उद्योग बाणिज्य सङ्घ धनकुटालाई बचाउने कि मार्ने अब धनकुटाका उद्योगी, व्यावसायी र व्यापारीहरूको हातमा पुगेको छ । धनकुटा उद्योग बाणिज्य सङ्घलाई हामीले बचाउन सकेनौ र हाम्रो पालामा जोगाउन सकिएन भने पुर्खाहरूले सराप्ने र भावी पुस्ताले धिक्कार्ने अनि वर्तमान र इतिहासमा कलङ्क लाग्नेछ । साधारण सभा सम्पन्न भएर निर्वाचनको क्रममा पुगेपछि लोकतान्त्रिक प्रणालीलाई अस्विकार गर्दै नेकपा समर्थित केही व्यक्तिहरूले उद्योग बाणिज्य सङ्घ धनकुटाको कार्यालयमा तालाबन्दी गरी १८ औं दिन सम्म पनि यथावत राखी अनिर्णयको बन्दी बनाए पछि विघटनको सङ्घारमा पुगेको हो ।

चरम राजनैतिक हस्तक्षेपका कारण अहिले धनकुटा उद्योग बाणिज्य सङ्घ मृत्यु र जीवनको दोसाँधमा पुगेको हो । धनकुटा उद्योग बाणिज्य सङ्घ धनकुटाका उद्योगी व्यापारी र व्यवसायीहरूलाई चाहिने भएकाले धनकुटाका उद्योगी व्यवसायीहरूले अब बचाउन लाग्नुपर्छ । उद्योग बाणिज्य सङ्घ धनकुटा विघटन भयो वा खारेज तथा कोलाप्स भयो भने यहाँका राजनैतिक नेताहरूलाई केही फरक पर्दैन तर धनकुटाका उद्योग व्यवसायी र व्यापारीलाई ठूलो नोक्सान पुग्छ । संस्थालाई बचाउन र जोगाउन सकियो भने मात्र अहिले नेतृत्वमा नआए पनि अर्को पटक अवश्य आउन सकिन्छ । संस्था नरहे सधैंको लागि बाटो बन्द हुन्छ । हामी सबैले संस्था बचाउन लाग्नु आजको पहिलो आवश्यकता हो ।

धनकुटा उद्योग बाणिज्य सङ्घको निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसले विजयलाई आफ्नो प्रतिष्ठाको विषय बनाएपछि विघटनको संघारमा पुगेको हो । निर्वाचनको क्रममा हारको डर र जितको खुशीयालीको अनुमानको क्रममा १७ दिन अघिदेखि तालाबन्दी भएपछि धनकुटा उद्योग बाणिज्य सङ्घ आईसियू मा पुगेको छ । धनकुटाका व्यापारी, व्यवसायी र उद्योगीहरूलाई समेटेर २०२९ सालमा स्थापना भएको धनकुटा उद्योग बाणिज्य सङ्घको संस्थापक अध्यक्ष पहलमान प्रधान, त्यसपछि क्रमशः कुलबहादुर प्रधान, केदारभक्त श्रेष्ठ, कृष्णराज शाक्य, राजेन्द्रबहादुर प्रधान, विनोद प्रधान, नरेन्द्र कार्की, धर्मलाल श्रेष्ठ,लालचन्द्र गोङ्वा तामाङ र उमेश घिमिरे अध्यक्षमा चयन भई नेतृत्व गरिसक्नुभएको ऐतिहासिक तथा गौरवशाली निजी क्षेत्रको सशक्त संस्था हो । पुर्खाहरूले रगत र पसिना बगाएर स्थापना गरेको धनकुटा उद्योग बाणिज्य सङ्घलाई हामीले बचाउनै पर्छ ।

धनकुटामा विधि र विधान र कानून कार्यान्वयन गर्ने निकाय नै दुई तिहाईको छायामा परी मौन बसेपछि ताला लगाएको आधा महिना बितिसक्दा पनि सरकारी कार्यालय नै नखोल्नुले धनकुटामा विधि विधान र कानूनकै अन्त्य भएको छ । केही नेताहरूको गलत निर्णयका कारण विधि ,विधान र कानून विपरीत अनेकांै बखेडा झिक्दै निर्वाचनलाई रोक्दा संस्था नै मर्ने अवस्थामा पुगेको छ । नेताहरूले गतल निर्णय गर्दा कार्यकर्ताहरूले नेताको गल्तीलाई स्विकार नगरी खबरदारी गरी नेतृत्वलाई सुध्रिन दबाव दिनुपर्छ । नेतृत्व सुध्रिए पार्टी सुध्रिन्छ पार्टी सुध्रिए देश सुध्रिन्छ । नेतृत्वको गलत कार्यलाई पनि ठिक हो भनी समर्थन गरे नेतृत्वमा दम्भ बढ्छ र त्यसले पार्टी र अन्ततः देशलाई नै हानि पुग्छ ।

