सामान्यतया ज्येष्ठ नागरिक भन्नाले शारीरिक अवस्था तथा उमेरका दृष्टिले अन्य नागरिक भन्दा परिपक्व एवं पाको व्यक्ति भन्ने बुझिन्छ । स्थानीय ठेट भाषामा बुढाबुढी भनिन्छ भने अझ अलि सभ्य भाषामा वृद्ववृद्वा भनेर पनि ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्ने गरिन्छ । नेपालको प्रचलित कानून ज्येष्ठ नागरिक सम्बन्धी ऐन,२०६३ अनुसार ६० वर्षको उमेर पार गरिसकेका पुरुष तथा महिलाहरूलाई ज्येष्ठ नागरिक भनिन्छ । उक्त ऐनमा भएको प्रावधान अनुसार ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक अवस्था र क्षमता, ज्येष्ठ नागरिकको आयस्रोत, निजको पालनपोषणको अवस्था जस्ता आधारमा ज्येष्ठ नागरिकहरूलाई पनि दुई समूहमा समूहीकृत गरिएको पाइन्छ । जसअनुसार जीवन यापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको र भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवन यापन गर्नु परेका ज्येष्ठ नागरिकहरू ’असहाय ज्येष्ठ नागरिक’मा पर्दछन् भने शारीरिक वा मानसिक रूपले असक्षम रहेका ज्येष्ठ नागरिकहरू ‘अशक्त ज्येष्ठ नागरिक’मा पर्दछन् ।

कानूनतः पनि ज्येष्ठ नागरिकहरूले साठी वर्षसम्मको लामो समयावधि आफ्नो जीवनकालमा पार गरिसकेको हुनेहुँदा उनीहरूले आफ्नो जीवनकालमै धेरै भन्दा धेरै मानवीय तथा सामाजिक व्यवहार सम्बन्धी अनुभवहरू सँगालिसकेका हुन्छन् । जीवनकै उत्तरार्धतर्फ प्रवेश गरिसकेको हुनाले जीवनको शुरुदेखि ६० वर्षसम्मको लामो अवधिमा भोगेका अनुभवहरू, परिवार र समाजप्रति गरेको सकारात्मक योगदानहरू, व्यावहारिक तथा पारिवारिक जीविकाका सवालहरूमा गरेको नेतृत्व, आफ्ना सन्तानहरूको भविष्य निर्माणका सन्दर्भमा खेलेको भूमिका, सम्पति आर्जन र परिचालन, भोगचलन, सुख(दुःख, जीवनकालमा भएका धेरै उतारचढाव लगायतका विविध पक्षहरूमा सकारात्मक या नकारात्मक परिपक्वता हासिल गरिसकेको हुनाले यो समय भनेको उनीहरूका लागि आफ्नो सन्तानहरूको माया र स्नेह प्राप्त गर्दै विशेष गरेर सुखसयल र आरामको जिन्दगी व्यतित गर्नुपर्ने समय हो । ज्येष्ठ नागरिकहरूमध्ये कतिपय व्यक्तिहरू साठी वर्षको उमेर पार गरिसके पश्चात् पनि आफ्नो घरायसी एवं व्यावहारिक समस्या समाधान गर्नका लागि वृद्व शरीरका बावजुद पनि विभिन्न कार्यहरूमा सक्रिय रहिरहेका हुन्छन् भने कतिपय आरामको जिन्दगी व्यतित गरिरहेका हुन्छन् । सामान्यतया यो उमेरबाट मानिसहरू आफ्नो शारीरिक तथा व्यक्तिगत क्षमता र अवस्था अनुसार विभिन्न रोगले थलिएर बस्ने गर्दछन् भने कतिपय मानिसहरू भने स्वस्थ्य नै रही आआफ्नो रुचि, क्षमता, आवश्यकता र चाहना अनुसार साहित्य, कला, सङ्गीत, राजनीति, समाजसेवा जस्ता समाजका विविध पक्षहरूमा समेत क्रियाशील रही बसेका हुन्छन् ।

जिउँदो इतिहासका रूपमा रहेका ज्येष्ठ नागरिकहरूको यो अवस्था र उमेर भनेको कुनै पनि प्रकारको अभावरहित र सम्मानित हुने जीवन हो । यसप्रकारको जीवनयापन ज्येष्ठ नागरिकहरूको जीवनकै आवश्यकताको विषय पनि हो र यस्तो अवस्थामा परिवारका सदस्यहरू एवं अन्य उमेर समूहका व्यक्तिहरूले हरतरहले संरक्षण र सहयोग प्रदान गर्दै स्नेही व्यवहारका साथ राख्नुपर्दछ । नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकको हक भनी “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ“ भन्ने संवैधानिक प्रावधान समेत राखिसकिएको अवस्थामा ज्येष्ठ नागरिकहरूले आफ्नो मौलिक हक अधिकारको पूर्ण रूपमा उपभोग गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको विषय पनि हो ।

