पछिल्लो समयमा वराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवा पीठका मठाधीश कृष्णबहादुर गिरी चर्चामा छन् । गिरीले आफूलाई वेदाचार्य, आयुर्वेदका आचार्य, विद्यावारिधि गरेको, अनन्तश्री, महायोगी सिद्धबाबा, ब्रम्हचारी जगद्गुरु भनेर चिनाउने गरेपनि ‘स्त्री शक्ति’ सँग सामना गर्न अहिले अदालतको फेरोमा घुमिरहेका छन् फनफनी । उनको लीला अपरम्पार छ । हुन त सन्त महन्त, योगी, जगद्गुरु नामपद पाएकाहरूमध्ये भारतमा धेरैजना यस्तै बलात्कार काण्ड, हत्याकाण्डमा संलग्न भएकैले कोही जेलको हावा खाइरहेका छन्, कोही आजीवन कारावासमा पठाइएका छन् । देशविदेशमा करोडौं अनुयायी भएका र अर्बौं रुपैयाँको खजाना लिएर धर्मको सिंहासनमा बसेका कथित सन्तहरू बलात्कारको अभियोगमा जेलको हावा खाइरहेका छन् । जस्तै भारतमा आशाराम बापु, राम रहिमलगायतका सन्तहरू धर्मको आडमा अनुयायीको बलात्कार गरेको अभियोगमा जेलमा छन् ।
यस्तै धार्मिक आडमा आतङ्क मच्चाउनका लागि गत वर्ष बालसन्त स्वामी श्रीनिवासाचार्यले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाटै खुलेको थियो । बाबाहरू धर्मको आडमा सन्तको भेषमा आफूलाई महाज्ञानी भनाउँछन् । तर, व्यवहार भने उल्टो गर्दै आएका छन् । आफूलाई ब्रम्हचारी बताउँछन् । ब्रम्हचारी हुनु भनेको शारीरिक एवं मानसिक हिंसा र यौन सम्पर्कबाट टाढिनु हो । तर, स्वस्थ व्यक्तिले विपरीत लिङ्गीप्रति देखाउने भावलाई कुनै पनि हालतमा लुकाउन सक्दैन । त्यो कतै न कतैबाट छचल्किएर निस्कन्छ । साधु सन्तले जस्तो सुकै उपाधि पाए पनि ऊ आखिर छाला, मासु, हाड, रगत, मुटु, कलेजो, फोक्सोलगायत अङ्गले बनेको मान्छे न हो । अर्को ग्रहबाट आएका एलियन त होइन । ती पनि बाबुको सम्बन्धबाट जन्मिएका साधारण प्राकृतिक मानव नै हुन् । बुद्धि विवेक, प्रतिभामा फरक हुन सक्छ तर ब्रम्हचारी सन्त भएकै आधारमा उनीहरूका शरीरमा रहेको यौन तŒवलाई निकालेर फाल्न भने आजसम्म कसैले सकेको सुनिएको छैन । कथित ब्रम्हचारी बाबा भएपछि उसका अघिपछि भक्तजनका रूपमा महिला पुरुष त हुने नै भए । भक्तजनहरू यसकारण ढुक्क हुन पुग्छन् कि ‘बाबा जी ब्रम्हचारी भएकाले यौनाशक्त हुँदैनन्’ । तर, वास्तविकता ठीक विपरीत हुन्छ । बाबाजीको पनि मनै त हो । आँखाले देखेपछि मनभित्र ‘कुछ कुछ होता है ...।’ यही कुछ कुछ होता है को लेवल बढ्दै गएपछि अनेक बहानाबाजी गरेर, भगवानको कृपा ठान्न लगाएर वा ईश्वरीय भाव पैदा भएको भ्रम फैलाएर, भगवानको इच्छा भएको बताएर ढोङ्गी बाबाहरू महिला, बालिकाहरूलाई आफ्नो यौनतृष्णाको शिकार बनाउने गरेका छन् । यसका अनुयायी वा भक्तहरूको अन्धश्रद्धाले काम गरेको हुन्छ । मनोविज्ञानिकहरूका अनुसार जब कुनै समस्या आइलाग्छ त्यसबेला सहाराको खाँचो पर्छ । सहाराका रूपमा सबैभन्दा पहिला मान्छेले भगवान सम्झन्छ ।
तर, भगवानले आएर सहयोग नगर्ने भएपछि भगवानको नजिक रहेका दाबी गर्ने साधु सन्त बाबाजी, महन्त, ज्योतिषको शरण लिने चलन छ । यो अन्धश्रद्धा सामाजिक विश्वास तन्त्रबाट उत्पन्न भएको हो । यस्ता अन्धश्रद्धाको सिकाइ बचपनदेखि नै शुरु हुन्छ । तर, जो व्यक्ति मनोवैज्ञानिक रूपमा मजबुत हुन्छ उसले आफ्नो समस्या आफै समाधान गर्न हरसम्भव प्रयास गर्छ । तर, जो व्यक्ति मानोवैज्ञानिक रूपमा कमजोर हुन्छ उसले आफ्नो समस्या आफै समाधान गर्ने एट्टिच्युट कायम राख्न सक्दैन । ऊ अर्काको आशा, भरोसा र विश्वासमा लिप्त हुन पुग्छ । र, यो समस्याको समाधान अब भगवानले मात्र गर्छ । त्यसका लागि गर्नुपर्ने विधिविधान, कर्मकाण्डलाई भगवान, प्रभू, अल्लाहका दूत मानिएका ब्रम्हचारी बाबाजी, जगद्गुरु, अनन्तश्री, महायोगी सिद्धबाबा, शङ्कराचार्य, महाराज जस्ता पण्डापुजारी, मठाधीश, मुल्ला, पादरीको शरणमा पुग्छन् । मानवीय कमजोरीलाई बुझेका ‘भगवानका दूत’ हरूले अनुयायीहरूलाई त्यसपछि आर्थिक, शारीरिक, यौनिक, सांस्कृतिक, धार्मिक, सामाजिक शोषण गर्न पुग्छन् । कतिपयले आफूहरू जुनसुकै सन्दर्भमा शोषित पीडित भए पनि भगवानको कृपा ठानेर चुपचाप बस्छन् । कुनै कुनै अनुयायीको जब दिमागको बत्ती बल्छ तब व्युँझदा सवथोक भगवानका दूतले लगिसकेको हुन्छ । यो विश्वास र आस्थासँग जोडिएको विषय भएकाले राज्य, अदालत, न्यायाधीश, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेताहरू पनि यस्तै बाबाजीको पछिपछि लाग्न बाध्य हुन्छन् । अन्धश्रद्धाबाट जोगिन र भाइरल हुनबाट रोक्न व्यक्तिले आफ्नो तार्किक विवेक प्रयोग गर्नु एकमात्र उपाय हो । सामाजिक धार्मिक मान्यता र परम्पराका आफ्नै मूल्यमान्यता छन् तिनका आडमा हुने गरेका यस्ता अमर्यादित क्रियाकलापबाट जोगिन सचेत भएर विवेक प्रयोग गर्नु नै उत्तम उपाय हो ।