हालै सम्पन्न धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयरज्यूलाई हार्दिक बधाइ छ । तपाईं निस्पक्ष र निडर तथा आर्थिक प्रलोभनमा नपर्ने व्यक्ति हो । यी कुरा विगतमा तपाईंका केही कामहरूबाटै प्रमाणित भएका छन् ।

२००८ सालमा श्री ५ त्रिभुवनलाई “दिल्ली सम्झौता धोका हो” भनी कालो झण्डा देखाउने आँटी कार्यकर्ता धरानमा पुराना कम्युनिष्टहरू नै हुन् । धरान नगरपालिकाका पहिला मेयर स्व.केदारनाथ खनाल नै हुन् । त्यसपछिका सबै मेयर पञ्चायती शासन भए पनि कम्युनिष्टहरूबाटै भए । भनिन्छ, २००८ साल तिर काङ्ग्रेसहरू हिंड्ने बाटो खहरे खोला थियो अरे । महेन्द्र कलेज धरानको युनियनमा कहिलै काङ्ग्रेसले जितेन । म २०२१ सालमा महेन्द्र कलेज पढ्दा काङ्ग्रेसलाई “गोवर” कम्युनिष्टलाई “खरानी” र पञ्चायत समर्थकलाई मण्डले तथा “गुहु” पनि भन्ने गर्दथे ।

विगत २०७४ को चुनावमा १५ वटा वार्डमा कम्युनिष्टले जितेको र ५ ओटा वडामा मात्र काङ्ग्रेसले जितेको अवस्थामा हालैको उपनिर्वाचनमा ४, ५, ६, १५, १७ र २० वडामा मात्र कम्युनिष्टहरूले जिते । पहिले वर्तमान निर्वाचित मेयर ४८७३ मतले स्व.तारा सुब्बासँग हारेकामा हाल नेकपाका प्रकाश राईलाई २७९५ मत अन्तरले पछि पार्दै विजयी भए । यस्तो अवस्था धरानमा किन आयो ? यिनै विषयलाई म यहाँ छलफल गर्दै छु । यिनै विषयहरू नै वर्तमान मेयर श्री तिलक राईका अवसर र चुनौती दुवै हुन् । धरानमा कम्युनिष्ट हार्नुका मुख्य कारणहरूमा कर, ए.डी.बी.को पानी, सुकुम्बासी समस्या, महेन्द्र कलेजको जग्गा, दशैंको मेला, बसपार्क, धरानका जनताको असुरक्षित जीवन, दुव्र्यसनी समस्या, बाटो मर्मत नहुनु, भेटघाट र घरदैलो कार्यक्रममा कमी, पुराना कम्युनिष्टसँग छलफल र भेटघाट नहुनु आदि मुख्य कारण हुन् ।

१) खानेपानी : खानेपानी धरानको मुख्य समस्या हो । दैनिक १ करोड ५० लाख लिटर पानी १३ नं.वार्डको ट्याङ्कीमा झर्नुपर्नेमा त्यसो भएन । एडिबीले चतराबाट पानी ल्याएको भए स्थायी समाधान हुने थियो । जङ्गलको पानीको ल्याएकाले त्यो पानी प्रत्येक वर्ष घट्दै जाने हुन्छ । एडिबी पूर्ण रूपले असफल योजना हो । यिनै कुरालाई विगतमा ढाकछोप गरियो । अन्तिममा श्री तिलक राईले त्यसको विरोध गरेर ज्ञापन पत्र बुझाए । यो जनताको पक्षमा थियो । तर, इन्जिनियर दीपक श्रेष्ठ र एडिबीको दुवै तर्फको पैसा खाने साथीहरू श्री तिलक राईको छेउछाउमा छन् । ती व्यक्तिहरूलाई उनले चिन्न सक्नुपर्दछ । अब यो समस्या कसरी समाधान गर्ने भन्दा धरान खानेपानीका कर्मचारीहरूको वृत्तिको ग्यारेन्टी र उपदानको नियमानुसार व्यवस्था गरी कार्य सञ्चालन गर्नुपर्छ । वहाँहरूको भनाइ जब ग्यारेन्टी र उपदान दिनुपर्छ भन्ने हो । त्यो नभएकाले हामी बोर्ड अन्तर्गत बस्दैनौं भन्ने हो ।

२) सडक : धरानका सबै सडकहरूमा खाल्डै खाल्डा छन् । ती सडकहरू तुरुन्त मर्मत गर्नुपर्छ ।

३) टेम्पो : धरानमा चल्ने टेम्पो कति छन् ? तरहरा, चतरा, चक्रघट्टी र बाहिरबाट कति आउँछन् ? ती सबैको लगत राखी उचित मात्रामा दैनिक कर लिने गर्नुपर्छ । यो धरानका टेम्पोहरूको अन्तरविरोध हो ।

