उपनिर्वाचनको सरगर्मी भर्खरै सकिएको छ । यही उपनिर्वाचन ताका नै एउटा अभियान पनि नेपालमा प्रारम्भ भएको थियो । तर, कतिपय क्षेत्रमा चुनावका कारण निष्प्रभावी बनेको थियो, त्यो हो, हिंसाविरुद्धको १६ दिने अभियान । अभियान तीव्र वेगमा दौडिरहेको छ । तर, यही बेला हिंसाको डरलाग्दो एउटा घटना बाहिरिएको छ, त्यो के भने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको । त्यो घटना अहिले राष्ट्रिय मात्रै हैन, अन्तर्राष्ट्रिय क्षेत्रमै समाचारको विषय बनिरहेको छ । सनसनी खेज बनिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा उनी प्रहरी हिरासतमा छन् । भलै उनी बिरामी भएको बहानामा अस्पतालमा छन् । तर, घटना यही बेला आगोसरि फैलिएको छ ।
धार्मिक आडमा हुने यस्ता घृणित कार्यहरूको पर्दाफास बेला–बेला हुने गरेकै हो । यी गुरु भनाउँदाले २०६९ सालमा पनि यस्तै घृणित कार्यको प्रयास नगरेका होइनन् । त्यो घटना पनि समाचारका रूपमा बाहिर आएकै हो । शिविरको नाममा महिलाहरूलाई बोलाएर ‘यौन दुव्र्यवहार’ गरेको विषयले लामै चर्चा पाएको हो । तर, त्यो बेला उनी धर्मको आडमा बचे । अहिले पनि उनले यो घटना लुकाउनका लागि केही पत्रकारहरूलाई घुमाउरो तरिकाले रकम दिने प्रलोभन देखाएकै हुन् । तर, ती पत्रकारहरूले उनकै अनुयायी विरुद्ध प्रहरीमा उजुरी दिने हिम्मत देखाएका छन् । जसले उनको आलिसानको कुटीभित्र हुने हिंसा छताछुल्ल पोखिन थालेको छ । यो त भयो घटना बाहिर आएको कुरा, कति यस्ता घटना छन्, जुन घटना लुकाइएका छन् र पर्दाभित्र छन् । इटहरीका दुई किशोरीमाथिको बलात्कारको घटना बाहिर आउनै सकेन । त्यो पर्दाभित्रै छ । त्यो पनि कुनै दिन बाहिर आउने नै छ । यस्ता कैयन घटनाहरू समाजमा भइरहेका छन् । हिंसाविरुद्धको अभियान चलिरहेको समयमा आएका यस्ता घटनामा धार्मिक गुरु भनाउँदाहरू कुन शक्तिको आडमा बचिरहेका छन् । हिंसाविरुद्धको अभियान सडकमा ¥याली, अन्तरक्रिया गरेर मात्रै सम्भव छैन । जडदेखि नै उखेल्न जरुरी भइसकेको छ । मनदेखि नै त्यस्ता हिंसाहरूलाई उखेल्नु आवश्यक भइसकेको छ ।
हिंसा विरुद्धको अभियानकै समयमा भएका केही महत्वपूर्ण घटनालाई केलाउने हो भने समाजमा ¥याली र सचेतनामूलक अन्तरक्रियाले मात्रै नहुने रहेछ भन्ने छनक दिइसकेको छ । त्यसैले जरादेखि नै उखेल्नका लागि सरकारदेखि व्यक्ति व्यक्ति लाग्नु जरुरी छ । कार्यक्रममा सीमित बन्नु चाहिँ देखाउने दाँत मात्रै हो । यस्तो बेलामा देखाउने मात्रै हैन, कार्यान्वयन गर्ने चरणमा जानु चाहिँ उत्तम विकल्प हो । हिंसा सहेर बस्नु पनि अर्को हिंसाको रूप हो । त्यसलाई निर्मूल पार्नका लागि समयमै कानूनको ढोका ढकढक्याउनु पर्छ । ताकि त्यस्ता नरभक्षीहरूले अवसर नपाऊन् । कतिपय हिंसाहरू हाम्रै कमजोरीका कारणले भइरहेका छन् । त्यसैले कमजोरीलाई लुकाउनुको सट्टा बाहिर ल्याउनु चाहिँ महानता हो । डराएर हैन, डटेर सामाना गर्नु चाहिँ अहिलेको शून्य हिंसाको प्रतिरूप हो । त्यसका लागि सरकारले पनि हिंसामा परेका पीडितहरूलाई उचित संरक्षण गर्दै नरपिसाचहरूलाई कानूनी कठघरामा उभ्याउँदा शक्ति हैन, अपराधीको मानसिकताबाट उभ्याउन जरुरी छ । अपराधी जतिसुकै शक्तिशाली किन नहोऊन्, उनीहरू नेपालको संविधान र कानूनभन्दा माथि हुँदैनन् भन्ने कुरा सरकारका सम्बन्धित कानूनी निकायहरूले पनि भुल्नु हुँदैन । कानूनको पालना नै शून्य हिंसाको प्रतिबिम्ब हो ।