यसप्रकारको स्नेही व्यवहार ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराउनु अन्य असल नागरिहरूको कर्तव्य तथा दायित्वअन्तर्गत पनि पर्न आउँदछ । तर, नेपाली समाजमा ज्येष्ठ नागरिकहरू प्रतिको दृष्टिकोण, व्यवहार र उनीहरूको अधिकार सम्बन्धमा छिटफुट बाहेक खासै चासो राखिएको पाईंदैन । यो निश्चय पनि मानवीय व्यवहार होइन । सम्मानित अवस्थामा पुगिसकेका ज्येष्ठ नागरिकहरूको हेरचाह गर्नु, सुरक्षा र संरक्षण गर्नु, विशेष गरेर वृद्वावस्थामा पुगिसकेका ज्येष्ठ नागरिकहरूको तन र मन नदुखाई खुशीका साथ जीवन जिउने वातारण सृजना गरिदिनु सबै सचेत र असल नागरिकहरूको कर्तव्य नै हो ।

पछिल्ला दिनहरूमा नेपाली सामाजिक परिवेशलाई हेर्दा वृद्ववृद्वाहरूलाई आफ्नै छोराछोरीलगायतका सन्तान दरसन्तानहरूले समेत स्नेही व्यवहारका साथ हेरचाह गर्ने, सामाजिक सुरक्षासहित पालनपोषण गर्ने जस्ता कार्यहरूमा ह्रास आउन थालेको देखिन्छ । यतिसम्म कि आफ्ना बुबाआमालाई वृद्वाश्रममा राखेर, सडकमा बेहाल अवस्थामा छोडेर आफूहरू भने आलिसान महलमा बस्ने, विदेशतिरको घुमफिरमा रमाउने, आफ्नै जन्मदिने वुबाआमालाई पुरै बेवास्ता गरी उनीहरूको वृद्वमनलाई धुरुधुरु रुवाइदिने जस्ता अमानवीय व्यवहार पनि आफ्नै सन्तानहरूबाट हुन थालेको पाइन्छ ।

यो सन्तानहरूमा पलाएको हृदयविहीनताको पराकाष्ठा नै हो भन्नुमा अत्युक्ति नहोला । तर, सबै मानिसहरूको हृदय एउटै हुँदैन । अन्य असल हृदय भएका सन्तानहरूले भने आफ्ना बुवाआमाप्रति त्यो हदसम्मको व्यवहार गर्न हुँदैन र गरिरहेको पनि देखिँदैन । यस्ता असल हृदय भएका छोराछोरीहरूले हृदयविहीन छोराछोरीहरूलाई मानवताको गतिलो पाठ सिकाउनुपर्ने आवश्यकता समेत देखिन्छ । यसै सन्दर्भमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन,२०६३ ले ज्येष्ठ नागरिकहरूका लागि गरेका मुख्यमुख्य व्यवस्थाहरू, ज्येष्ठ नागरिकहरूलाई हेरचाह गरिनु पर्ने विषयहरू, उनीहरूका लागि अन्य प्रचलित कानूनी अधिकारहरू, व्यावहारिक पक्षहरूका बारेमा प्रश्नोत्तरकै शैलीमा देहाय बमोजिम प्रकाश पार्ने प्रयास गरिएको छ ।

(१) ज्येष्ठ नागरिक हेरचाह केन्द्र भन्नाले के बुझिन्छ ?
ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण वा हेरचाह गर्नको लागि स्थापना भएको घर आश्रय वा यस्तै प्रकारको संरचनालाई हेरचाह केन्द्र भनिन्छ ।

(२) ज्येष्ठ नागरिक दिवासेवा केन्द्र भन्नाले के बुझिन्छ?
ज्येष्ठ नागरिक दिवासेवा केन्द्र भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई दिउँसोको समयमा हेरचाह गर्नको लागि स्थापना तथा सञ्चालन भएको घर, आश्रय वा यस्तै प्रकारको संरचना भन्ने बुझाउँछ ।

(३) ज्येष्ठ नागरिक क्लब भन्नाले केलाई जनाउँछ ?
ज्येष्ठ नागरिकले आफ्नो हकहित र अधिकार संरक्षणको लागि प्रचलित कानून बमोजिम स्थापना भएको क्लबलाई ज्येष्ठ नागरिक क्लब भनी सम्झनुपर्दछ ।

(४) ज्येष्ठ नागरिकको परिचयपत्र कहाँबाट पाइन्छ ?
नेपाल सरकारको ज्येष्ठ नागरिक परिचयपत्र निज बसोबास गरेको गाँउपालिका वा नगरपालिकामार्फत उपलब्ध गराउँदछ ।

