इटहरीमा विगत ०६९ सालदेखि जनस्तरबाट स्वतःफूर्त रूपमा नेपाल एकीकरण दिवस मनाउने परिपाटी रहेको छ । ०७६ साल पुस २७ गते एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउन कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिको सह संयोजकमा केशव भट्टराई, पूर्णकृष्ण श्रेष्ठ, भेषजा कफ्ले तथा सचिवमा सुमित थापा रहेका छन् । इटहरीले एकीकृत,स्वाधीन स्वतन्त्र नेपालको निर्माण महानतम कार्य ठहर गरेर यस कार्यक्रमलाई निरन्तरता दिएको छ । यो कार्यक्रम विशुद्ध रूपमा ऐतिहासिक गौरवशाली गाथा गानसित सम्बन्धित रहेको छ ।
यो कार्यक्रम कुनै पनि राजनीतिक आग्रहबाट प्रभावित रहेको छैन । अझ राजा आउ देश बचाउ जस्ता विषयसित यसको कुनै साइनो र सपना रहेको छैन । शुरुवात कालमा यस कार्यक्रम प्रति नकारात्मक प्रतिक्रिया भए पनि वस्तु सत्य प्रकाश तथा प्रचारमा आउन थालेपछि कार्यक्रमप्रति आकर्षण र अनुराग बढ्न थालेको पाइन्छ । यस खालका एकीकरण विश्वमा भएका छन् र तिनलाई त्यहाँको उच्च उदात्त राजनैतिक नेतृत्वले समेत उच्च प्रशंसा र सम्मान गरेको देखिन्छ । नेपाल र नेपाली हुनुमा गर्व गर्ने हर नेपालीले नेपाल एकीकरणको महत्ता र महिमालाई आत्मसात् गर्छन् । पृथिवी नारायण शाह सरदार नेता र राजाभन्दा धेरै माथि थिए भन्ने कुरा उनको व्यक्तित्व र कृतित्वबाट अवगत हुन्छ । एकीकृत नेपाललाई भाइअंश लगाउनुपर्छ भन्ने सहोदर भाइ शूरप्रताप शाहलाई राजदरवारबाट निष्काशन गर्नु शाहको विशाल तथा अक्षुण्ण राष्ट्रनिर्माण गर्ने कार्यको अनुपम उदाहरण हो ।
नेपाल एकीकरण अभियान असफल पार्न देशी विदेशी अनेक षडयन्त्र भएको देखिन्छ । तथापि जनताको साथ सहयोग लिएर शाहको अगुवाइमा एकीकरण अभियान सफल नभएको भए नेपाल देशको अस्तित्व यो दुनियाँमा रहने थिएन भन्ने स्पष्ट उदाहरण अमेरिकी कुटनीतिज्ञ हेनरी किसिन्जरले अन चाइना नामको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनका अनुसार अङ्ग्रेजलाई सिन्धुली गढीमा नरोकेको भए उनीहरूको मनोबल बढ्ने थियो र तिनीहरू चीन पुग्ने थिए । यही कुरालाई बेलैमा गम्भीर रूपमा महसुस गरेर विगतमा मात्र होइन भावी दिनमा पनि पृथ्वीनारायण शाहले देशको ‘सन्धीसर्पन् हेरि गडि तुल्याई राख्न र रस्ता रस्तामा भाँजा हालि राख्न’ निर्देशन गरेको दीव्योपदेशमा उल्लेख छ ।
पृथ्वीनारायण शाहको दूरदर्शी महान् तथा सर्वोपरि महŒवको अभियन्ता भूमिकामा हिमाल पहाड तराइ मधेसका विभिन्न वर्ग, तह र समुदायका आम जनताकाहरूको त्याग र बलिदान का कारण नेपाल देश एकीकृत, स्वाधीन र स्वतन्त्र हुन सकेको हो । नेपाल एकीकरणमा दलित गैरदलित, आदिवासी जनजाति आदि तमाम धर्म संस्कृति पक्षधर नेपालीको एकीकृत प्रयासमा यो देश पराधीन हुनबाट बच्न सकेको हो । सरदरका राजा महाराजा भन्दा धेरै माथि रहेर पृथ्वीनारायण शाहले लिच्छवी कालदेखि गरिएको र गर्न खोजिएको विशाल नेपालको परिकल्पना शाहको नेतृत्वमा सफल र सबल बन्न सकेको हो ।
