झापा बिर्तामोड–८ सखरबारीका गणेश कटवालको परिवारमा एकपछि अर्को व्रजपात परेको छ । छोरी सावित्रामाथि परेको शारीरिक पीडाले कटवाल परिवारमा १० वर्षदेखि वज्रपात त परेकै छ । अर्कोतिर १५ धुर जग्गा पनि जग्गाधनीले अर्को व्यक्तिलाई धितो पास गरिदिएको खबरले परिवार विस्थापित हुने खतरा बढेको छ । छोरीको पीडा टालिएकै छैन । अर्को पीडाले ती परिवार विक्षिप्त बनेका छन् । स्थानीय जग्गाधनी प्रेम पोखरेलले कटवाल परिवारलाई चार वर्षअघि अर्थात् २०७२ फागुन २५ गते अढाई लाख रुपैयाँ मूल्य कायम गरी लिखत गरिदिएका थिए । त्यो लिखतअनुरूप आर्थिक वर्ष २०७३÷०७४ सालभित्र पास गर्ने उल्लेख थियो । त्यसलाई बढाएर २०७४ चैत्र मसान्त पु¥याइयो । जग्गाधनी पोखरेललाई १ लाख ३० हजार रुपैयाँ बुझाइसकेका थिए कटवाल परिवारले । तर, पोखरेलले त्यही बीचमा अर्का स्थानीय भीमादेवी घिमिरेलाई एक तले पक्कीघरसहित ५ कठ्ठा र कटवाललाई दिएको १५ धुर जग्गासमेत धितो पास गरिदिए । जसका कारण कटवाल परिवार पीडाको दोहोरो चापमा परेका छन् ।
हो, कटवाल परिवारले लिखत गरेको कागजी सहमतिअनुसार २०७४ चैत्र मसान्तसम्म रकम बुझबुझारत गरेर आफ्नो नाममा ल्याउनुपर्ने हो । ऐन, नियम र कानूनलाई आधार मान्ने हो भने त्यो नै सर्वमान्य सिद्धान्त हो । तर, व्यवहारिक पक्षलाई नजर अन्दाज गर्न सकिदैन । अझै पनि पूर्वीय मान्यताहरू, संरचनाहरू भत्किसकेका छैनन् । नैतिक मूल्य मान्यताहरू तोडिइसकेका छैनन् । यही नैतिक मूल्य मान्यतामा हाम्रो समाजको संरचना बनेको छ । त्यसैको बलमा अडिएको छ । र, त पश्चिमा देशहरू पूर्वीय सभ्यताको खोजी तथा अनुसन्धान गर्न उद्यत छन् । व्यावहारिक रूपमा हेर्ने हो भने जग्गाधनी पोखरेलले कटवाल परिवारसँग केही समय अझै पर्खिन सक्ने स्थिति थियो । किन कि कट्वाल परिवारको पीडाको साक्षी जो थियो । व्यावहारिक पक्षलाई भुलेर पैसाको प्रलोभनमा जुन हर्कत गरियो, नैतिक मूल्यका आधारमा क्षम्य होइन । यता कटवाल परिवारले पनि बोलकबोल गरेको मिति घर्किदा पनि आफ्ना कुराहरू जग्गाधनीलाई नराख्नु चाहिँ भूल हो । व्यावहारिक धरातलबाट हेर्दा दुवैमा ससाना कमजोरीहरू छन् नै ।
भनिन्छ, कानूनका नौ सिङ हुन्छन् । अब कटवाल परिवारको हकमा कानूनको कुन सिङ चाहिँ सक्रिय होला, कानूनवेत्ता नै जानून् । तर, पीडितलाई न्याय दिने सर्वमान्य सामाजिक सिद्धान्त भने अहिल्यै भुल्नु हुँदैन । त्यो नेपाली समाज अर्थात् पूर्वीय सभ्यताको जग हो । त्यो जगलाई द्रव्यका नाममा भत्काउँदै जानु न्यायोचित हुँदै होइन । हाम्रो समाजमा मरेपछि अहिले पनि स्वर्ग र नर्क जाने कुराहरू हुन्छन् । के द्रव्यमा वशीभूत भएपछि नैतिकता गौण हुन्छ ? के समाज द्रव्योन्मुख हुँदै गएको हो ? स्वर्ग हाम्रो परिकल्पनाभन्दा बाहिरको कुरा हो ? यी आम प्रश्नहरूले कटवाल परिवारको पीडालाई केही मलजल गर्ला । तर, जग्गाधनी पोखरेल पनि त्यसबाट छुटकारा पाइहाल्ने स्थिति छैन । कानूनको अधीनमा रहेर पीडित परिवार तथा जग्गाधनीबीच सौहार्दपूर्ण वातावरणमा यस मुद्दालाई किनारा लगाउनुपर्छ । त्यसका लागि स्थानीय तह, प्रशासन, अदालत तथा प्रहरी र समाजले नै भूमिका खेल्नुपर्छ । त्यो नै अहिलेको उत्तम विकल्प हो ।