धरान/ अनेकतामा एकताको झझल्को प्रस्तुत गर्ने सोचका साथ एक कार्यक्रमबीच हिपमत मिडिया हाउस प्रा.लि.को शुभारम्भ गरिएको छ ।

मिडियाले आफ्नो शुभारम्भ फरक किसिमले गरी समाजमा नयाँ सन्देश दिन प्रयास गरेको छ । अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ठ अतिथि नै नराखी सबैलाई समान रूपमा सम्मानित गरी हिपमत मिडिया हाउसद्वारा सञ्चालित हिपमत डटकम अनलाईन पत्रिका, हिपमत अनलाईन टेलिभिजनको शुभारम्भ गरेको छ । हिपमत मिडिया हाउसले अनलाईन पत्रिका तथा अनलाइन टेलिभिजन मार्फत समाचार, विभिन्न भाषा, भाषिका लेख रचना तथा कार्यक्रमहरू निर्माण गरी प्रकाशन एवं प्रसारण गर्नेछ ।

कार्यक्रममा समाजसेवी देवकिशन मून्दडाले अनेकतामा एकताको सन्देश तथा विविधतामा बहुलताको भेष समेट्दै हिपमत पथमा हिंड्ने सबैमा शुभकामना एवं बधाई दिए । समाजसेवी मुन्दडा हिमपत मिडियाका संरक्षक हुन् । वीरेन्द्र साहले सञ्चालनमा ल्याएको हिमपतको समाजका विविभन्न प्रतिष्ठित व्यक्तिहरूले बिरुवामा पानी हालेर औपचारिक उद्घाटन गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले मिडिया हाउसको प्रगतिको कामना गर्दै सस्तो लोकप्रियताको लागि आधारहीन समाचार प्रकाशन प्रशारण नगर्न तथा प्रत्रकारिता धर्मको पालना गर्न आग्रह गरे ।

नेपाली काङ्ग्रेसका नेता यदुकुमार विष्टले छिटो छरितो सूचना प्रवाह गर्न उपयुक्त माध्यमको रूपमा रहेको अनलाईन मिडियाको निकै महŒव बढेको बताउँदै मिडिया हाउसलाई शुभकामना दिए । त्यस्तै नेकपा नेता मृत्युञ्जय झा तथा विवेकशील साझाका नेता अमलेश कर्ण पनि प्रगतिको शुभकामना दिए । कार्यक्रममा गायक रामा मण्डल, सुमित खडका, सिताराम पोखरेल, वीरेन्द्र झाले शुभकामना दिँदै यस मिडियाले सांस्कृतिक माध्यमबाट समाजलाई एकताको सूत्रमा बाँध्न गरेको प्रयासको प्रशंसा गरे ।

कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेलले यस मिडिया हाउसको नाम र कार्यक्रम गर्ने शैली नै फरक तथा आकर्षक रहेको र अनेकतामा एकताको झझल्को हिपमतबाट नै प्रस्तुत भएको भन्दै प्रशंसा गरे । हिपमत मिडियाका प्रधान सम्पादक प्रकाश प्रेमीले मिडिया हाउसको विषयमा बोल्दै कसै प्रति आग्रह पूर्वाग्रह नराख्ने, तटस्थ रही सत्य तथ्य समाचार सम्प्रेषण गर्ने तथा पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण नेपाली अनुहार यस मिडियामा हेर्न सकिने बताए ।

अध्यक्ष तथा प्रकाशक वीरेन्द्रकुमार साहले हिपमत मिडिया हाउसको अवधारणा सम्बन्धी जानकारी गराउँदै विभिन्न जातजाती भाषाभाषीहरूको कार्यक्रम निर्माण गरेर प्रकाशन प्रशारण गर्ने तथा बेथितिको खबरदारीसँगै प्रतिभाको उजागर एवम् सामाजिक काममा समेत सक्रिय सहभागिता रहने बताए । कार्यम्रममा राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भिखमचन्द सरल, साहित्यकार सरिता तुलाधर, कलाकार अञ्जना कट्टेल, निरज ब्लायक, पत्रकार वरुण मिश्र, नवीन कर्ण, सुशीला पाठक, श्याम सुन्दर सुतिहारलगायतको उपस्थिति रहेको थियो ।