विभिन्न अर्थहरूमा लिइन्छ जस्तै भूगोल, इतिहास, सभ्याता, संस्कृति, मनोविज्ञान आदि । यस अर्थमा किरात इतिहास हो र यस काललाई नेपालको स्वर्णयुगको रूपमा पनि चिनिन्छ । यस कालमा धेरै कुराहरूको विकास तथा थालनी भएको पाइन्छ जस्तैः महिला समानता, व्यवस्थित राज्य सञ्चालनको विधि, न्याय, मौलिक हक आदि व्यवस्था भएको मानिन्छ । त्यसैगरी किरातकालीन सभ्यताको विकास भएको पाइन्छ । सभ्यताले हजारौं वर्ष व्यतित गर्ने हुनाले यो सभ्यताको गर्भभित्र स्वाभाविक रूपमा भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, मूल्य मान्यता, रीतिरिवाज आदिको विकास भएका छन् । किरात भूगोल हो, यस अर्थमा तत्कालीन प्रशासनिक केन्द्रको विभाजन वल्लो किरात, माझ किरात र पल्लो किरात भनी वर्तमानमा पनि परिचित छन्, त्यसो भएको हुनाले त्यही समयदेखि (यलेदोङ) यलम्बर संवत्को विकास र थालनी भएको मानिन्छ ।। तत्कालीन राजा पृथ्वीनारायण शाहको भौगोलिक एकीकरण १८३१ सँगै पृथ्वीनारायण शाहले किरात कालीन शासनको अन्त्य गरे । त्यसपछि यलम्बर संवत्लाई नामेट बनाउँदै भारतको उज्जैन राज्यको सम्राट् बादशाह विक्रमादित्यको नामबाट चलेको संवत् विक्रम संवत्लाई अनिवार्य लागू गरी किराती पहिचानलाईं ध्वस्त बनाएको देखिन्छ ।
कुनै पनि जाति, समुदाय वा क्षेत्रको भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास, लिपि, मूल्य मान्यता निजी हुँदैन । त्यसो भएको हुनाले नवांै सताब्दीमा भारतको देवनगर भन्ने ठाउँबाट विकास भएको देवनागरी लिपी विशेष गरी नेपाल र भारतमा प्रचलित छ । तर, आदिवासीहरूसँग जोडिएर आएका साल, संवत्हरू राज्यले लागू गरेको पाइँदैन र आदिवासीहरूसँग जोडिएर आएको पहिचानको विषय यस राज्यको पहिचान हुन सकेन । यद्यपि किराती संस्कृति र सभ्यता राष्ट्रको अमूल्य सम्पदा हो र त्यति मात्रै होइन विश्वकै सम्पदा हो, पहिचान हो, आकर्षणको विषय हो ।
यसलाई जसले पनि आत्मीकरण गर्नसक्छ । दुर्भाग्य, यो आदिवासीको पहिचान जोडिएको यलम्बर संवत्लाई नेपालले स्वीकारेर व्यवहारमा लागू गरेको पाइँदैन । विक्रमादित्यको नामबाट चलेको वि.सं.अनि इस्वी संवत् (जिसस क्राइस्टको जन्मसँगै शुरु भएको संवत्) लाई नेपाल राज्यले मान्यता प्रदान गरी सरकारी कामकाजमा ल्याएको पाइन्छ । यी दुवै संवत् नेपालसँग सम्बन्धित छैनन् । यी विदेशी पहिचानहरू हुन् । जुन नेपाली माटोसँग सम्बन्धित छैनन् । राज्यको नीतिले नै विदेशी माटो र पहिचानसँग जोडिएको साल संवत्लाई मान्यता दिने गरेको छ । लामो राजनीतिक परिवर्तन पश्चात् नेपालमा भएको सङ्घीय संरचनासँगै हाम्रो राष्ट्र गान पनि फेरियो र राष्ट्र गानमा सधैं हामी ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ भनी गुनगुनाउँछौँ तर यसलाई व्यवहारिक रूपमा पालन भएको, लागू भएको देखिदैन ।
कहिलेकाहीँ लाग्छ हाम्रो राष्ट्र गान पनि अलिक गलत ढङ्गबाट रचना भयो की नत्रभने किन यो राज्यले यहाँको भाषा, धर्म र संस्कृतिलाई स्वीकार गर्दैन । राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्न सक्दैन । त्यसैले नेपालको प्राचीन सम्बत यलेदोङ÷यलदोङ ५०८० लाई अब सरकारले लागू गर्नुपर्छ । यो किराती समुदायको मात्र होइन, नेपाली समुदायको संस्कृति हो, ढुकढुकी हो, यसमा नेपालीपन छ, नेपाली पहिचान छ । यो विषय माटोसँग जोडिएको विषय पनि हो । त्यसैले राष्ट्रिय गानमा भनेझैं समावेशी राष्ट्रिय भावनालाई चरितार्थ गर्दै नेपाली सभ्यता र संस्कृतिको संरक्षणमा लाग्न जरुरी देखिन्छ ।
जय किरात !