बिर्तामोड/गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट विकास लिम्बूलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।

सोही नगरपालिका वडानम्बर १ मा स्थायी घर भएका लिम्बूलाई अर्जुनधारा नगरपालिकाले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएको थियो । नगरपालिकाले लिम्बूलाई भोट गरेर विजयी बनाउन आग्रहसमेत गरेको छ ।

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बूले अर्जुनधाराको शनिश्चरे बजार र खुदुनाबारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसँगै साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विकास लिम्बू जिताऔं अभियानको आयोजनामा भएको साङ्गीतिक कार्यक्रममा लिम्बूले तीनवटा गीत प्रस्तुत गरेका थिए । विकासलाई भ्वाइस अफ नेपालको विजेता बनाउन अभियान सञ्चालन गरेको संयोजक विजय सेन्दाङले बताए । उनले लिम्बूलाई जिताउन भोट गर्नसमेत नगरवासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र सांस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशीला सुवेदी, सदस्य–सचिव तिवेन्द्र अधिकारी, वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देनलगायतले बोल्दै लिम्बूलाई भोट दिन आग्रह गरेका थिए । भ्वाइस अफ नेपालले उनलाई गृहनगर परिक्रमा गराउने अभियानअनुसार झापा ल्याइएको हो ।

bikas