सप्तकोशी नदीमा उच्च बाँध बनाएर विहारको बाढी नियन्त्रण गर्ने अनि पानीलाई सिंचाइमा प्रयोग गर्ने भारतको योजना नयाँ होइन । लामो समयदेखि भारत नेपालमा अग्लो बाँध बनाएर सप्तकोशीलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छ । भारतले बाँधका लागि नेपाली सत्तासीन नेताहरूलाई समेत सहमत गराएर लामो समयदेखि अध्ययनको काम गरिरहेको छ तर उच्च बाँधले नेपाललाई फाइदाभन्दा हानि नै धेरै गर्ने भन्दै स्थानीयस्तरबाट विरोधका स्वर उर्लिएपछि हालसम्म अध्ययनको काम पूरा हुन सकेको छैन । विश्वमै उच्च बाँधका कारण वातावरणीय र मानवीय खतरा बढेको भन्दै जलस्रोतविज्ञ र वातावरणविज्ञले विरोध जनाउँदै आएका छन् । विश्व बाँध आयोगले समेत उच्च बाँधको अवधारणा बेफाइदाजनक रहेको निष्कर्ष निकालिसकेको छ । गएको शताब्दीमा विश्वका ठूला बाँधका कारण धेरै क्षति भएका प्रतिवेदनहरू पटक –पटक सार्वजनिक भइसकेका छन् । यस्तो अवस्थामा सप्तकोशी नदीमा भारतले बनाउन खोजेको उच्च बाँधको औचित्य के हुन सक्छ ? नेपालपक्षले ध्यान दिनुपर्ने विषय हो ।
भारतको विशेषगरी विहारक्षेत्रमा उच्च बाँध चुनावी मुद्दा बन्ने गरेको छ । ‘विहारको दुःख’ भनिने सप्तकोशी नदीमा उच्च बाँध बाँधेर विहारको डुबान नियन्त्रण गर्ने भारतीय नेताहरूको लामो समयदेखिको योजना हो । तर उच्च बाँध बनेमा नेपालको निकै भू–भाग डुबानमा पर्ने निश्चित छ । विहारको डुबान नियन्त्रण गर्ने नाममा नेपाली भूमि डुबानमा पार्ने काम कुनै हालतमा सकारात्मक हुन सक्दैन । नेपालमा भइरहेको विरोधको अन्तर्य पनि यही नै हो । उच्च बाँधका लागि यसअघि पनि पटक–पटक अध्ययन भइसकेका छन् । ती अध्ययन प्रतिवेदनहरूले उच्च बाँध बनेमा नेपालका धनकुटा, उदयपुर, सङ्खुवासभादेखि सुनसरी, मोरङ, सप्तरीलगायतका १० जिल्लाका धेरै भू–भाग डुबान र कटानमा पर्नेछन् । त्यसले लाखौं नेपालीलाई विस्थापित गराउनेछ । उच्च बाँध बनेमा जमिन डुब्ने र मान्छे विस्थापित हुने त छँदैछ । त्यसको ठाउँमा सट्टा–भर्ना उपलब्ध गराउने भनिएको छ । तर विगतका उदाहरण हेर्दा त्यसलाई विश्वास गर्ने आधार कमजोर छ । भारतमै विस्थापनमा परेका धेरैले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । सप्तकोशी नदीमै भारतले कोशी ब्यारेज बनाएपछि हजारौं बिघा खेत गुमाएका सर्वसाधारणले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् । त्यसकारण विश्वास गर्ने आधार देखिँंदैन । अर्को कुरा, सट्टा–भर्नाभन्दा महŒवपूर्ण कुरा त उच्च बाँध बनेमा यो क्षेत्रका सयौं वर्षदेखिका संस्कृति मासिनेछन् । भौगोलिक असन्तुलन पनि बढ्नेछ । यो क्षेत्रका बहुमूल्य जडिबुटी, महŒवपूर्ण वन्यजन्तु, कीटपतङ्गहरू नाश हुनेछन् । त्यसको क्षतिपूर्ति कसले गर्न सक्छ ?
सप्तकोशी उच्च बाँध कुनै हालतमा नेपालको हितमा छैन । त्यसैले उच्च बाँधको विकल्प खोज्नु आवश्यक छ । नेपालको जलस्रोतको उपयोग गर्ने र सिंचाइलगायतको विकास गर्ने नै हो भने सप्तकोशी उच्च बाँध होइन, विभिन्न नदीहरूमा साना बाँध निर्माण गरेर त्यसैबाट बिजुली र सिंचाइको व्यवस्थापन गर्न सकिन्छ । उच्च बाँध निर्माण हुँदा सत्तासीन दल र तिनका नेतालाई तत्कालका लागि फाइदा होला, स्थानीयवासीलाई पनि रोजगारीका हिसाबले तत्कालन फाइदा होला तर देशका लागि दीर्घकालीन असर पर्ने निश्चित छ । त्यसैले उच्च बाँध निर्माण गर्ने कार्यलाई निरुत्साहित गरेर उच्च बाँधको विकल्प खोजिनु जरुरी छ । त्यसमा नै नेपाल र नेपालीको हित हुनेछ ।