बाइसे चौबिसे जस्ता अनेक भुरे टाकुरे राज्य रजौटाका रूपमा छिन्न भिन्न राज्यहरूका परस्परको वैमनस्यबाट आक्रान्त आम नेपालीको सामूहिक साझा आवाजले शाहलाई नेपाल एकीकरणमा थप बल पुगेको देखिन्छ । जर्मनीलाई एकीकृत गर्ने विस्माक, इटलीको एकीकरण कर्ता मेजिनीकाबुर र गौरीवाल्डी र तत्कालीन सम्राट शिहह्वाङले विशाल चीनको एकीकरण गरे भन्दा नेपाल एकीककरण कम महŒवको छैन । अझ चीन देशको नामकरण नै तिनै एकीकरण कर्ता सम्राटका नामबाट गरिएको देखिन्छ । चीनका महान् नेता माओत्से तुङ सम्राट शिहह्वाङलाई उच्च सम्मान गर्थे । विश्वेश्वर कोइराला लगायत नेपाली नेताहरूले नेपाल एकीकरणलाई उच्च महत्व दिएको देखिन्छ । पुष्पलालले एकीकरण अभियान र अभियन्तालाई सकारात्मक कोणबाट मूल्याङ्कन गरेका छन् । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले पृथ्वीनारायण शाहलाई महान् सपूत बताएका छन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्र गरेनन् उनले नेपालको समृद्धिका खातिर आर्थिक, सामाजिक, धार्मिक, कुटनैतिक, लोकतान्त्रिक, औद्योगिक, कला सांस्कृतिक तथा सामरिक सही नीतिसमेत निर्देशित गरेको देखिन्छ । खेती योग्य जमिनमा बस्ती नबसाउनु, यस्ता ठाउँमा बस्ती भए अन्यत्र सार्नु, तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्नु, विदेशी महाजनहरू हाम्रा मुलुकमा आए भने देशलाई कङ्गाल पारी छाड्छन् भनेर स्वदेशी कला, संस्कृति, उद्यमी र उद्यम व्यवसायलाई राज्यले पूर्णतः प्रोत्साहन र संरक्षण गर्नुपर्छ भन्ने उक्तिहरू शाहको दिव्योपदेशमा पर्याप्त पाइन्छन् । आआफ्ना कुलाधर्म मान्नु, सिङ्गो देशलाई चार वर्ण र छत्तिस जातको फूलबारी मान्नु जस्ता आदर्श शाहमा पाइन्छन् । उनै शाहले दक्षिणको बादशाह महाचतुर छ, त्यो एक दिन नेपालमाथि आइलाग्नेछ भनेर भावी शासक तथा आम नेपालीलाई उहिल्यै सचेत गराएका थिए । त्यसैगरी शाहले आफूले मन पराएका विराज बखतीलाई पन्छाएर लोक वा जनताले रुचाएका कालु पाण्डेलाई मुख्तियार वा प्रधानमन्त्री बनाएको उदाहरण पाइन्छ ।
नेपाल एकीकरण विरोधीलाई देखी नसहने शाह शत्रु भए पनि वीरको कदर गर्ने स्वभावका थिए । यसको उदाहरण शाहले चौकोटका वीर महेन्द्र रायका परिवारलाई भत्ताको व्यवस्था गरिदिएका थिए । एकीकरण अभियानमा कम क्षति होस्, भन्ने भावना अनुसार पूर्वतर्फ विशेष गरेर लिम्बुआनमा बुद्धिकर्ण राई बाहेकलाई कसैलाई कत्ति पनि खतबात नगर्नु भन्ने आदेश दिए अनुसार सकेसम्म कम जन र धनको क्षतिबाट एकीकरण भएको देखिन्छ । यही विषयलाई उच्च महŒवदिन माननीय मुख्यमन्त्री शेरधन राईज्यू समक्ष पौडेल नेतृत्वको समूहले एक ज्ञापन पत्र प्रदान गरेको छ ।
