जनप्रतिनिधिहरूले आफूलाई ‘जनसेवक’ पनि भन्ने गरेका छन् । खासमा समाजको हितका काम गर्न भनेर उनीहरूलाई आम जनताले चुनेर पठाएका हुन्छन् । अहिले स्थानीय तहहरूमा रहेका यस्ता जनप्रतिनिधिहरू समाज र जनहित भन्दा व्यक्तिगत सेवा सुविधाका लागि लालायित देखिन्छन् । आफूलाई जनसेवक भन्नेहरू नै सुविधागोगी बन्दै जानु दुःखद हो । राजनीतिलाई सेवाका रूपमा लिइनुपर्ने हो तर पछिल्लो समय जागिर वा व्यवसायका रूपमा विकास भइरहेको छ । अहिले सरकारले नै जनप्रतिनिधिहरूलाई पनि तलब, भत्ताको व्यवस्था गरेको छ तर सरकारले उपलब्ध गराएको सेवा, सुविधा माथि जनप्रतिनिधिहरू अझै सेवा थपेर अतिरिक्त सुविधा लिन लालायित छन् । विराटनगर उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले प्रदेश सरकारले तोकेभन्दा थप गरेर अतिरिक्त सेवा सुविधा लिइरहेकोमा उच्च अदालत विराटनगरले त्यस्तो अतिरिक्त सुविधा बदर गर्न आदेश दिएको छ । अदालतको यो आदेश स्वागत योग्य छ । यसले जनप्रतिनिधिलाई ऐन नियम विपरीत सुविधा लिन निरुत्साहित गर्छ ।
विराटनगरको मात्र होइन अन्य स्थानीय तहहरूमा पनि खोजी गर्ने हो भने जनप्रतिनिधिहरू सुविधाभोगी बनिरहेका देखिन्छन् । एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक साधन नभएका स्थानीयतहका जनप्रतिनिधिहरू आफू चढ्ने गाडी खरिद गरिरहेका छन् । जनतालाई सेवा सुविधा दिनुभन्दा आफैंले सुविधा लिने प्रवृत्ति मौलाउँदै जानु कदापि राम्रो होइन । अहिलेका जनप्रतिनिधिहरूको व्यवहार र अवस्था हेर्दा उनीहरू सेवक भन्दा बढी जागिरेका रूपमा प्रस्तुत भएका देखिन्छन् । यो प्रवृत्तिलाई निरुत्साहित गरिनु आवश्यक भइसकेको छ । जनप्रतिनिधिहरू सुविधाभोगी बन्नु र कमाउधन्दामा लाग्नुको कारण चुनावदेखि जोडिएर आउँछ ।पछिल्लो समय राजनीतिमा निष्ठावान् र सैद्धान्तिक रूपमा अघि बढेका नेता कार्यकर्ताले भन्दा धन खर्च गर्न सक्नेहरू अघि बढिरहेका छन् । कतिसम्म भने एउटा वडाअध्यक्षले चुनावका बेला २० लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ ।
आफ्नै पार्टीका नेताहरूदेखि मतदातासम्मलाई पैसा बाँड्नु पर्ने यो अवस्थाका कारण जितेपछि त्यस्ता जनप्रतिनिधि लगानी उठाउन लागि पर्छन् । त्यसका लागि अवैध रूपमा सुविधा लिएर हुन्छ कि गलत धन्दा गर्नेसँग साँठगाँठ गरी कमाएर हुन्छ उनीहरू लगानी उठाउन लागि पर्ने गरेका छन् । त्यसकारण पनि गत स्थानीय तहको निर्वाचनमा जितेका धेरै जसो जनप्रतिनिधिहरू ठेक्कापट्टा, दलाली सम्बद्ध भेटिन्छन्।जनप्रतिनिधिहरूमा मात्र होइन राजनीतिक दलका नेता कार्यकर्तामा बढ्दै गएको सुविधाभोगी प्रवृत्तिलाई निरुत्साहित गर्दै लानुपर्ने अवस्था आइसकेको छ । यस्तो प्रवृत्तिको अन्त्य नहुने हो भने भोलिका दिनमा गलत धन्दा गर्नेहरूले मात्र राजनीति गर्ने समय आउन सक्छ । हरेक राजनीतिक दलले आफ्ना कार्यकर्तालाई शुरु तहबाटै प्रशिक्षण गर्दै पैसाभन्दा सेवामा लाग्न प्रेतित गर्नु जरुरी छ । ता कि भोलि इमान्दार व्यक्तिहरू नेतृत्वमा पुग्न सकून् । दलहरूले कार्यकर्ता माझ सुद्धीकरण अभियान तत्काल चलाइहाल्नु पर्ने अवस्था देखिन्छ ।