मान्छेको ज्यान बचाउने पेशा अँगालेका चिकित्सकको धर्म मानवता हो । बिरामीको उपचार गरेर सेवा गर्नु चिकित्सकका लागि अहोभाग्य हो । आर्थिक अभावमा पिल्सिएका दुःखी, गरिब, असहाय रोगीहरूलाई निःशुल्क उपचार गरेर स्वस्थ बनाउने चिकित्सक त समाजमा ‘जीवित भगवान’ नै ठहरिन्छन् । आर्थिक लाभ नै लिएर भए पनि मान्छेको ज्यान बचाउँदा त चिकित्सक पनि खुशी हुन्छन् र बाँच्ने झन् खुशी । ज्यान बचाउने यस्तो अवसर अन्य पेशा वा व्यावसाय अँगाल्नेहरूले कमै पाउँछन् । त्यसैले त चिकित्सा पेशालाई मानव सभ्यतामा उच्च सम्मान मात्र दिइएको छैन, सेवामूलक पेशाको स्थान दिइएको छ ।
तर यी सबै सन्दर्भहरू अचेल आदर्शमात्र दरिन थालेका छन् । यसको ताजा उदाहरण सुगम जिल्ला मानिएको सुनसरीको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालको हालत हेरे पुग्छ । दैनिक सरदर २ सय बिरामी उपचारका लागि आउने जिल्ला अस्पतालमा चिकित्सक बस्दैनन् । इनरुवा अस्पतालमा छात्रवृत्ति करारमा नौ जना चिकित्सकहरू दैनिक हुनुपर्ने हो । ती चिकित्सकहरू अस्पताल उपस्थित नहँुदा सर्वसाधारण बिरामी सेवाग्राही निजी क्लिनिक धाउन बाध्य भएका छन् । उपचार गर्न आर्थिक अभाव हुने कतिपय सामान्य बिरामीहरू समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जान बाध्य भएका छन् । अस्पताल छ, चिकित्सकको दरबन्दी छ, छात्रवृत्ति करारका चिकित्सक पनि छन् । चिकित्सक र अस्पताल छ भनेर नै बिरामी पनि उपचारका लागि आउने गरेका छन् । तर चिकित्सक नै नभएपछि सेवाग्राहीको हालत के हुन्छ ? चिकित्सकले अलिकति मानवीयता पनि देखाउन सकेका छैनन् । चिकित्सा पेशा अरू कार्यालयमा बस्ने कर्मचारीले जस्तो झारा टार्ने पेशा अवश्य होइन । रोगको पहिचान गरी सही उपचारविधि अपनाएर कुनै बिरामीलाई स्वस्थ बनाउने पेशा हो । बिरामीको उपचार गर्ने भनेर चिकित्सा शास्त्र पढेर सरकारले तोकेको अस्पतालमा दरबन्दी वा काजमा खटेपछि बिरामी नहेरी अन्यत्र बस्ने, क्वार्टरमा बस्ने, लामो बिदा बस्ने चलन अपनाउनु चिकित्सकलाई पटक्कै सुहाउँदैन । बिरामी नहेर्ने हो भने पेशा परिवर्तन गर्नुप¥यो । होइन भने आफूलाई चिकित्सक भनेर चिनाउने तर बिरामी नहेर्ने प्रचलन कुन मुलुकमा होला ?
इनरुवामै उपचार गर्न सकिने बिरामी आएमा तिनलाई समेत अन्यत्र रिफर गर्नुले चिकितत्सकमा आएको वैराग बुझिनसक्नु छ । वैराग नै चलेको भए हातमा कमण्डलु र त्रिशूल बोकेर जय भोले बाबा भन्दै मठ–मन्दिरको पेटीमा बसे हुन्छ । आम सर्वसाधारण अस्पतालमा आफूलाई निको बनाउने जान्ने, बुझ्ने, दक्ष, योग्य डाक्टर छन् भनेर मनभरि आशा, विश्वास र भरोसा लिएर आएका हुन्छन् । आज चिकित्सकहरूबाट उनीहरूको आशा, विश्वास र भरोसामा तुषारापात हुनु लाजमर्दो विषय हो । हुनेखाने, सुकिला–मुकिलाहरूलाई निजी चिकित्सकले उपचार गर्छन् वा आर्थिकरूपमा सम्पन्न भए महँगा अस्पताल खोज्दै जान्छन् । तर सरकारी अस्पतालमा ‘हुँदा खाने’ हरू मात्र उपचारका लागि आउने गरेका छन् । तिनै हुँदा खाने र नहुँदा भोकै बस्ने वर्गका लागि असल चिकित्सकको रूपमा आफूलाई उभ्याउन चिकित्सकहरू चुक्दै छन् । बिरामीका लागि सरकारी अस्पतालमा चिकित्सक नहुनु चिकित्सकको बेइमानी हो । बिरामी उपचार नै गर्दैन भने चिकित्सकको ट्याग भिर्नु लज्जास्पद हो । यस्तो प्रवृत्ति मौलाउन दिनुमा सरकारको पनि कमजोरी हो । आफूले खटाएका चिकित्सक तोकिएको अस्पतालमा बस्दैन भने कारबाही गर्न नसक्नु सरकारको लाचारीपन मात्र हो । संविधानमा नागरिकको स्वास्थ्यलाई मौलिक अधिकारमा राखेको छ । आफू चिकित्सक भएको नाताले नागरिकको स्वास्थ्य उपचार गर्न पाउने मौलिक अधिकार हनन् नहोस् भनेर पेशालाई मर्यादित बनाउन आफूबाटै सुधारको अभियान शुरु किन नगर्ने ?