४) ट्राफिक नियम र दुव्र्यसनी समस्या : यो पनि धरानको एक ठूलो चुनौती हो । बजारमा ट्राफिक व्यवस्था राम्ररी कायम भएको पाइँदैन । यसले दुर्घटना बढाएको छ । दुव्र्यसनीहरू दिउँसो सुत्छन् र राति हिंड्दछन् । मानिसको घरमा ढुङ्गा हान्ने, गाडीको सिसा फुटाइ दिने, महिलाको गहना खोस्ने, मोबाइल र पैसा लुट्ने,गमला फुटाउने काम हुन्छन् । यो सबै नियन्त्रण गर्न नगरपालिका, प्रहरी र ट्राफिक प्रहरीले समन्वय गरी नियन्त्रण गर्ने काम गर्नुपर्छ ।

५) बी.पी.हस्पिटल : बी.पी.हस्पिटल धरानेका लागि वरदान हो । हजारौं मानिस आएर औषधी उपचार गर्दछन् । खानाको पैसा तिर्दछन् । सामान किन्दछन् । मोटर भाडा तिर्छन् । धेरै मानिसहरूको आवतजावत हुन्छ । यस कारण बी.पी.हस्पिटल वरदान सावित भएको छ । तर, यति हुँदा हुँदै पनि औषधी गर्न बाहिर जानुपर्ने बाध्यता देखिएको छ । अतः यसमा भएको भ्रष्टाचार,कमिशन, पार्टीगत राजनीतिको अन्त्यका साथै उपचारमा राम्रो व्यवस्था हुन जरुरी छ । यसो भएमा यो वरदान नै सावित हुनेछ ।

६) शैक्षिक गुणस्तर : सरकारी विद्यालयमा किन विद्यार्थी घटे ? गुणस्तर किन खस्कियो ? यी कुराको निदान गरी गुणस्तर वृद्धितर्फ ध्यान दिनुपर्छ । यसको समाधानमा विद्यालयमा निरीक्षणको व्यवस्था, शिक्षकहरूको अध्यापनमा भएको लापरवाहीलाई अन्त्य गर्न धरान उपमहानगरपालिकाबाट अधिकार प्राप्त निरीक्षण टोली गठन गरिनुपर्दछ ।

७) पर्यटन विकास र मठमन्दिर : धरानलाई चिनाउने अर्को उपाय पर्यटन हो । पञ्चकन्याको जङ्गललाई घेरेर चिडियाखाना बनाउने, प्राइवेट स्तरबाट विष्णुपादुका र भेडेटारलाई केवुलकारले जोड्न गुरुयोजना बनाउने, वराहक्षेत्र, चतरा, विष्णुपादुका पञ्चकन्या, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरको उठेको भेटीको रकम केही अंश मन्दिरको विकासमा लगाउनुपर्छ । बाटो घाटोको राम्रो व्यवस्था हुनुपर्छ ।

८) कर र धुरीकर : विगतमा लगाइएको कर र मालपोतको प्रमुख कारणबाट कम्युनिष्ट साथीहरू यसपालिको चुनावमा आलोचनाको केन्द्र बने र चुनाव समेत हार्न पुगे । टेम्पो ८०० बाट २००० वार्षिक, मोचीलाई दैनिक रु. ३५, मालपोत रु. ४२० बाट ८४० यस पालि रु.१०६५ भएको छ । यो एउटा सानो उदाहरणमात्र हो । यसलाई ठीकसँग समायोजन गर्नुपर्छ । समस्या यो पनि छ कि उपमहानगरपालिका बन्न यति कर उठाउनै पर्छ भन्ने नियम पनि रहेछ । वर्षको ६ करोड रकम उठेकोमा ४ करोड तलब भत्ता मात्रै जाँदो रहेछ । अस्थायी र ज्यालादारी कर्मचारी नियुक्ति भएका छन् । ती कति त अनावश्यक पनि छन् । यी सबैलाई विज्ञहरू समेत राखी ठीक तरिकाले समायोजन तथा कार्यान्वयन गर्नुपर्छ ।

९) सुकुम्बासी समस्या : यो धरानको विकराल समस्या हो । यसैका कारणबाट कम्युनिष्ट हारेको हो । यसको समाधान ठीकसँग हुन आवश्यक छ । यसको लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

क) वास्तविक सुकुम्बासी हो वा हैन ? सकुम्बासीका कति ओटा घर र घडेरी छन् ? अन्य कुनै ठाउँमा निजको नाममा जग्गा छ या छैन ? उसको पेशा के छ ? उसको रहनसहन जीवनस्तर कस्तो छ ? छोराछोरी कहाँ पढाएको छ ? आदि जाँचबुझ गर्नुपर्छ ।