तालाबन्दी गरेपछि सम्बन्धित पक्ष र सरोकारवाला निकाय बिच पटक पटक वार्ता भई निर्वाचन तालिका प्रकाशित भैई निर्वाचन पैक्रिया अगाडि बढिरहेको र साधारणसभासमेत सम्पन्न भइसकेकाले नयाँ सदस्य बनाई मतदाता नामावलीमा थप गर्न नसकिने सम्बन्धित सरोकारवाला पक्षले अवगत गराउँदा पनि ताला लगाउने पक्षले ताला नखोलेको र कानून कार्यान्वयन गर्ने निकाय प्रमुख जिल्ला अधिकारीले समेत कानूनको कार्यान्वयन नर्गनुले समस्या बढ्दै गएको हो । सरकारी कार्यालयसहित तिनवटै कार्यालयका कर्चमारीहरू प्रत्येक दिन १० बजे आउने र ४ बजे कार्यालय परिसरमा नै बसी फर्कने गरेका छन् ।

मङ्सिर २३ गते धनकुटा उद्योग बाणिज्य सङ्घ साधारण सभा सम्पन्न भै मङ्सिर २३ गते नै मङ्सिर २८ गते मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशित भई निर्वाचन कार्यक्रम अगाडि बढिरहेको अवस्थामा धनकुटा उद्योग बाणिज्य सङ्घको निर्वाचनमा नयाँ सदस्य पुनः खुल्ला गर्नुपर्ने माग राख्दै नेकपा सर्मथित केही व्यक्तिहरूले नेपाल सरकारसँग सम्बन्धित प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्वारा सञ्चालित कोषको जिल्ला संयोजन तथा अनुगमन समितिको कार्यालय र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासङ्घ काठमाण्डौको समन्वयमा सञ्चाचित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको कार्यालयका साथ धनकुटा उद्योग वाणिज्य सङ्घको कार्यालयमा मङ्सिर २४ गते ताला बन्दी गरेका हुन् । धनकुटा उद्योग बाणिज्य सङ्घलाई बचाउने एक मात्र उपाय ताला खोली लोकतान्त्रिक पद्धतिबाट लोकतान्त्रिक निर्वाचन गरी लोकतान्त्रिक नेतृत्व चयन गर्नु हो ।

धनकुटा उद्योग बाणिज्य सङ्घले निर्वाचनका लागि विगतदेखि हालसम्म गरेको निर्णयहरू यहाँ प्रस्तुत छन् :
१) २०७६ श्रावण भएको धनकुटा उद्योग बाणिज्य सङ्घको बैठकले २०७६ मङ्सिर मसान्तमा साधारण सभा र निर्वाचन गर्ने र असोज मसान्तसम्ममा नयाँ सदस्यता वितरण र नवीकरण गर्ने निर्णय गरी खुल्ला गरिएको ।

२) धनकुटा उद्योग बाणिज्य सङ्घको भाद्र २६ गते बसेको बैठकले मङ्सिर २३ गते साधारण सभा र मङ्सिर २८ गते निर्वाचन गर्ने निर्णय गरेको ।

३) धनकुटा उद्योग बाणिज्य सङ्घले असोज ३० गतेसम्म नयाँ सदस्यता वितरण र सदस्यता नवीकरण गरेको ।

४) धनकुटा उद्योग बािणज्य सङ्घको कार्तिक २६ गतेको बैठकले निर्वाचन सम्पन्न गर्नका लागि धनकुटा उद्योग बाणिज्य सङ्घका सल्लाहकार समितिका संयोजक विकास प्रधानलाई आयुक्तमा राख्ने निर्णय गरेको र साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू निर्माण गरेको ।

५) धनकुटा उद्योग बाणिज्यको मङ्सिर पहिलो साता भएको बैठकले निर्वाचन आयुक्तसँग छलफल गरी निर्वाचन समितिको सदस्यमा पत्रकार महासङ्घका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे र अधिवक्ता दिनेश पौडेललाई आयुक्तले मनोनयन गरेको ।

६) धनकुटा उद्योग बाणिज्य सङ्घको मङ्सिर १६ गते बसेको बैठकले सदस्य तथा मतदाता १ हजार ४८ जना भएको निर्णय गरी निर्वाचन समितिलाई बुझाउने निर्णय गरेको ।

७) मङ्सिर १९ गते धनकुटा उद्योग बाणिज्यका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष तारा तितुङ,महासचिव रोशन श्रेष्ठ र कोषाध्यक्ष रोशेष श्रेष्ठ मतदाता नामावली प्रत्येक पन्ना पन्नामा हस्ताक्षर गरी प्रमाण गरी निर्वाचन आयुक्तलाई सबैको सामु बुझाएको ।