(५) संविधानले ज्येष्ठ नागरिकको के कस्तो हक अधिकार सुनिश्रुचित गरेको छ ?
नेपालको संविधानमा ज्येष्ठ नागरिकसम्बन्धी निम्न अधिकारको व्यवस्था गरिएको छ ।
– ज्येष्ठ नागरिक अरू सरह कानूनको दृष्टिमा समान हुन्छन् ।
– कानूनको समान संरक्षणबाट ज्येष्ठ नागरिकलाई बञ्चित गर्न मिल्दैन ।
– ज्येष्ठ नागरिकलाई सामान्य कानूनको प्रयोगमा कुनै पनि आधारमा भेदभाव गरिने छैन ।
– ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न सकिनेछ ।
– ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्राप्त गर्ने हक हुनेछ ।

(६) ज्येष्ठ नागरिको पालनपोषण तथा हेरचाह सम्बन्धमा को, कसको, कस्तो दायित्व हुन्छ ?
– ज्येष्ठ नागरिकलाई आफ्नो हैसियत तथा इज्जत आमत अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुन्छ ।
– ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले रोजेको परिवारको सदस्यले साथमा राखी पालनपोषण गर्नुपर्दछ ।
– ज्येष्ठ नगारिकको इच्छा विरुद्व परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन मिल्दैन ।
– ज्येष्ठ नागरिकको वा निजलाई पालनपोषण गर्ने परिवारको सदस्यको आर्थिक अवस्था कमजोर भएमा परिवारको अन्य सदस्यले पालनपोषण तथा हेरचाहको व्यवस्था गर्नुपर्दछ ।
– परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले ज्येष्ठ नागरिकको चलअचल सम्पति प्रयोग वा उपयोग गरेको अवस्था रहेछ भने निजले नै पालनपोषण वा हेरचाह गर्नुपर्दछ ।

(७) ज्येष्ठ नागरिको पालनपोषण वा हेरचाह नगरेमा कहाँ उजुर दिनु पर्छ ?
– पालनपोषण वा हेरचाह नगरेको अवस्थामा ज्येष्ठ नागरिकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाध्यक्षसमक्ष उजुरी दिन सक्नेछ ।

(८) ज्येष्ठ नागरिकले कस्तो सम्पति आफूखुशी गर्न पाउँछ ?
– प्रचलित कानूनबमोजिम अंशबण्डा गरिरहनु नपर्ने र आफ्नो अंशभागको चलअचल र सोबाट बढेबढाएको सम्पति ज्येष्ठ नागरिकले आफूखुशी गर्न पाउँछ ।

(९) ज्येष्ठ नागरिकलाई के कस्तो छुट र सुविधा दिने व्यवस्था रहेको छ ?
– सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, सास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु पर्दछ ।
– नेपाल सरकारले तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुईवटा सीट सुरक्षित राख्नुपर्ने र निजलाई यात्रु भाडादरमा कम्तिमा पचास प्रतिशत छुट दिइनेछ ।
– स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ ।
– नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको सङ्ख्यामा ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा पचास प्रतिशत छुट दिनुपर्नेछ ।
– खानेपानी, बिजुली, टेलीफोनलगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्नेछ ।
– नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ज्येष्ठ नागरिकलाई समय समयमा अन्य छुट र सुविधा दिनेछ ।

(१०) ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन वा सन्यासी बनाउन नहुने ।
– कसैले पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन हुँदैन ।
– ज्येष्ठ नागरिकलाई निजको इच्छा विपरीत सन्यासी, भिक्षु वा फकिर, गरीब, कष्टपूर्ण बनाउनु हुँदैन ।
– ज्येष्ठ नागरिकलाई निजको इच्छा विपरीत सन्यासी, भिक्षु वा फकिर बनाएकोमा बदर गराउन सकिन्छ ।

(११) ज्येष्ठ नागरिक विरुद्व गरिएका कसूरमा के कस्तो दण्ड सजाय हुन्छ ?
– हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पति लिने बदनियतले कुनै काम गरेमा निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।
– ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाएमा तीन महिनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
– ज्येष्ठ नागरिकलाई निजको इच्छा विपरित सन्यासी, भिक्षु वा फकिर बनाएमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
– प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले अशक्त ज्येष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक विरुद्व प्रचलित कानूनबमोजिम कसूर मानिने कुनै कार्य गरेमा निजलाई प्रचलित कानूनमा व्यवस्था भएको सजायमा पच्चीस प्रतिशत थप सजाय हुनेछ ।

