जुन मुलुकको सरकारका लागि बलात्कारपछि हत्यासम्मका आङै जिरिङ्ग पार्ने घटना सामान्य दैनिकीभन्दा बढी केही होइनन् । जुन मुलुकमा अपराधकर्मीलाई राजनीतिकर्मीका रूपमा ससम्मान स्वागत गर्ने दल नै सत्तारुढ छ । जुन मुलुकमा जति निर्लज्जता पूर्वक ढाँट्न सक्यो, त्यति अब्बल कोटी नेता बन्न सकिन्छ । जहाँ अनन्त चुट्किला सुनाएरै अकर्मण्यताको पिनासले पाकिसकेको नाक हाँसी हाँसी जोगाउन पाइन्छ, त्यहाँ बुद्धिजीवीहरु बिनासित्ति कुन नैतिकता र सरमको अपेक्षा गरेर सरकारको आलोचना गर्छन् ? किन उनीहरू बेकारमा आफ्ना शिरका रौं झर्ने गरी प्रधानमन्त्रीलाई कटाक्ष गर्छन् ? तर बौद्धिकहरू प्रतिक्रियात्मक नहुने समाजको कल्पना गरौं । नागरिक समाज चुप लागेको देश कल्पना गरौं । कति भयावह लाग्छ † विगतमा धर्ममाथि अतिक्रमण गर्ने, धार्मिक आस्था राख्नेलाई ज्यादती गर्ने कम्युनिष्टहरू आज वाम नेताहज्ञमा देखिएको धर्म संस्कृतिप्रतिको मोह उनीहरूको अन्तस्करणको सुषुप्त आस्था हो भने हिजो किन तमाम नागरिकको त्यही विश्वासमाथि प्रहार गरिएको थियो ।
यदि यो आस्था नभएर जनआस्था भजाएर चुनावमा भोट पाउन गरिएको नाटक हो भने अब पटाक्षेप हुनुपर्छ, यसको । सचेत जनताले चिनिसकेका छन्, वामपन्थीको द्वैध चरित्र । यही द्वैध चरित्रका कारण आज हजारौं नेपालीको बलिदान खेर गैरहेको छ । आफूलाई सर्वहारा वर्गको प्रतिनिधि ठान्ने वामपन्थी जङ्गलबाट सिंहदरबार छिरेपछि आफूलाई साक्षात ‘सिंह’ र जनतालाई ‘मुसो’ ठान्न थालेका छन् । हिजो साम्राज्यवादका विरुद्ध लड्ने उद्घोष गर्दै सत्ता र शक्तिमा आएकाले नेपालभित्र स्वाभाविक जस्तै बनिसकेको वैदेशिक हस्तक्षेप रोक्न नसके पनि विदेशी संस्कृतिको अतिक्रमणमा परेका हाम्रा मौलिक संस्कृति जोगाउन लागि पर्नुपर्ने हो ।
तर, ‘राजसंस्कृति’ विरुद्ध जनसंस्कृतिको नाराका साथ लडेका उनीहरू सरकारमा आएपछि विगतको राजसंस्थालाई माथि गर्ने गरी टीकाटालो तथा आफ्नै छोराछोरीलाई पदक विभूषणले सुशोभित गर्न थाले । यो कुन वामपन्थी सिद्धान्त र आदर्शभित्र पर्छ ? जनवादी शिक्षाको सपना देखाउँदै स्कूले बालबालिकालाई हतियार बोकाएर स्थापित गणतन्त्रमा खै त त्यस्तो शिक्षा ? विपन्न वर्गका सम्पूर्ण बालबालिकाको शैक्षिक अधिकारको सुनिश्चितता खै ? वर्षौंदेखि ढुसी लागेको सैद्धान्तिक शिक्षालाई विस्थापित गरी व्यावहारिक शिक्षा लागू गरेको खै ? सामुदायिक शिक्षाको अवस्था दिनानुदिन खस्किरहेछ किन ? करोडौंको गाडी र आलिसान महलको महŒवाकाङ्क्षा राख्नु, अनि अथाह सम्पत्ति जम्मा गर्नु, मोजमस्ती, लोभलालच सहितको विलासी जीवन खोज्नु पूँजीवादी चरित्र होइन ? जब कि सम्पन्न राष्ट्रका प्रमुखहज्ञ साइकल चढ्न थालेका छन् ।
माक्र्सले परिकल्पना गरेको वर्ग, राज्य र कानूनविहीन स्वस्फुर्त शोषणमुक्त समाज हो । उनले राज्यलाई बुर्जुवाहरूले श्रमिक वर्गमाथि शोषण गर्ने संयन्त्र भनी व्याख्या गरेको पाइन्छ । उनले कल्पना गरेको समाज समतामा आधारित थियो । तर, माक्र्सवाद र कम्युनिज्म सिद्धान्तको राजनीति गर्दै सत्तामा पुगेकाहरूले आज राज्यलाई वर्गविभाजकका रूपमा प्रयोग गरेको पाइन्छ । सत्ता र शक्तिको आडमा आफ्नो स्वार्थसिद्धिका लागि अपराधीसमेत लुकाउन खोजेको देखिन्छ । के यो द्वैध चरित्र होइन ? त्यसैले जनमानसमा एउटा प्रश्न सल्बलाएको छ– के वामपन्थ सत्तामा नपुग्दासम्म जनतालाई आन्दोलित गर्न प्रयोग गर्ने हतियार मात्र हो ? आज वामपन्थीको क्रान्तिकारिता र सामाजिक रुपान्तरणको उद्घोष केवल नारामा मात्र सीमित छ । राजनीतिलाई व्यक्तिगत सम्पन्नता र शक्ति प्राप्तिको माध्यमका रूपमा प्रयोग गर्दै सम्भ्रान्त वर्गमा स्थापित हुने अनि जनतालाई दास र आफूलाई मालिक ठान्ने प्रवृत्ति अहिले वामवृत्तमा देखिएको छ ।