ख) वास्तविक सुकुम्बासी हो भने उसले ओगटेको जग्गाको मूल्याङ्कन गरी १०% रकम धरान उपमहानगरपालिकामा दाखिल गर्न लगाई सो जग्गा नेपाल सरकारको स्वीकृति लिएर उसैको नाममा दर्ता गरी दिने र पाँच वर्षसम्म किनबेच गर्न नपाउने, भाडामा लगाउन नपाउने, नगरपालिकालाई जग्गा र धुरी कर वर्षेनी तिर्ने, विगतका घरहरूलाई पनि करको दायरामा ल्याउने, नक्सा पास गरेर मात्र घर बनाउन दिन थालनी गर्नुपर्छ । यस कार्यको लागि नेपाल सरकारको सहयोग लिएर, स्वीकृति लिएर कार्य सम्पादन गर्ने आवश्यक देखिन्छ ।

ग) धरान–१४ को निराजन बस्तीमा बसेकालाई पशुपति गुठी जस्तै गर्ने र धुरीकर लिने, घर निर्माण गर्दा नक्सा पास गर्नुपर्ने, जग्गा किनबेच गर्न पाउने व्यवस्था मिलाउनुपर्छ । यस कार्यको लागि गुठी संस्थानसँग स्वीकृति लिएर गर्न सकिन्छ । उपरोक्त समस्याहरूलाई अन्य तरिकाले पनि समाधान गर्न सकिन्छ । जङ्गलभित्र घर बनाएर बसेकालाई सट्टा भर्ना दिई जङ्गलको विकास गरेर पनि केही अंशमा समाधान गर्न सकिन्छ ।

१०) सर्दु जलाधार : सर्दु जलाधारका बासिन्दालाई कानेपोखरी तथा अन्य ठाउँमा सट्टा जग्गा दिइसकेकाले ती सबैलाई हटाई यदि कसैले उक्त क्षेत्रको जग्गा अर्काको नाममा किनबेच गरेको भए सो रद्द गर्न धरान उपमहानगरपालिकाले नेतृत्व लिनुपर्छ ।

११) बस पार्क : बस पार्क धरान–१९ मा नै लग्नुपर्छ । आवत जावतको लागि सिटि बसकोे व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।

१२) भानुचौकको व्यवस्था : टेम्पो, कार स्टेण्ड राख्ने व्यवस्था मिलाउनुकासाथै बसलाई यात्रु चढाउने ओराल्ने मात्र बनाउनुपर्छ । पहिलेको सपिङ कम्प्लेक्सलाई सपिङ कम्प्लेक्स नै बनाएर भाडामा लगाए त्यसले नगरपालिकालाई कार, टेम्पो र दोकानहरूको भाडा पनि आउँछ ।

१३) वृत्ति विकास :
धरानमा कल कारखाना छैनन् । सरकारी कार्यालय पनि छैनन् । रोजगारीका अवसरहरू छैनन् । त्यसैले धरानको सबै भन्दा ठूलो सरकारी संस्था भनेको धरान उपमहानगरपालिका नै हो । यसको उत्तरदायित्व रोजगारी पनि बढाउनु हो । अतः युवाहरूमा सीपमूलक तालिम, महिलाहरूमा सीपमूलक तालिम, ड्राइभिङ तालिम दिनुका साथै वरपरका क्षेत्रमा फलफूल तथा तरकारी खेतीलाई र कुटिर उद्योगलाई पनि प्रोत्साहन गर्नुपर्छ । लोकसेवाका विज्ञापनहरू सूचना, धरान उपमहानगरपालिकामा एक छुट्टै सूचनाबोर्ड राखी पढे लेखेका युवाहरूलाई सुविधा पुर्याउन सकिन्छ ।

१४) भ्यू टावर : चिण्डे डाँडाबाट सम्पूर्ण धरान र सप्तकोशी क्षेत्र देखिन्छ । अतः त्यहाँ भ्यूटावरहरू बनाउँदा पर्यटन विकास हुन्छ । त्यसको पनि गुरुयोजना बनाएर कार्य गर्न जरुरी छ । उपरोक्त कार्यहरू योजना बनाएर कार्य गरेमा थोरै समयमा नै गर्न सकिने किसिमका भएकाले अवसरका रूपमा रहेका छन् । यस्ता काम समयमै सम्पन्न गरेर देखाउन नयाँ निर्वाचित मेयर तिलक राईका लागि चुनौती र अवसर दुवै रहेका छन् ।