प्रकृतिपूजक किरात जातिले मनाउने पर्व उँधौली शुरु भएको छ । विशेष गरेर चार किरातहरू राई लिम्बू, याख्खा, सुनुवारले यो पर्व विशेष चाडको रूपमा मनाउँदै आएका छन् । यी समुदायले आफ्नो मौलिक चाडको रूपमा मनाउनु सुखद पक्ष हो । खेतबारीमा बीउबिजन लगाएपछि उत्पादन भएको पहिलो चोखो अन्नबाली चढाउने न्वागी उत्सव नै उँधौली उत्सवको रूपमा लिने गरिन्छ । राईहरूले साकेन्वा र लिम्बूहरूले चासोकको रूपमा एउटा सामूहिक रूपमा उत्सव नै मनाउने गरेका छन् । विभिन्न जातजाति धर्म संस्कृति मान्ने नेपालीहरू आआफ्ना समुदायका यस्ता चाडपर्वले सांस्कृतिक रूपमा नेपालीलाई धनी बनाएको छ । आआफ्नो जातिको संस्कार, सांस्कृतिक उत्सवहरू मनाउनु सकारात्मक पक्ष हो ।
पछिल्लो समय लिम्बू जातिहरूले धरान, पथरी, तेह्रथुम, ताप्लेजुङलगायतका स्थानमा ३ दिन ५ दिनको उत्सव नै मनाउँदै आएका छन् । चासोक तङ्नाम उत्सव गरेर सांस्कृतिक पर्यटन प्रवद्र्धनसमेत गर्दैं आएका छन् । लिम्बूहरूले यसको शुरुवात धरानबाटै गरेका हुन् । यसको सिको गरेर पूर्वका विभिन्न स्थानमा चासोक तङ्नाम उत्सवहरू हुन थालेका छन् ।चासोक अवधिभर हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लोलगायत मौलिक गीतहरूको प्रस्तुति र जातीय खानाका परिकार राखेर बिक्री गर्ने गरिएकाले पर्यटकीय हिसाबले पनि सुन्दरता थपेको छ । यस्ता मौलिक चाडले सामाजिक, पारिवारिक, राजनीतिक, सांस्कृतिक, नैतिक जीवन पद्धतिबारे दिशानिर्देश समेत गरेको पाइन्छ । यस्तै राईहरूले विभिन्न स्थानमा साकेन्वा उत्सवहरू मनाउने गरेका छन् । साकेन्वा उत्सवले आफन्त नातागोता भेटघाट, छलफल, शुभकामना आदानप्रदान गर्ने शुभ अवसर मिलेको छ ।
विभिन्न जातजाति, भाषाभाषीको फूलबारीका नेपाल सांस्कृतिक रूपमा अन्य विकसित मुलुकहरू भन्दा अगाडि छौं । विविध जातिहरूका यस्ता मौलिक पर्वहरूलाई जीवित राख्न यस्ता उत्सवहरू महŒवपूर्ण हुन्छन् । भावी पुस्तालाई आफ्ना जातीय संस्कृति, भाषा, आदिका विषयमा जागरुक गराउँदै मौलिक संस्कृति र इतिहासलाई मासिन दिनु हुँदैन। भावी पुस्ताका लागि इतिहास खुल्ला किताब हो । मौलिक पर्वहरू जोगाई राख्न अब राज्यले पनि लगानी गर्नुपर्छ । चासोक, साकेन्वालगायत अन्य पर्व जातजातिका लागि मात्र सिमित पर्व हँुदै होइनन् । यस्ता पर्व अब साझा बनाइनुपर्दछ । यी उत्सवहरूलाई मनाउने क्रमलाई निरन्तरता दिन र मौलिकतालाई जोगाउन राज्यले लगानी गर्न कन्ज्युस्याईं गर्नु हुँदैन ।