८) निर्वाचन समिति मङ्सिर २३ गते १० बजेनै निर्वाचन कार्यक्रम तालिका प्रकाशि गरेको ।

९) साधारण सभाको उद्घाटन कार्यक्रमसमेत मङ्सिर २३ गते सम्पन्न भएपछि धनकुटा उद्योग बाणिज्य सङ्घको साधारण सभामा सदस्यहरूले सदस्य नभएका साथीहरू साधारण सभाको नियम र धनकुटा उद्योग बाणिज्य सङ्घको विधान विपरीत जबरजस्ती प्रवेश गरी सदस्य खुल्ला गर्न सदस्य नभएका साथीहरूले माग गरेपछि राती ८ बजेसम्म छलफल गरी निर्वाचन कार्यक्रम द्दप्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले अब हुने निर्वाचनबाट निर्वाचित हुने नव निर्वाचित समितिले विधान अधिवेशन गरेर माग पूरा गर्ने भन्दै तत्कालीन अध्यक्ष उमेश घिमिरेले साधारण सभाका अन्त्यमा भएको घोषणा गरेका थिए ।
साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको, जिल्ला प्रशासन कार्यालयको परिपत्र पढेर सुनाइएको र निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको, धनकुटा उद्योग बाणिज्य सङ्घका सदस्यहरूलाई १ महिना अघि नै साधारण सभाको निमन्त्रणा पत्र पठाइएको पत्रमा नै साधारण सभा सम्पन्न भएपछि निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने पनि जानकारीसमेत गराइएको थियो ।

१०) निर्वाचन कार्यक्रम अगडि बढिरहेको अवस्थामा पराजयको डरले हतास मानसिकताका कारण नेकपाका केही साथीहरूले मङ्सिर २४ गते विहान ६ बजे नै विधिविधान र कानून विपरीत निर्वाचन रोक्न जबरजस्ती धनकुटा उद्योग बाणिज्य सङ्घलगायत त्यहाँ रहेको सरकारी कार्यालयमा ताला बन्दी गरेको । वार्ता छलफल पटक पटक भए पनि सहमति नभएर प्रमुख जिल्ला अधिकारीलेसमेत आफू अध्यक्ष रहेको कार्यालय र अन्य कार्यालय खोल्न नसकेको ।

११) निर्वाचन समितिले पनि पटक पटक निर्वाचन सम्बन्धी सूचना प्रकाशित गरी पछिल्लो पटक मङ्सिर २७ गते निर्वाचन समितिले सूचना प्रकाशित गरी मङ्सिर २८ गतेको मतदान स्थगित र अर्को सूचनाबाट निर्वाचन तालिका प्रकाशित गर्ने त्यसका लागि सबैलाई सहयोग गर्न अनुरोध गरेको । जित्नेले हारिदिनुपर्ने र हार्नेले विधिविधान मिचेर भए पनि जबरजस्ती जित्नै खोज्नुले धनकुटामा गलत संस्कार शुरु भएको छ ।

पटक पटक औपचारिक तथा अनौपचारिक ढङ्गबाट सरोकारवाला निकाय तथा कानून व्यवसायी,सम्बन्धित निकायहरूसँग छलफल तथा परामर्श गर्दा निर्वाचन तालिका प्रकाशित गरी निर्वाचन कार्यक्रम अगाडि बढिसकेको अवस्थामा अन्तिममा आएर मतदाता थप गर्न विधान,कानून र नियम विपरीत हुने अब निर्वाचन बाहेक अन्य विकल्प नरहेको सुझाव दिनु भएको । राजनैतिक हस्तक्षेपका कारण नेकपाका केही साथीहरूले लोकतन्त्रमा विधिविधान र कानूनलाई उपहास गर्दै लोकतान्त्रिक प्रणालीलाई अवरुद्ध गर्ने कार्य गरेकोले धनकुटामा विधिको शासनको अन्त्य भएको हो । विधिविधान र कानूनको कार्यान्वयन गर्दै आफ्नो घर धनकुटा उद्योग बाणिज्य सङ्घलाई बचाउन अब धनकुटाका सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरू अझ सक्रियताका साथ क्रियाशिल हुनुपर्छ । हाम्रो धनकुटा उद्योग बाणिज्य सङ्घ बचाउन हामी धनकुटेली उद्योगी,व्यापारी र व्यवसायीहरू नै अब उठौँ, जागौँ अनि सशक्त रूपमा अगाडि बढौँ । हाम्रो उद्योग बाणिज्य सङ्घ कसैले बचाउँदैन, हामी धनकुटेली उद्योगी, व्यवसायी र व्यापारीले नै बचाउनुपर्छ ।

[email protected]