मान्छेको ज्यान बचाउने पेशा अँगालेका चिकित्सकको धर्म मानवता हो । बिरामीको उपचार गरेर सेवा गर्नु चिकित्सकका लागि अहोभाग्य हो । आर्थिक अभावमा पिल्सिएका दुखी, गरिब, असहाय रोगीहरूलाई निःशुल्क उपचार गरेर स्वस्थ बनाउने चिकित्सक त समाजमा ‘जीवित भगवान’ नै ठहरिन्छन् । आर्थिक लाभ नै लिएर भए पनि मान्छेको ज्यान बचाउँदा त चिकित्सक पनि खुशी हुन्छन् र बाँच्ने बिरामी झन् खुशी । ज्यान बचाउने यस्तो अवसर अन्य पेशा वा व्यवसाय अँगाल्नेहरूले कमै पाउँछन् । त्यसैले त चिकित्सा पेशालाई मानव सभ्यतामा उच्च सम्मान मात्र दिइएको छैन सेवामूलक पेशाको स्थान दिइएको छ ।

तर यी सबै सन्दर्भहरू अचेल फोस्रा आदर्शमात्र दरिन थालेका छन् । यसको ताजा उदाहरण सुगम जिल्ला मानिएको सुनसरीको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालको हालत हेरे पुग्छ । दैनिक सरदर २ सय बिरामीहरू उपचारका लागि आउने जिल्ला अस्पतालमा चिकित्सक बस्दैनन् । इनरुवा अस्पतालमा छात्रवृत्ति र करारमा गरी नौ जना चिकित्सकहरू दैनिक हुनुपर्ने हो । ती चिकित्सकहरू अस्पतालमा उपस्थित नहँुदा सर्वसाधारण बिरामी सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । उपचार गर्न आर्थिक अभाव हुने कतिपय सामान्य बिरामीहरू समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान बाध्य भएका छन् । अस्पताल छ, चिकित्सकको दरबन्दी छ, छात्रवृत्ति करारका चिकित्सक पनि छन्् । चिकित्सक र अस्पताल छ भनेर नै बिरामी पनि उपचारका लागि आउने गरेका छन् । तर, चिकित्सक नै नभएपछि सेवाग्राहीको हालत के हुन्छ ? कुनै चिकित्सकले अलिकति मानवीयता देखाउन सकेका छैनन् । चिकित्सा पेशा अरू कार्यालयमा बस्ने कर्मचारीले जस्तो झारा टार्ने पेशा अवश्य होइन । रोग, रोगको पहिचान, उपचार विधि अपनाएर कुनै बिरामीलाई स्वस्थ बनाउने पेशा हो । बिरामीको उपचार गर्ने भनेर चिकित्शा शास्त्र पढेर सरकारले तोकेको अस्पतालमा दरबन्दी वा काजमा खटेपछि बिरामी नहेरी अन्यत्र बस्ने, क्वाटरमा बस्ने, लामो विदा बस्ने चलन अपनाउनु चिकित्सकलाई पटक्कै सुहाउँदैन । बिरामी नहेर्ने हो भने पेशा परिवर्तन गर्नुप¥यो । होइन भने, आफूलाई चिकित्सक भनेर चिनाउने तर बिरामी नहेर्ने कुन मुलुकमा हुन्छ यस्तो पेशाको अभ्यास ?

इनरुवामै उपचार गर्न सकिने बिरामी उपचार गर्न आएमा तिनलाई समेन नहेरी अन्यत्र रिफर गर्नू चिकित्सकमा आएको वैराग बुझिनसक्नु छ । वैराग नै चलेको भए हातमा कमण्डलु र त्रिशुल बोकेर जय भोले बाबा भन्दै मठमन्दिरको पेटीमा बसे हुन्छ । आम सर्वसाधारणहरू अस्पतालमा आफूलाई निको बनाउने जान्ने, बुझ्ने, दक्ष, योग्य डाक्टर छ भनेर मनभरि आशा, विश्वास र भरोसा लिएर आएका हुन्छन् । आज चिकित्सकहरूबाट उनीहरूको आशा, विश्वास र भरोसामा तुषारापात हुनु लाजमर्दो विषय हो । हुनेखाने, सुकिला मुकिलाहरूलाई निजी क्लिनिकका चिकित्सकले उपचार गर्छन् वा आर्थिक रूपमा सम्पन्न भए महँगा अस्पताल खोज्दै जान्छन् । तर, सरकारी अस्पतालमा अधिकांश ‘हुदा खाने’ हरू मात्र उपचारका लागि आउने गरेका छन् । तिनै हँुदा खाने र नहुँदा भोकै बस्ने वर्गका लागि असल चिकित्सकको रूपमा आफूलाई उभ्याउन चिकित्सकहरू चुक्दै आएका छन् । बिरामीका लागि सरकारी अस्पतालमा चिकित्सक नहुनु चिकित्सकको बेइमानी हो । बिरामीको उपचार नै गर्दैन भने चिकित्सकको ट्याग भिर्नु लज्जास्पद हो । यस्तो प्रवृत्ति मौलाउन दिनुमा सरकारको पनि कमजोरी होला । आफूले खटाएका चिकित्सक तोकिएको अस्पतालमा बस्दैन भने कारवाही गर्न नसक्नु सरकार लाचारीपन मात्र हो । संविधानमा नागरिकको स्वास्थ्यलाई मौलिक अधिकारमा राखिएको छ । चिकित्सकले आफू एउटा उपचारक भएको नाताले नागरिकको स्वास्थ्य उपचार गर्न पाउने मौलिक अधिकार हनन नहोस् भनेर पेशालाई मर्यादित बनाउन आफूबाटै सुधारको अभियान शुरु किन नगर्ने ?