थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् ।
नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा शुरु भइसकेको छ । थारू समुदायको माघी पर्व आउन चार दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरूपमा मनाउने थारू समुदायका मानिस अहिले माघीको तयारीमा जुटेका छन् । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।
माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइनभ्याई छ । माघी थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका हरिप्रसाद थारूले बताए । माघीमा आफन्त आउने भएकाले सत्कारका लागि तयारी शुरु गरेको उनको भनाइ छ । “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौँ”, चिसापानीकै फूलमती चौधरीले भने ।
एक महिनाअघिदेखि नै माघीको तयारी शुरु हुने थारू समुदायमा खानाका परिकार पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको तेल पेल्ने काम गरिन्छ । तराईका थारू गाउँ अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।
यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् । माघीमा मिठोमसिनो खाने, नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डालगायतका कार्यको थालनी हुन्छ”, चिसापानीकै राजकुमार चौधरीले भने, “यस दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।” बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।
विदेश कमाउन गएका युवा पनि माघी मनाउन घर फर्किन शुरु गरेका छन् । सबैतिर माघीको तयारी चलिरहेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताए । “गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौँ”, उनले भने, “माघीको रौनकले विगतका पीडा भुलाइदिन्छ, थारू पर्व उल्लासमय बनाउन लागिपरेका छौँ ।” माघ महिनामा थारू समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने/नबस्ने, जग्गा अधिया लगाउने/नलगाउने, बडघर बस्ने/नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउँछन् ।
पुसको अन्तिम दिन थारू समुदायमा रातभरि आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ । माघ १ गते बिहानै भाले बासेको समय करीब बिहानै २ः०० बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वादसमेत लिने चलन छ । माघी पर्वमा एकापसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारू महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।
घोँगीको माग धेरै
माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्न घोँगीको माग अत्यधिक हुने गरेको छ । माग अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेट्टाउन नसकिएको ले बताए ।
“घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ, तर पुर्याउनै सकेको छैन”, थारूले भन्नुभयो, “यसपालि भनेजस्तो भेट्टाउन सकिएको छैन ।” तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका उनले आफ्नै तलाउबाट घोँगीको जोहो गरेको बताउछन् । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ ।
स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । घरवास, रेष्टुरेण्टमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताउछन् । –––