(१२) ज्येष्ठ नागरिक संलग्न मुद्दामा के कस्तो प्राथमिकता र प्रतिनिधित्व हुन्छ ?
– ज्येष्ठ नागरिक मात्र पक्ष वा विपक्ष भएको मुद्दालाई अदालतले प्राथमिकता दिई कारबाही र किनारा गर्नुपर्ने हुन्छ ।
– कुनै असहाय वा अशक्त ज्येष्ठ नागरिक मात्र पक्ष वा विपक्षी भएको मुद्दाको सुनुवाई गर्दा अदालतले निजको प्रतिरक्षा गर्ने कानून व्यवसायी राखेर मात्र गर्नुपर्दछ ।
– कुनै ज्येष्ठ नागरिकले आफ्नो आर्थिक अवस्था कमजोर भएकोले मुद्दाको प्रतिरक्षा गर्न कानून व्यवसायी नियुक्त गर्न नसक्ने भनी अदालत समक्ष निवेदन दिएमा सम्बन्धित अदालतले निजको लागि वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराई दिनुपर्नेछ ।
– ज्येष्ठ नागरिकसँग सम्बन्धित जुनसुकै काममा पनि प्राथमिकता दिई सम्पादन गरिदिनु पर्नेछ ।

(१३) ज्येष्ठ नागरिकलाई लागेको कैद छुटको सम्बन्धमा के कस्तो व्यवस्था रहेको छ ?
– सरकारवादी भई चलेको मुद्दामा कैद सजाय पाई कैद भोगिरहेको ज्येष्ठ नागरिकलाई निजको उमेर र कसूरको अवस्था हेरी निम्नबमोजिमको कैद छुट दिन सकिनेछ ।
– पैंसठी वर्ष उमेर पूरा भई सत्तरी वर्ष ननाघेकालाई पच्चीस प्रतिशत सम्म ।
– सत्तरी वर्ष उमेर पूरा भई पचहत्तर वर्ष ननाघेकालाई पचास प्रतिशत सम्म ।
– पचहत्तर वर्ष उमेर पूरा भएकालाई पचहत्तर प्रतिशतसम्म ।
– कैद सजाय पाएको ज्येष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पुरा गरेको ज्येष्ठ नागरिकलाई अदालतले कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्नेछ ।

(१४) ज्येष्ठ नागरिक विरुद्वको अपराध र कसूर सम्बन्धमा मुद्दा हेर्ने निकाय कुन हो ?
– ज्येष्ठ नागरिक विरुद्वको कसूररअपराध सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई रहेको छ ।
– ज्येष्ठ नागरिक विरुद्वको कसूर र अपराध बारेको उजुरी र सूचना नजिकको प्रहरी कार्यालयमा दिनुपर्छ ।

(१५) पीडित ज्येष्ठ नागरिक स्वयंले मुद्दा दायर गर्नुपर्छ वा पर्दैन ?
– ज्येष्ठ नागरिक सम्बन्धी कसूरको मुद्दा नेपाल सरकारवादी भै चल्ने व्यवस्था भएकोले उजुरी दिएपछि नेपाल सरकारले नै अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्दछ । पीडित पक्ष आफैले दायर गर्नु पर्दैन, सूचना दिए पुग्छ ।

(१६) ज्येष्ठ नागरिकले निःशुल्क कानूनी सहायता प्राप्त गर्न क्छ, सक्दैन ?
– पीडित ज्येष्ठ नागरिकले निम्नानुसार निःशुल्क कानूनी सेवा प्राप्त गर्न सक्दछन् ।
– सम्बन्धित जिल्ला कानूनी सहायता समिति र सम्बन्धित अदालतमा सम्पर्क गरी वैतनिक कानून व्यवसायीबाट निःशुल्क कानूनी सहायता प्राप्त गर्न सकिन्छ ।(स्रोतःसर्वोच्च अदालत, न्यायमा पहुँच आयोग, काठमाडौं नेपाल )

ज्येष्ठ नागरिकका हकहित र अधिकार सम्बन्धी नेपालमा उल्लिखित मौजुदा संवैधानिक तथा कानूनी प्रावधानहरू रहे तापनि यसको व्यावहारिकता एवं कार्यान्वयनको पाटो भने निकै नै कमजोर रहेको पाइन्छ । तसर्थ, जेष्ठ नागरिकहरूलाई मानवताका आधारमा उल्लिखित कानूनहरूको पूर्ण कार्यान्वयन गरी गराई, उनीहरूको दिलखुस राखी, उनीहरूबाट जीवन जीउने कलाको अनुभव तथा तरिका र आशीर्वाद लिई हृदयशान्त पार्नु प्रत्येक छोराछोरी, सन्तानहरू तथा अन्य असल हृदय भएकाहरूको समेत कर्तव्य र दायित्व दुवै हुन्छ ।
(लेखक, उच्च अदालत विराटनगरका शाखा अधिकृत हुन्)