ज्ञापन पत्रमा सारमा विश्व सामु स्वतन्त्र र स्वाधीन तथा सार्वभौम मुलक नेपाल र नेपाली हुनुमा गर्व गर्नु पर्ने विषय उठान गरिएको थियो । नेपाल एकीकरण नभएको भए हामी राष्ट्रिय पहिचानका साथ गौरवपूर्ण जीवन जिउन पाउने थिएनौ भनिएको छ । देश र प्रदेश निर्माण र विकासको अभियान सञ्चालन गरे पनि देशको जरोकिलो बिर्सेपछि सतही काम र कुराको केही अर्थ छैन । परापूर्व कालदेखि स्वतन्त्र तथा स्वाधीन देशका रुपमा संसारमै सुपरिचित रहेको छ । यस देशले कहिल्यै पनि कुनै पनि देशको पराधीनतामा रहनु परेन । शाहको यो योगदान तथा भूमिका सरदर राजा महाराजा भन्दा धेरै माथिल्लो स्तरको ऐतिहासिक रूपमा सर्वाधिक गरिमामयी भूमिका हो । यस एकताबद्ध प्रयासमा विभिन्न जाति, जनजाति, धर्म, संस्कृति तथा भूगोलका नेपाली जनताले आवश्यक समर्थन, समर्पण, त्याग तथा बलिदान दिएका कारण हामी विश्व सामु गौरवशाली नेपाल र नेपाली हुन पाएका हौँ । तसर्थ यस्तो महिमाशाली ऐतिहासिक सम्पत्ति तथा विभूतिलाई कुनै पनि देशभक्त नेपालीले बिर्सिएर बैगुनी बन्न सक्तैन ।
इटहरीमा भएको कार्यक्रम यस क्षेत्रकै महत्वपूर्ण
इटहरीमा शुरु ०६९ सालमा शुरु गरिएको यस्तो कार्यक्रमका सम्बन्धमा ०६९ सालदेखि बर्सेनि क्रमशः डा.मोदनाथ प्रश्रित, संस्कृतिविद् ज्ञानमणि नेपाल, इतिहासविद् प्रा.दिनेशराज पन्त, संस्कृतिविद् द्वय प्रा.रमेश ढुङ्गेल, लालबाबु यादव, पूर्व प्रधान सेनापति रुक्माङ्गद कटुवाल, प्रा.डा.सुरेन्द्र के.सी., इतिहासविद् डा.राजेश अहिराजले विषय केन्द्रित महŒवपूर्ण विचार व्यक्त गर्दै आउनुभएको थियो । ०६९ सालदेखि बर्सेनि गरिने कार्यक्रमको समारोह समितिको संयोजकमा प्रा.डा.बद्रीविशाल पोखरेल, दिलकुमार वन, केशवकुमार सुनाम, जीवन राई, श्रीप्रसाद पोखरेल, राजेश श्रेष्ठ, सुवर्ण थापा थिए । शुरुवातका दिनमा यस सम्बन्धी न्यून तथा प्रतिकूल चेतनाका कारण एकीकरण दिवसप्रति धेरैको सकारात्मक सोच तथा प्रतिक्रिया थिएन तर अहिले यो कार्यक्रम यस प्रदेशकै विशिष्ट, आकर्षक तथा मौलिक कार्यक्रम बन्न गएको छ । विगत वर्षमा वक्ताका रूपमा आउनुभएका विषय विशिष्ट विज्ञ तथा संस्कृतिविद्हरूले समेत यस कार्यक्रमको सराहना गर्नुभएको छ ।
तर, यस्तो सर्वाधिक विशिष्ट तथा महŒवपूर्ण सर्वोपरि महŒवको ऐतिहासिक विषयलाई विशेष गरेर लोकतान्त्रिक गणतान्त्रिक कालमा राज्यस्तरबाट खासै महŒव नदिनु आश्चर्यको विषय हो । यस्ता विषयमा प्रदेश सरकारले पनि सकारात्मक रूपमा विचार र कार्यान्वयन गर्न सक्ने आशा र विश्वास यस क्षेत्रले लिएको छ । नेपाल एकीकरण अभियानलाई र नालापानीमा नेपाली नरनारीले देशको स्वअस्तित्व र स्वाधीनताका मुहान्हरू संरक्षणका खातिर अनमोल जीवन उत्सर्ग गरेको जस्तो विषय र सन्दर्भलाई जीवन्त पार्क बनाउँदा यस प्रदेश र देशकै एउटा अद्भूत आकर्षक पर्यटन प्रवर्धनको विषय हुन सक्ने देखिन्छ । यही विषय माननीय मुख्य मन्त्रीसमक्ष प्रस्तुत ज्ञापन पत्रमा विशेष रूपमा उल्लेख गरिएको छ । नेपाली राष्ट्रियता,राष्ट्रप्रेमलाई आधारभूत तह तथा भुइँतहदेखि विकसित गर्न पनि अपरिहार्य रहेको देखिन्छ । एकातिर त्रिविमा इतिहास विषयमा विद्यार्थी शून्य भएर प्राध्यापकहरू काम विहीन भएको गुनासो गरिन्छ तर इतिहासविज्ञ तथा विद्वान्हरू ऐतिहासिक सर्वाधिक विषय र क्षेत्रको महŒव बुझाएर विषयको महत्ता विस्तारित गर्ने कुरामा प्रायः मौन र मूकदर्शक बनेको सरम लाग्दो अवस्था देखिन्छ ।