बुर्जुवाहरूले नाफामुखी कार्यलाई मात्र महŒव दिन्छन् र राज्यलाई आफ्नो स्वार्थ सिद्धिकै लागि प्रयोग गर्छन् भन्ने माक्र्सवादी सिद्धान्तको मर्यादा उल्लङ्घन नगर्ने हो भने दुई तिहाई बहुमतको वामपन्थी सरकारले राज्यलाई पक्कै कल्याणकारी राज्यमा रूपान्तरण गर्ने प्रयास गर्नुपर्ने हो । तर, खै त ? समृद्धिका सपना देखाएर थाक्दैनन् प्रधानमन्त्री तर हामी थाकिसक्यौं । किन कि, हामी समृद्धि चाहन्छौं, समृद्धिका सपना होइन । मुलुकलाई अन्धकारबाट मुक्त पार्ने एउटा कुलमान जस्तै, देशलाई भ्रष्टाचार र कमिसनको जालोबाट मुक्त पार्ने अनेकौं कुलमान जन्माउन सक्नुपर्छ, कल्याणकारी सरकारले । किन कि, भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन् । आदर्शलाई व्यवहारमा उतारिनुपर्छ, नारा र भाषणमा मात्र होइन ।
मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा केन्द्रमा देखिएको विशिष्टहरूको सुविधाको होडबाजी प्रादेशिक सरकारले पनि अनुशरण नगर्लान् भन्न सकिँदैन । जनताको पसिनाको कमाइ केवल विशिष्टहरूकै सुविधा र सुरक्षाकै लागि मात्र खर्चिनु सङ्घीय गणतान्त्रिक मुलुकको विशेषता हो ? यही प्रश्नको ओझेलमा परिरहेछ, समृद्धि र अग्रगमन । पूर्ण बहुमतको वामपन्थी सरकारले ल्याएका जनमुखी विकासका कार्यक्रम औंलामा गन्न सकिने पनि नहोलान् । उपलब्धि शून्य छ । आफूलाई भौतिकवादी ठान्ने वामपन्थी नेताहरूले नेपाली जनतासँग विगतमा गरेका वाचा पूरा गर्न चाहेकै हो भने सर्वप्रथम व्यक्तिगत रूपमा उनीहरूले प्रस्तुत गरिरहेको द्वैध चरित्रको अन्त्य गरिनुपर्छ । ‘म जनताको मालिक हुन होइन, सेवक हुन सत्तामा आएको हुँ’ भन्ने आदर्श मनन गरेर जनहितका कार्यक्रम ल्याइनुपर्छ । पूर्ण बहुमतको यो सरकार जनताको भाग्य बदल्न जस्तो सुकै निर्णय गर्न सक्षम छ ।
अहिले हाम्रो लोकतन्त्रको मुख्य समस्या भनेको राष्ट्रिय संस्थाहरूमा दलतन्त्रको ज्यादती नै हो । यसको चपेटामा परेर मुलुकका सबैजसो निकायहरू पदाघातले आक्रान्त छन् । गुण र क्षमतालाई भन्दा भृत्यतन्त्रलाई अँगालिएको छ । भद्दा राजनीतिकरण र भ्रष्टाचार जीवन दर्शन बनेको छ । विगत २७ वर्षयता यस्तो ज्यादतीको अगुवाइ नेपाली काङ्ग्रेसले ग¥यो र उसको पछिपछि वामपन्थी दलहरू पनि सहभागी भए । हामीले यो सत्यबाट शिक्षा लिन सकेनौं भने समाजवाद निर्माणको नारा संविधानको किताब र झुटो आश्वासनभन्दा बाहिर आउन सक्दैन ।
शरीर राजनीतिप्रति विरोध गरेर नथाक्ने नारीवादी वामनेतृहरु दिनदिनै महिला बालिकाप्रति यौन हिंसा हुँदा त्यसको विरोध गर्ने दायित्व केवल अधिकारकर्मीको हो भने झैं गरी मौन बस्ने र वामपन्थी नेताहरू भ्रष्टाचार र विलासितामा रमाउँदै जनआस्थामाथि झुटको राजनीतिमात्र गर्ने हो भने सचेत नेपालीले वामपन्थी राजनीतिको यस्तो द्वैध चरित्र सदाका लागि चिरफार नगरिदेलान भन्न सकिँदैन । यसैले वाम गठबन्धनले आफ्नो दलीय एकीकरणको यात्रासँगै सरकार र राज्य सञ्चालनको विषयमा अतीतका पाइलालाई पनि सिंहावलोकन गर्न अत्यावश्यक छ ।