सार्वजनिक बिदा भनेको बिदा नै हो । सरकारले सातामा एक दिन शनिबार सरकारी कर्मचारी, जनप्रतिनिधि सबैलाई आराम गर्न दिएको सुविधा हो । र, यो कर्मचारीहरूको अधिकार पनि हो । सार्वजनिक बिदाको दिन कार्यालय खुल्दैन । तर उनीहरूले बिदा नभएको दिन मात्र प्रयोग गर्न भनेर दिइएको सरकारी घोडा (सवारी साधन) भने निजी प्रयोगमा ल्याउनु सरकारी सम्पतिमाथि लुट मचाउनु बराबर हो । बिदाको दिन सरकारी सवारी साधन चलाउनु भनेको चाही सरकारी बजेटको दोहनबाहेक अरू केही हुन सक्दैन । सवारी साधन दुरुपयोग गर्ने कर्मचारीलाई राष्ट्रको सेवक कसरी भन्ने ? मोरङका जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत शनिबार बिदाको दिन विराटनगर महानगरपालिकाबाट चेकजाँचको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएपछि सार्वजनिक बिदाको दिन सरकारी कर्मचारीले सरकारी सवारी साधन कति दुरुपयोग गरिरहेका छन् भन्ने घामजत्तिकै छर्लङ्ग भएको छ ।
शनिबार बिदा हुँदा सरकारी कर्मचारीहरू सरकारी सवारी साधन प्रयोग गर्न पाएकोमा गर्वले छाती फुलाउँदै कोही ससुराली जाने, कोही माइत जाने, कोही सपिङ गर्न जाने, कोही आफ्ना छोराछोरी लिएर फनपार्क जाने गरेका छन् । कतिपय सरकारी कर्मचारी त घुम्नलाई टाढा टाढाको ठाउँमा समेत जाने गरेका छन् । उस्तै परे ‘सरकारी सेवक’ बाबुका लागि सरकारले उपलब्ध गराएको सरकारी घोडालाई छोराहरूले ‘हट घोडा हट’ भन्दै सानका साथ सार्वजनिक बिदामा चलाउने गरेका छन् । सार्वजनिक विदा वा शनिबारका दिन जिल्लाभित्रै सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ । यो अनुमति लिनलाई पनि कारण खुलाउनु पर्छ । कार्यालयको प्रयोजनका लागि कर्मचारीहरुलाई दिइएको सवारीसाधन बिदाका दिन चलाउदा पक्कै पनि तेल त आफ्नै गोजीबाट हाल्दैन नै सवारी साधन प्रयोग गरेवापत भाडा पनि तिर्दैनन् । मोटरसाइकल नै चलाउन नजान्ने कतिपय जनप्रतिनिधिहरूले सुविधाको नाममा लिएको मोटरसाइकल आफ्ना छोरी छोरीलाई प्रयोग गर्न दिएर पत्रुसमेत बनाएका उदाहरण पनि छन् । भाडा तिरेर चलाउनका लागि अर्कैै नम्बर प्लेट भएको सार्वजनिक सवारी साधन छँदैछ । तर, सरकारले चलाउन नै दिएको भनेर विदाको दिन पनि सरकारी ‘घोडा’ को दुरुपयोग गर्नुले सरकारी कर्मचारी कतिसम्म गिर्दा रहेछन् भनेर आँकलन गर्न सकिन्छ ।
सबै सरकारी कर्मचारीलाई त नभनौं तर कतिपय सरकारी कर्मचारी र जनप्रतिनिधिहरू सरकारी सवारी साधनलाई आफ्नै बाबुको सम्पति वा माइतबाट पाएको दाइजो जतिकै सम्झेर दुरुपयोग गर्ने गरेका छन् । ती सरकारी सवारी साधन उनीहरूले त्यतिकै चलाउन पाएका होइनन् । एउटा भिखारीले पनि भिख मागेको रकमले कहिले काही रोटी किनेर खाएवापत काटिएको राजस्वको अंश त्यो सरकारी सवारी साधनको प्रत्येक पार्टमा टाँंसिएको हुन्छ । तमाम स्कूले बालबालिकाले चक्लेट वा कपि किताब किनेका बेला काटिएको राजस्व पनि त्यो सरकारी साधनको टायरमा टांसिएको हुन्छ । छोरी मान्छे रजस्वला हुँदा पसलमा प्याड किन्दा पनि काटिएको राजस्व त्यो सरकारी गाडीको च्यासिसमा समावेश भएको हुन्छ । अर्थात् हरेक नागरिक, मतदाता, व्यापारी, शिक्षक, उद्योगी, व्यवसायी, सामाजिक सुरक्षा भत्ता थापिरहेका वृद्धवृद्धा, शारीरिक अपाङ्गता भोगिरहेका तमाम व्यक्तिले कुनै न कुनै माध्यमबाट तिरेको राजस्वबाट सरकारले आफ्ना राष्ट्रसेवकले जनताको काम छिटो छरितो चुस्त दुरुस्त गरुन् भनेर सुविधाका लागि दिएको सवारी साधन हो । मुलुकभरिका लाखौं सरकारी कर्मचारीले यो सुविधालाई सार्वजनिक विदा वा शनिबारको दिन एकसाथ व्यक्तिगत रूपमा प्रयोग गर्न थाले भने मुलुकले खर्चको भार थेग्न सक्दैन । जनतालाई सरकारको नीति, कार्यक्रम बझुाउने दायित्व बोकेका सरकारी कर्मचारीले बुझी बुझी सरकारी घोडा दुरुपयोग गर्छ भने त्यो सरकारी कर्मचारीको खोलमा भातमारा, देशमारा, जनतामाराले राज्यको ढुकुटीमाथि रजाइ गरिरहेछ भन्ने बुझ्न कत्तिबेर पनि लाग्दैन । विदाको बेला पनि सरकारी घोडालाई आराम नदिने सरकारी कर्मचारी र जनप्रतिनिधिलाई ट्राफिक प्रहरीले मात्र निगरानी, नियमन गरेर नपुगे जनताले निगरानी र नियमन गर्नु जरुरी भएको छ ।